घरेलु उपकरण विशेष

फ्रिज खरिद गाइड - कस्तो फ्रिज किन्ने ?

  नागरिक   2020-03-07

बजारमा दशौं ब्राण्डले उत्पादन गर्ने सयौं मोडलका फ्रिजहरु उपलब्ध हुने भएकाले फ्रिज सम्बन्धि न्यून ज्ञान भएकालाई फ्रिज खरिद गर्न गाह्रो पर्न सक्छ | यदि तपाई पनि फ्रिज खरिद गर्ने सोचमा हुनुहुन्छ भने यस फ्रिज खरिद गाइडको सहयोगबाट तपाईको लागि उचित हुने फ्रिज कुन चाहि हो भन्ने कुराको उत्तर पाउन सक्नुहुनेछ :

फ्रिजको साइज

फ्रिज किन्नु अगाडि तपाईले सबैभन्दा पहिला फ्रिजको साइजमा निर्णय लिनु पर्छ | कुन साइजको फ्रिज लिने भन्ने कुरा पनि तीन कुरामा आधारित छ – तपाईको परिवार आकार, बजेट र फ्रिज राख्नलाई उपलब्ध स्थान |

सहि साइजको फ्रिज

भान्सा कोठामा फ्रिज कहाँ राख्ने हो ? किन्नु अगाडी नै निर्धारण गर्नुहोस् | सोहि निर्धारित स्थानको आयाम लिनुहोस् | यही आयाम मै आधारित भएर भान्सामा ठिक्क हुने फ्रिज किन्नु उचित हुन्छ | कुनै साइजको फ्रिज किनेपछि सो स्थानमा राख्दा फ्रिजको ढोका सहि तरिकाले खुल्छ-खुल्दैन, फ्रिजको लागि भेन्टिलेसन हुन्छ-हुदैन आदि जस्ता कुराहरु ख्याल गर्नु पर्छ |

भान्सा कोठा ठूलो छ भने त यो खासै टाउको दुखाइको विषय होइन | तर यदि भान्सा कोठा सानो छ वा भान्साको लागि चयन गरिएको स्थान सानो छ भने ठूलो फ्रिज नलिएको नै राम्रो | यो मुख्यत: काठमाडौँ जस्तो सहरमा डेरामा बस्नेहरुले सोच्नु पर्ने कुरा हो |

स-परिवार लाई पुग्ने क्षमता भएको फ्रिज

भान्साको आयामलाई मिल्ने फ्रिजमा निर्धारण गरे पछि अब आफ्नो परिवारलाई पुग्ने फ्रिजको क्षमतामा निर्धारण गर्नुपर्छ | ठूलो परिवारलाई ठूलै फ्रिज र सानो परिवारलाई सानै फ्रिज | ठूलो भनेको कत्रो र सानो भनेको कत्रो त?

फ्रिजको क्षमता पनि अन्य थुप्रै उपकरण जस्तै लिटरमा मापन गरिन्छ | धेरै लिटर क्षमता भएको फ्रिजको बाहिरी आयाम पनि ठूलै हुन्छ | नेपाली बजारमा ५० लिटर देखि ५०० लिटरसम्मका फ्रिजहरु उपलब्ध छन् | थोरै क्षमता भएको फ्रिज देखि धेरै क्षमता भएको फ्रिजसम्म क्रमिक रुपले मूल्य उकालो लाग्दै जान्छ | यसर्थ थोरै क्षमता भएको फ्रीज सस्तो हुन्छ भने धेरै क्षमता भएको महँगो |

 

परिवार संख्या

सुझाव गरिएको क्षमता

नेपाली बजार मूल्य (नेरु)

१ जना मात्र

५० लिटर – ८० लिटर

लगभग १५ हजार

२ देखि ३

१५० लिटर – २५० लिटर

लगभग २० हजार देखि ४० हजार

४ देखि ५

२५० लिटर – ३३० लिटर

लगभग ५० हजार देखि ९० हजार

६ वा बढी

३५० लिटर – ४९० लिटर

१ लाख वा  बढी

 

परिवार र क्षमताको जानकारी zelect.in बाट साभारित

मूल्य daraz.com.np बाट साभारित  

 

डिजाइन र स्टाइल 

मोर्डन भान्सा कोठा निर्माणमा भान्साका उपकरणहरु उक्त उपकरणको विशिष्ट कार्यका लागि मात्र नभएर सजावटको रुपमा पनि प्रयोग गरिन्छ | अर्थात् तपाईले पनि खरिद गर्ने उपकरण कार्यात्मकका साथ साथै सुन्दर पनि होस् भन्ने पक्कै चाहनुहुन्छ | फ्रिज थुप्रै डिजाइन, रङ्ग, फिनिस र स्टाइलमा उपलब्ध हुन्छ र तपाईले आफूलाई मन पर्ने डिजाइनमा मन पर्ने फिनिस भएको फ्रिज खरिद गर्न सक्नुहुनेछ |

डिजाइन र मोडल  

फ्रिजका थुप्रै डिजाइनहरु छन् | फ्रिज निर्माताहरुले झन् नयाँ डिजाइनका फ्रिजहरु बजारमा उपलब्ध गराउने गर्छन |

१.      टप फ्रिजर

यस फ्रिजको फ्रिजर फ्रिजको माथिल्लो भागमा हुन्छ | कुनै फ्रिजमा फ्रिजरलाई छुट्टै ढोका दिईएको हुन्छ भने कुनैमा फ्रिजर र तल्लो भागलाई एकै ढोका राखिएको हुन्छ | नेपालमा सबै भन्दा प्रचलित भनेको सिङ्गल ढोका भएको टप फ्रिजर फ्रिज नै हो | यिनीहरु अन्यको तुलनामा सस्ता हुन्छन्, साना हुन्छन् र कम विद्युत खपत गर्छन| यसर्थ यो फ्रिज साना परिवारका लागि उचित हुन्छन् | 

