घरेलु उपकरण विशेष

घरमा विद्युतको खपत कम कसरी गर्ने ?

  नागरिक   2020-04-21

उर्जाको बचत गर्नु अहिलेको जतिको महत्वपूर्ण कहिल्यै थिएन। घरेलु प्रयोजनमा उर्जा खपत कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा केही जानकारी तल दिईएको छ।  


उर्जा कम खपत गर्ने विद्युतीय उपकरणको प्रयोग

नयाँ विद्युतीय उपकरण खरिद गर्दा सधैं त्यसमा भएको इनर्जी स्टारको स्टिकर हेर्नुपर्छ। इनर्जी स्टारको स्टिकर भएका उपकरणहरु वातावरण मैत्री हुन्छ र विद्युतीय खपतलाई न्यूनीकरण गर्ने हेतुका साथ बनाएका हुन्छन। इनर्जी स्टार भएको विद्युतीय उपकरणको प्रयोगले विद्युत खपतमा बार्षिक १०% देखि ५०% सम्म कमि आउछ र यसले उर्जा बचाउनुकोसँगै पैसा बचत पनि गर्छ। यिनीहरु सुरुको खरिदमा इनर्जी स्टार नभएका उपकरणहरु भन्दा केही हदसम्म महँगो हुन्छ तर लामो अवधिलाई सोचेर हेर्दा इनर्जी स्टार भएका उपकरणले नै फाइदा गर्छ।  


लाइट बल्ब परिवर्तन गर्नुहोस्

पुराना पहेंलो रङ्गको लाइट बल्ब अर्थात् टंगस्टेन बल्ब र सी. एफ. एल. लाइट बल्ब बीचमा उर्जा खपतको ठूलो अन्तर हुन्छ। सी. एफ. एल. बल्बले टंगस्टेन बल्बभन्दा ४ गुणासम्म बढी बिजुलीको बचत गर्न सक्छ। बल्ब खरिद गर्दा पनि त्यसमा इनर्जी स्टार चिन्ह छ वाछैन जांच गर्नुपर्छ। यी बल्बहरु टंगस्टेन बल्ब भन्दा १० गुणा बढीसम्म चलिरहन सक्छ। आज भोलि सी. एफ. एल. भन्दा बढी उर्जा बचत गर्ने एल. इ. डी (LED) बल्बहरु पाइन्छ। तर यिनीहरु चाहिँ सी. एफ. एल.को तुलनामा महँगो हुन्छ। टंगस्टेन बल्ब भने थोरै समय टिक्ने, धेरै विद्युत खपत गर्ने र वातावारण मैत्री नभएकाले प्रयोग नगर्नु नै राम्रो हुन्छ।


कोठा इन्सुलेट गर्नुहोस्

यदि तपाईंले घरमा हिटर र ए.सी. को प्रयोग गर्नुहुन्छ तर कोठा राम्रोसँग इन्सुलेट भएको छैन भने कोठा तात्न र चिसो हुन अत्याधिक समय लाग्छ र तातेको कोठा पनि चाडै चिसो भएर जान्छ। यस कारणले गर्दा तपाईंले हिटर र ए. सी. लामो समय सम्म चलाइरहन पर्ने हुन्छ जसले गर्दा विद्युत खपत बढेर आउछ। त्यसैले कोठालाई लामो समयसम्म तातो वा चिसो राखि रहन र विद्युतको खपत न्यूनीकरण गर्नलाई कोठालाई इन्सुलेट गर्नु आवश्यक छ। इन्सुलेट गरेको कोठाबाट ताप बाहिर निस्कदैन र बाहिरको ताप भित्र पनि जादैन। यसबाट विद्युत खपत २०% सम्म कम हुन जान्छ।


पानीको बचत

पानीको खपत र उर्जा खपतमा सोचेभन्दा धेरै सम्बन्ध छ। जति धेरै पानीको प्रयोग गरिन्छ, त्यति नै धेरै विद्युतको खपत हुन्छ। एक सर्वेक्षण अनुसार ३०% भन्दा बढी घरेलु विद्युत खपत पानी कै लागि गरिन्छ। पानी तताउन, पानी फिल्टर गर्न, पानीलाई ट्यांकीमा चढाउँन र विविध अन्य कामहरुमा विद्युतको नै प्रयोग भएको हुन्छ। पानीको दुरुपयोगले घरमा हुने उर्जा खपतलाई प्रतक्ष्य असर पार्छ। त्यसैले पानीको बचत गर्नाले र चाहिए अनुसारमा प्रयोग गर्नाले पानीको साथ-साथै विद्युतको पनि धेरै बचत हुन्छ।  


प्रयोग नहुने विद्युतीय उपकरण बन्द गर्नुहोस्

केही समय देखि प्रयोगमा नभएको र केही समयको लागि प्रयोगमा नहुने विद्युतीय उपकरणहरुलाई बन्द गरिदिनु उचित हुन्छ। प्रयोगमा नआएको विद्युतीय उपकरणले मात्र नै ५% भन्दा बढी घरेलु विद्युत खपत गर्छ। प्रयोगमा नआएको कोठाको बत्ति र अन्य उपकरण निभाउने, घरमा कोही नहुने बेलामा वाई फाई बन्द गरिदिने, भान्सामा हुने विद्युतीयहरु प्रयोगको बेलामा मात्र प्लगमा जोड्ने, प्रयोग सकिए पछि कम्प्युटरलाई पूर्ण बन्द गरिदिने आदि जस्ता क्रियाकलापले विद्युतको खपत धेरै धेरै कम भएर आउछ।


स्मार्ट उपकरणको प्रयोग

स्मार्ट उपकरणहरु, जस्तै: स्मार्ट बल्ब, स्मार्ट थर्मोस्ट्याटहरु, प्रयोगमा नभएको बेलामा आफै बन्द भइदिन्छ। उदाहरणका लागि कोठा खालि छ भने स्मार्ट बल्ब स्वतः बन्द हुन्छ र कोठामा कोही प्रस्थान गर्दै छ भने पनि स्वतः बत्ति सुचारु गरिदिन्छ। स्मार्ट थर्मोस्ट्याटहरुले चाहिँ कोठाको तापक्रम अनुसार नै तापक्रम घटाउने बढाउने गर्छ जसले गर्दा विद्युतको खपत कम भएर आउछ। त्यसैले विद्युत खपत न्यूनीकरण गर्नका लागि स्मार्ट उपकरणको पनि प्रयोग गर्न सकिन्छ।

यसमा तपाईको मत