घरेलु उपकरण विशेष

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

  नागरिक   2020-05-05

कम मिहिनेत मै उच्चस्तरको सफाईका लागि भ्याक्युम क्लिनरको प्रयोग गरिन्छ । कार्पेट भित्र बसेको धुलो र फोहोर होस् या अन्य कुनै स्थानमा रहेको फोहर, भ्याक्युम क्लिनरले सजिलैसँग तपाईंलाई घर सफा गर्न सहयोग पुर्याउने गर्छ । आजभोलि भ्याक्युम क्लिनर हरेक घरको निकै महत्वपूर्ण उपकरण पनि बनेको छ ।

भ्याक्युम क्लिनरका प्रकारहरू

१. अपराइट (  ठाडो ) भ्याक्युम क्लिनर

अपराइट अर्थात् ठाडो भ्याक्युम क्लिनरमा फोहर जम्मा गरेर राख्ने छुट्टिएको बक्सा हुँदैन । यसमा भ्याक्युम क्लिनरले सिधा फोहरलाई माथि पट्टि रहेको थैलामा जम्मा गर्छ ।  यस्ता भ्याक्युम क्लिनरहरू अन्य भ्याक्युम क्लिनरभन्दा सस्ता हुन्छन् र कार्पेट सफाईका लागि उचित हुन्छन् । यस्ता भ्याक्युम भण्डारणका लागि सहज हुन्छन् किन कि यिनीहरू आफैमा ठाडो हुन सक्छन् ।

तर यस भ्याक्युमको तौल अन्य भ्याक्युमकोभन्दा धेरै हुन्छ । लगभग १० किलोग्राम तौल भएको भ्याक्युम क्लिनरलाई लतार्दै घरको कोठा कोठा हिड्नु पनि अफ्ट्यारो काम अन्तर्गत नै पर्छ । अपराइट भ्याक्युमहरूको जति नै बढी तौल हुन्छ, यिनीहरू त्यति नै सफाईको काममा बढी राम्रा हुन्छन् । यस लगायत, अपराइट भ्याक्युम क्लिनरले  अन्य भ्याक्युम क्लिनरले भन्दा धेरै आवाज निकाल्ने गर्छन् ।

नेपाली बजार मूल्य : ७ हजार वा सोभन्दा माथि

२. क्यान भएको भ्याक्युम क्लिनर

क्यान भएको भ्याक्युम अलिक महँगो भएता पनि निकै प्रचलित भ्याक्युम क्लिनरको प्रकार हो । यस्ता भ्याक्युम क्लिनरलाई जस्तो सुकै अवस्था र स्थानमा पनि प्रयोग गर्न मिल्ने भएका नै यिनीहरू निकै प्रचलित भएका हुन् । यस्ता भ्याक्युम क्लिनरमा फोहर जम्मा हुने थैलो र मुख्य फोहर तान्ने सकरलाई छुट्टै राखिएको हुन्छ जसले गर्दा यस्तो भ्याक्युम क्लिनरबाट ठूला स्थानको सफाई गर्नु निकै सजिलो हुन्छ ।  यस्ता भ्याक्युम क्लिनरहरू अन्य भ्याक्युम क्लिनरभन्दा निकै शान्त पनि हुन्छन् । साँघुरो कुनाहरूमा यस्ता भ्याक्युम क्लिनर लगाएर सफाई गर्न पनि अन्य भ्याक्युम क्लिनरले भन्दा सहज हुन्छ ।

तर यस्ता भ्याक्युम क्लिनरहरू अपराइट भ्याक्युम क्लिनरभन्दा ठूलो हुन्छन् र भण्डारणका समयमा झन्झटिलो हुन्छन् ।

नेपाली बजार मूल्य: सस्तोमा ५ हजार देखि ठूलो साइज भएकोलाई २५ हजारसम्म

३. साना भ्याक्युम क्लिनर

 

