घरेलु उपकरण विशेष

कस्तो माइक्रोवेभ किन्ने ?

  नागरिक   2018-12-12

मोर्डन भान्साघरको निकै आवश्यक उपकरण बनेको छ माइक्रोवेभ | प्रयोग गर्न सहज र समयको पनि बचत गर्ने भएकाले नै यस  उपकरणको प्रयोग निकै बढ्दै गएको छ | तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् :


माइक्रोवेभका  प्रकार :


काउन्टरटप

सजिलै इन्स्टल गर्न मिल्ने र खरिद गर्न पनि केही हदसम्म सहज हुने भएकाले यो माइक्रोवेभ निकै प्रचलित छ |  यस्ता माइक्रोवेभलाई सजिलै विद्युतमा जोड्न र प्रयोग गर्न मिल्छ | यो माइक्रोवेभलाई भान्साको धेरै काउन्टर स्पेस आवश्यक पर्छ | मूल्यको आधारमा यिनीहरु सबैभन्दा सस्ता माइक्रोवेभ हुन् |

क्षमता :

१४ देखि २२ लिटर - मध्यम आकारका लागि

२२ लिटर देखि ४२ लिटर - ठूलो आकारका लागि

ऊर्जा खपत :

८०० देखि १२०० वाट -  मध्यम आकारका लागि

१००० देखि १२५० वाट - ठूलो आकारका लागि


ओभर-द-रेन्ज

भान्सा कोठाको प्रयोग गर्न मिल्ने स्थान - काउन्टर स्पेस बचत गरेर पनि इन्स्टल गर्न मिल्ने यस्तो  प्रकारको माइक्रोवेभ काउन्टर टपको तुलनामा अलिक महँगो हुनेगर्दछ भने इन्स्टल गर्न पनि त्यति सहज छैन | यस्ता माइक्रोवेभ इन्स्टल गर्न प्राविधिक विशेषज्ञको आवश्यकता पर्छ |

क्षमता :२० लिटरदेखि ४० लिटरसम्म

ऊर्जा खपत :८५० देखि १२०० वाट

 

ड्रअर

ड्रअर अर्थात् भान्साको काउन्टरमा निर्माण गरिने माइक्रोवेभ प्रयोगमा निकै सहज तर इन्स्टल गर्नमा निकै झन्झटिला हुने गर्छन् | यिनीहरुलाई काउन्टरमा मात्र नभएर भित्तामा पनि इन्स्टल गर्न मिल्छ | मूल्यको हिसाबमा सबैभन्दा महँगो पर्ने यो माइक्रोवेभ मोर्डन घरका लागि निकै उपयुक्त हुन्छ |

क्षमता : २५ देखि ३० लिटरसम्म

ऊर्जा खपत : ७०० देखि ११०० वाट

 

माइक्रोवेभमा हुने विशेषता :


पूर्व निर्धारित पकाउने समय : यस फिचरबाट तपाईंले कुनैकुनै खानेकुरालाई कति समयसम्म पकाउने भनेर सोचिरहनु पर्दैन | माइक्रोवेभमा पहिलेबाट नै निर्धारण गरिएका समय र तपाईंले चयन गरेको विकल्पमा आधारमा माइक्रोवेभ आफैंले सजिलैसँग खानेकुरा बनाइदिन्छ | तपाईंले खानेकुरा राखेर आवश्यक पर्ने बटन थिचेपछि  माइक्रोवेभले पकाउन सुरु गर्छ र ठीक समयपछि बन्द पनि हुन्छ |

 

सेन्सरहरु : माइक्रोवेभमा आवश्यक पर्ने सेन्सरहरु छन् भने उक्त माइक्रोवेभले खानाबाट निस्केको बाफको  आधारमा समय र उर्जा तह फेरबदल गर्न सक्छ | खाना निकै तातो भइसकेको छ भने पनि माइक्रोवेभ आफैं बन्द हुन्छ |


र्याकहरु : कुनै कुनै माइक्रोवेभको भित्री भागमा र्याकहरु पनि राखिएको हुन्छ जसले गर्दा तपाईंले एकैपटकमा दुई वा बढी खाने कुराहरु तताउन सक्नुहुनेछ |


इन्भर्टर प्रविधि : इन्भर्टर प्रविधि भएको माइक्रोवेभले निरन्तर रुपमा एकैनासको ताप निकाल्न सक्छ | यस्ता माइक्रोवेभलाई विद्युत आपूर्तिमा हुने भोल्टेजको फेरबदलले केही फरक पर्दैन |


ग्रिल गर्न मिल्ने सुविधा : सामसंगका कुनैकुनै माइक्रोवेभमा तेलबिना नै खाने कुरा ग्रिल गर्न मिल्ने फिचर समावेश गरिएको छ |


स्टिम गर्न मिल्ने सुविधा : ग्रिलमात्र नभएर खानेकुरालाई स्टिम गर्न मिल्ने सुविधा भएका माइक्रोवेभ पनि बजारमा उपलब्ध छन् |


सजिलै सफा गर्न मिल्ने भित्री भाग  : माइक्रोवेभको भित्री भाग चिनिया माटो वा खिया नलाग्ने स्टिलले बनेको छ भने सफा गर्न निकै सजिलो हुन्छ |


माथि उल्लेख गरिएका सबै विशेषता सबै मोडलका माइक्रोवेभमा पाइँदैनन् | कतिपय फिचर महँगा र ठूला माइक्रोवेभमा मात्र सीमित छन् | बजारमा गएर खरिद गर्ने बेलामा नै माइक्रोवेभमा केकस्ता फिचर छन् या छैनन् भन्ने कुराको जानकारी लिनु अति आवश्यक हुन्छ |

 

 

यसमा तपाईको मत