घरेलु उपकरण विशेष

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

  नागरिक   2019-12-01

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई दुःख हुन्छ । गिजरले काम गर्ने तरिका तथा नेपालमा उपलब्ध केही गिजरबारे यो लेखमा चर्चा गरिएको छ ।

गिजरले कसरी काम गर्छ ?

गिजरका तीन मुख्य भाग हुन्छन् । तताउने उपकरण, पानी ट्यांकी र थर्मोस्टाट ।  तताउने उपकरणले ऊर्जा लिएर पानी तताउँदै ट्यांकीमा राख्छ र कति समय र कति तापक्रमसम्म तताउने भन्ने कुराको लेखाजोखा चाहिँ थर्मोस्टाटले राख्छ ।


गिजरको सबैभन्दा महत्वपूर्ण भाग नै पानी तताउने उपकरण हो यसलाई ‘हिटिंङ इलिमेन्ट’ पनि भनिन्छ । गिजरले पानी कत्तिको चाँडो र कुशलताकासाथ तताउन सक्छ भन्ने कुरा यहि हिटिङ इलिमेन्टको गुणस्तरले निर्धारण गर्छ ।  यस उपकरणको भित्री भागमा सिसाको चौतर्फी पर्खाल हुन्छ, जसले चाँडो पानी तताउन सहयोग गर्छ ।

पानी ट्यांकीमा तातिसकेको पानी गिजरको पानीट्यांकीमा गएर बस्छ ।  त्यसैले उक्त ट्यांकी खियाप्रतिरोधी र टिकाउ हुनु अवाश्यक छ ।  पानी ट्यांकी पनि दुई प्रकारका हुन्छन् ।


●    स्टिलबाट बनेको ट्यांकी
स्टिलबाट बनेका गिजर ट्यांकी पुराना भइसके । यीनको प्रयोग पनि कम हुँदै गइरहेको छ । कारण यस्ता ट्यांकीमा अधिक मात्रामा खिया लाग्दा आयु छोटो हुन्छ । नयाँ गिजरमा स्टिलको ट्यांकी नराख्नु नै उचित हुन्छ ।


●    खिया प्रतिरोधी पोलिमर ट्यांकी
स्टिल ट्यांकीको मुख्य कमजोरी हो खिया । स्टिल ट्यांकीको भित्री भागलाई सिसा जस्तै देखिने खिया प्रतिरोधी पोलिमरको लेप लगाएपछि उक्त ट्यांकीको खिया लाग्ने समस्या समाधान हुन्छ ।  यस्ता ट्यांकीहरू निकै टिकाउ पनि हुन्छन् । ५ देखि ७ वर्षसम्मको वारेन्टीकासाथ आउँछन् ।

 

थर्मोस्टाट गिजरको मस्तिष्क हो भन्न सकिन्छ किनकि यसले कति बेला पानी तताउन सुरु गर्ने र कति बेला बन्द गर्ने भन्ने कुरा निर्धारण गर्छ ।  कति तापक्रमसम्म पानी तताउने भन्ने कुराको लेखाजोखा पनि थर्मोस्टाटले नै राख्छ ।

विद्युतीय कि ग्यास गिजर ?

गिजरका प्रकार पानी तताउनका लागि प्रयोग गर्ने ऊर्जा स्रोतका आधारमा छुट्टाइएको छ । विद्युतीय र ग्यास गिजर । विद्युतीय गिजरले पानी तताउनका लागि विद्युतको प्रयोग गर्छ भने ग्यास गिजरले साधारण खाना पकाउने एलपीजी ग्यास ।  दुवै गिजरका फाइदा र बेफाइदा छन् । तर, सहजता, स्थापना मूल्य र सुरक्षाका आधारमा विद्युतीय गिजर खरिद गर्नु उचित हुन्छ ।  ग्यास गिजरले पानी चाँडो तताउने गर्छ तर यसलाई छुट्टै भेन्टिलेसन र ठूलो स्थानको आवश्यकता पर्दछ ।

 

स्टोरेज कि इन्सट्यान्ट ?