२.     बटम फ्रिजर

टप फ्रिजरको फ्रिजर माथि भए जस्तै बटम फ्रिजरको फ्रिजर तल्लो भागमा हुन्छ | बाकीं सबै कुरा टप फ्रिजरसंग मिल्दो हुन्छ | यिनीहरु सस्ता हुन्छन्, साना हुन्छन् र विद्युत कम खपत गर्छन् | फरक यति हो बटम फ्रिजर भन्दा टप फ्रिजर नेपालमा प्रचलित छन् | आफूलाई मनपरे अनुसार टप फ्रिजर वा बटम फ्रिजर जस्तो फ्रिज किने पनि खासै फरक पर्दैन |

३.      साइड बाइ साइड ढोका भएको

साइड बाइ साइड ढोका भएको फ्रिजमा दुई वटा वा बढी ढोकाहरु हुन्छन | यिनीहरुको क्षमता बढी हुन्छ र अन्यको तुलनामा निकै महंगा हुन्छन | मोडल अनुसार कुनै साइड बाइ साइड फ्रिजको फ्रिजर माथि हुन्छ भने कुनैको तल हुन्छ | यस्ता फ्रिजको मुख्य फाइदा नै धेरै क्षमत़ा हो |

 

कस्तो मोडलमा कुन क्षमताको फ्रिज उचित?

 

फ्रिजको क्षमता

सुझाव गरिएको मोडल

५० लिटर – ८० लिटर

सिङ्गल ढोका भएको

१५० लिटर – २५० लिटर

सिङ्गल ढोका वा दुईवटा ढोका भएको

२५० लिटर – ३३० लिटर

दुईभन्दा बढी ढोका भएको

३५० लिटर – ४९० लिटर

साइड बाइ साइड

 

कस्तो फिनिसको फ्रिज?

फ्रिजको फिनिस भन्नाले फ्रिजको बडी कुन वस्तुले बनेको छ भन्ने बुझिन्छ | फ्रिजको बाहिरी भाग निर्माण गर्नलाई प्लास्टिक, स्टेनलेस स्टिल र स्लेट प्रयोग गरिएको हुन्छ | प्लास्टिक प्रयोग गरिएको फ्रिजको बाहिरी भाग कम टिकाउ हुन्छ भने स्टिल प्रयोग गरिएको फ्रिज अलिक बढी टिकाउ हुन्छ | स्लेट फिनिस भएको फ्रिज चाहिँ नयाँ ट्रेन्ड हो | यिनीहरु अन्यभन्दा निकै टिकाउ, दाग नलाग्ने र महंगा हुन्छन | थोरै मूल्यको लगभग सबै फ्रिजमा प्लास्टिक नै प्रयोग गरिन्छ भने प्रिमियम फ्रिजमा स्टेनलेस स्टिल प्रयोग गरिन्छ |

 

मोर्डन फिचर

सबै कुराहरु विस्तारै स्मार्ट हुदैँ गर्दा फ्रिज पनि स्मार्ट हुन थालेका छन् | प्रयोगकर्तालाई सजिलो बनाउनका लागि थुप्रै किसिमका फिचरहरु फ्रिजमा समावेश गरिएको हुन्छ |

स्मार्ट फ्रिजहरुमा टच स्क्रिन, वाईफाई, टिभी, स्पिकर आदि जस्ता कुराहरु समावेश गरिएको हुन्छ | तर यी सबै फिचरका लागि धेरै पैसा खर्च गर्नु उचित नहुन सक्छ | फ्रिजको मुख्य काम – खाना चिसो बनाउने – साधारण देखि स्मार्ट सबै फ्रिजले गर्छन् | यस्ता फिचरमा पैसा खर्च गर्नुको सट्टा निम्न कुराहरु फ्रिजमा छ छैन ख्याल गर्नुहोस् जसले फ्रिजमा कार्यात्मक सुधार ल्याउछ :

१.       ढोका अलार्म

फ्रिजको ढोका राम्रोसंग बन्द नभएको खण्डमा फ्रिजले सानो आवाज निकाल्छ | यसबाट उर्जा र खानाको बचत हुन्छ |

२.      आर्द्रता नियन्त्रण गर्न मिल्ने फ्रिज

हरिया सागपातहरुलाई धेरै समयसम्म हरियो नै रहनका लागि सहि आर्द्रताको आवश्यक पर्दछ | यो फिचर भएको फ्रिजमा तपाईले हरियो सागपात धेरै समयसम्म ताजा राख्न सक्नुहुनेछ |

३.      इनर्जी स्टार भएको फ्रिज  

फ्रिजमा मात्र नभएर हरेक विद्युतिय उपकरण खरिद गर्दा इनर्जी स्टार हेर्नुपर्छ | इनर्जी स्टार भएको फ्रिजले निकै थोरै उर्जाको खपत गर्छ |

 

फ्रिजको सुरक्षा कसरी गर्ने?

फ्रिज खरिद गरिसके पछि फ्रिजको सुरक्षा पनि उतिकै महत्वपूर्ण कुरा हो | राम्रो हेरचाह गरेमा फ्रिजको प्रयोग आयु दोब्बरसम्म बढ्न सक्छ | यस्ता फ्रिजको हेरचाह र सुरक्षा टिप्सहरुका लागि यस लेखमा जानुहोस् : http://nagarikbazaar.nagariknetwork.com/news/fridge-maintenance-tips 

           

 

यसमा तपाईको मत