यिनीहरू साना कार्पेट, सानो स्थान वा सिरक डसनाको फोहर निकाल्नका लागि प्रयोग गरिन्छ । यस्ता भ्याक्युम क्लिनर साना हुन्छन् र यसमा अन्य भ्याक्युम क्लिनरमा जस्तो धेरै सफाई गर्ने क्षमता हुँदैन । यहि सानो साइज कै कारणले गर्दा पनि यस्ता भ्याक्युम क्लिनरलाई गाडी वा कारको भित्री भाग ( इन्टेरियर ) सफा गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

नेपाली बजार मूल्य: कार भ्याक्युम क्लिनर - नेरु २ हजार वा सोभन्दा माथि

४. स्टीक भ्याक्युम क्लिनर

साना हाते भ्याक्युम र अपराइट भ्याक्युमको हाइब्रिड प्रकारको भ्याक्युम क्लिनर हो स्टीक भ्याक्युम क्लिनर । यस्ता भ्याक्युम क्लिनरको तौल अपराइट र क्यान भएको भ्याक्युम क्लिनरको भन्दा  निकै कम हुन्छ - लह्भाग ४ केजी मात्र । यस्ता मोडलहरू धेरै जस्तो ब्याट्रीमा चल्ने गर्छन त्यसैले पनि यात्राको समयमा चार्ज गर्नका लागि वा विद्युतको तत्काल पहुँचबाट टाढा भएको स्थानको लागि यस्तो भ्याक्युम क्लिनर उचित हुन्छ । तर आकार र बनोट हेरेर यिनीहरू अन्य भ्याक्युम क्लिनरभन्दा महँगो हुन्छ ।

नेपाली बजार मूल्य: ब्याट्री नलाग्नेलाई नेरु ५ हजार वा सोभन्दा माथि


के के अन्य फिचरहरू हेर्ने ?

१. ब्याग भएको कि नभएको ?

अपराइट वा क्यान भएको भ्याक्युम क्लिनर खरिद गर्दा उपभोक्ताले दुई मध्ये एक विकल्प चयन गर्नु पर्ने हुन्छ - झोलाको प्रयोग गर्ने कि बिनको । झोलाको प्रयोग हुने भ्याक्युम क्लिनरले तानेर जम्मा गरेको फोहरलाई एउटा झोलामा जम्मा गरेर राख्छ भने बिन भएको मोडलले उक्त फोहरलाई एउटा बिनमा जम्मा गरेर राख्छ । ब्याग भएको मोडलमा भने बारम्बार ब्याग / झोलालाई फेरिरहनु पर्ने हुन्छ ।

२. ब्याट्रीबाट चल्ने कि सिधा विद्युतमा जोड्नु पर्ने ?

कुनै भ्याक्युम ब्याट्रीबाट चल्छन् भने कुनै सिधा विद्युतबाट । घरको सफाईमा प्रयोग गर्नका लागि सिधा विद्युतमा जडान गरेर प्रयोगमा आउने भ्याक्युम क्लिनर खरिद गर्नु उचित हुन्छ - यिनीहरू तुलनात्मक रूपले सस्त हुन्छन् र ब्याट्री बिग्रने डर पनि हुँदैन । गाडीको सफाई, सोफा, लुगा आदिबाट धुलो निकाल्नका लागि मात्र प्रयोग गर्नका लागि भने ब्याट्री भएको सानो भ्याक्युम क्लिनर खरिद गर्नु उचित हुन्छ ।

३. हेपा फिल्टर भएको ?

हेपा फिल्टर भएको भ्याक्युमले हावामा भएको हानिकारक किटाणु र साना जीवाणुहरूलाई हटाउने काम गर्छ । हेपा फिल्टरले ९९.९७ प्रतिशतसम्म किटाणुको फिल्टर गर्ने भएकाले भ्याक्युम खरिद गर्दा सधैं हेपा फिल्टर भएको खरिद गर्नु उचित हुन्छ ।

 

यसमा तपाईको मत