इन्सट्यान्ट गिजर


इन्सट्यान्ट गिजरमा पानी तताएपछि राख्नका लागि कुनै ट्यांकी हुँदैन ।  अन गर्न बित्तिकै तातोपानी आउन सुरु गर्छ र अफ गरेको केही बेरमै पानी आउन बन्द हुन्छ ।  यस्ता गिजरबाट आवश्यकताभन्दा बढी पानी तताएर तातोपानी खेर जाला भन्ने चिन्ता हुँदैन ।  तर नुहाउनका लागि भने यही अन र अफ गर्न नै झन्झटिलो हुन्छ  ।  नुहाउनका लागि भने बाल्टीमा वा अन्य कुनै भाँडामा तातोपानी जम्मागर्नुपर्ने हुन्छ । त्यसैकारणले यस्ता गिजरलाई तुरुन्तै पानी आवश्यक पर्ने ठाउँ जस्तै भान्सा, भाडा धुन र हातधुनलगायतमा प्रयोग गर्नु उचित हुन्छ ।  


पानी भण्डार गर्ने ट्यांकी नभएको गिजरको आयु ट्यांकी भएको गिजरको तुलनामा धेरै हुन्छ । यस्ता गिजर साना हुन्छन् । इन्स्टल गर्न पनि सजिलो हुन्छ ।  तर विद्युतीय आवश्यकता चाहिँ उच्च हुन्छ । यस्ता गिजर १ देखि १० लिटर क्षमतामा उपलब्ध छन् ।

 

स्टोरेज गिजर


स्टोरेज गिजरले पानी तताएपछि पानीलाई पछिको प्रयोजनका लागि ट्यांकीमा जम्मा गरेर राख्छ । तर पानी तात्नका लागि ५ मिनटसम्म लाग्न सक्छ ।  त्यसैले तुरुन्तै तातोपानी चाहिने स्थानमा यो काम लाग्दैन ।  ट्यांकीको क्षमता ६ देखि ३५ लिटरसम्म हुन्छ । एकपटक पानी तताएपछि ट्यांकीमा जम्मा भएको पानी चिसो नहुँदासम्म प्रयोग गर्न सकिन्छ । यस्तो किसिमको गिजर दुवै ग्यास र विद्युतीयमा उपलब्ध हुन्छन् ।


इन्स्टल गर्ने शुल्क इन्सट्यान्ट गिजरको तुलनामा कम हुन्छ तर ऊर्जा खपत चाहिँ बढी हुन्छ ।  इन्सट्यान्ट गिजरकोे प्रयोग आयु १५ देखि २० वर्षसम्म हुन्छ भने स्टोरेज गिजरको प्रयोग आयु ८ देखि १२ वर्ष मात्र हुन्छ ।  ट्यांकीमा तताएर राखेको पानी सबै प्रयोग हुन्छ भन्ने पनि हुँदैन र जति राम्रो इन्सुलेट भएको ट्यांकी भए पनि केही बेरपछि पानी चिसो हुन्छ र फेरि तताउनुपर्ने हुन्छ ।

 

गिजरको क्षमता

 

२–३ परिवार सदस्य - बाल्टी प्रयोग गरी नुहाउने - ६ लिटर क्षमताको इन्सट्यान्ट गिजर कि १० देखि १५ लिटर क्षमताको स्टोरेज गिजर

२–३  परिवार सदस्य - धाराबाट नुहाउने - २५ लिटर क्षमताको स्टोरेज गिजर 

२–३ परिवार सदस्य - भाडा धुन र हात धुन - १ देखि ३ लिटर क्षमताको इन्सट्यान्ट गिजर

४–८ परिवार सदस्य - बाल्टी प्रयोग गरी नुहाउने - ६ लिटर क्षमताको इन्सट्यान्ट गिजर कि २५ लिटर क्षमताको स्टोरेज गिजर

४–८ परिवार सदस्य - धाराबाट नुहाउने - २५ देखि  ३५ लिटर क्षमताको स्टोरेज गिजर    

४–८ सदस्य - भाडा धुन र हात धुन -  १ देखि ३ लिटर क्षमताको इन्सट्यान्ट गिजर  


नेपाली बजारमा गिजरको मूल्य

बजारमा गिजरको मूल्य गिजरको प्रकार, ब्राण्ड र क्षमताका आधारमा निर्धारण हुन्छ ।


ग्यास गिजर                ६ लिटर        नेरु ६,५००–८,५००
विद्युतीय इन्सट्यान्ट गिजर    १ लिटर        नेरु ७,०००
विद्युतीय इन्सट्यान्ट गिजर    ३ लिटर        नेरु ८,५००–१०,०००
विद्युतीय स्टोरेज गिजर        १५ लिटर       नेरु  १०,०००–१४,०००
विद्युतीय स्टोरेज गिजर        २५ लिटर        नेरु १५,०००–२५,०००

 

यसमा तपाईको मत