घरेलु उपकरण विशेष

घर भित्रको हावा स्वच्छ राख्न एयर प्युरीफायरको प्रयोग

  नागरिक   2020-02-18

एयर प्युरीफायर अर्थात् हावा शुद्धीकरण उपकरणलाई प्रयोग गर्नको उद्देश्य नै घरको हावालाई शुद्ध बनाउनु हो । हावालाई शुद्ध बनाउनका लागि प्युरीफायरले हावामा भएका साना र हानिकारक तत्वहरूलाई हटाउन प्रयास गर्छ ।  तर अधिकांश उपभोक्ताको मनमा उब्जिएको प्रश्न हो – के एयर प्युरीफायरले साचीकै काम गर्छन् त ? छोटो उत्तर हो – कुनै प्युरीफायरले काम गर्छन् भने कुनैले गर्दैनन् । कस्ता प्युरीफायरले राम्रोसँग काम गर्छन् र कस्ताले गर्दैनन् भन्ने कुराको बारेमा हामी यहाँ चर्चा गर्न गइरहेका छौं । 


अधिकांश एयर प्युरीफायरले फ्यान मार्फत कोठाको हावालाई सोस्छ र उक्त हावालाई फिल्टरमा पठाउँछ । फिल्टरले हावामा भएका साना र हानिकारक तत्वहरूलाई जम्मा पार्छ र फिल्टरको अर्को पट्टिबाट निस्कने हावा सफा हुन्छ । तर सबै एयर प्युरीफायरले फिल्टरको प्रयोग गर्छन् भन्ने चाहिँ हुँदैन – त्यसता प्युरीफायरले हावा शुद्धीकरणका लागि बेग्लै तरिका प्रयोग गर्छन् ।  


एयर प्युरीफायरका थुप्रै प्रकारहरू हुन्छन् र एयर प्युरीफायरले काम गर्ने तरिकाको आधारमा प्युरीफायरको वर्गीकरण गरिएको हुन्छ । एयर प्युरीफायरका प्रकारहरू यस प्रकारका रहेका छन् :

१.    हेपा प्युरीफायर 


हेपा प्युरीफायर सबैभन्दा प्रचलित र प्रभावशाली प्युरीफायरको प्रकार हो जसलाई उपभोक्ता रुचाएका छन् र विशेषज्ञले सिफारिस गर्छन् । हेपा एयर प्युरीफायरले फ्यान मार्फत कोठाको हावालाई सोस्छ र उक्त हावालाई हेपा फिल्टरमा पठाउँछ । हेपा फिल्टरले हावामा भएका साना र हानिकारक तत्वहरूलाई जम्मा पार्छ र फिल्टरको अर्को पट्टिबाट निस्कने हावा सफा हुन्छ । फिल्टर भएर निस्कने हावाको गुणस्तर भने प्रयोग भएको फिल्टरमा निर्भर हुन्छ – उच्चस्तरीय फिल्टरबाट राम्रोसँग फिल्टर भएको हावा निस्कन्छ भने कम गुणस्तर भएको फिल्टरबाट कम गुणस्तर भएकै हावा निस्कन्छ । कतिपय राम्रा र उच्चस्तरीय फिल्टरहरूमा हेपा फिल्टरको साथमा भोक (VOC) फिल्टर पनि प्रयोग गरिएको हुन्छ जसले हावाबाट दुर्गन्ध र एलर्जी बनाउने साना तत्वहरूको पनि निवारण गर्छ । समग्रमा भन्नु पर्दा हेपा फिल्टर प्रयोग गरिएका एयर फिल्टरहरू सुरक्षित र प्रभावकारी हुन्छन् । 

 


२.    ओजोन जेनेरेटर 


ओजोन जेनेरेटरमा आधारित भएका काम गर्ने एअर प्युरीफायरलाई सबैभन्दा हानिकारक प्युरीफायर मानिन्छ । यस्ता एअर प्युरीफायरले हावामा चार्ज भएका कणहरूलाई डिस्चार्ज अर्थात् निर्वहन गर्छ । उक्त चार्ज भएका कणहरूले हावामा भएका धूलो र फोहरका कणहरूमा संलग्न हुन्छ र उक्त फोहरको कणलाई हावाबाट तल अर्थात् सतहमा लिई झर्छ । 
त्यसो भए यो हानिकारक चाहिँ कसरी ? यस्ता प्युरीफायरले फ्याक्ने ओजोनका कणहरु मानव फोक्साका लागि हानिकारक हुन्छ्न् र यसले दम रोग पनि निम्त्याउन सक्छ । यस लगायत आखाँ, घाटी र फोक्सो चिलाउने जस्ता समस्याहरू पनि देखा पर्न सक्छन् । त्यसैले घरमा एयर प्युरीफायर हाल्दा ओजोन जेनेरेटरमा आधारित एयर प्युरीफायर नराख्नू नै उचित हुन्छ । 

 

 

३.    एयर सानीटाईजर


एयर सानीटाईजरले हावामा भएको भाइरस, कीटाणु र अन्य कणहरुलाई निष्क्रिय पार्छ । यस्ता सानीटाईजरले ताप वा युभी लाइटको सहायताबाट हावामा भएका कीटाणु, कण, एलर्जी बनाउने तत्व आदिहरूलाई हटाउन सहयोग पुर्याउँछ । यस्ता प्युरीफायरहरू ओजोन प्युरीफायरभन्दा निकै सुरक्षित हुन्छन् र प्रयोगको समयमा पनि शान्त हुन्छन् ।

 

 

के एयर प्युरीफायर साचीकै प्रभावकारी हुन्छन् त ?

 

एयर प्युरीफायरहरू हावा शुद्धीकरणमा धेरै नै प्रभावकारी हुन्छन् । एयर प्युरीफायरले हावामा भएका हानिकारक कीटाणुहरूलाई निष्क्रिय पार्न वा फिल्टरमा कब्जा गर्न सक्छन् । हालै काठमाडौं लगायतका अन्य ठाउँहरूमा बढिरहेको वायु प्रदूषणका कारणले गर्दा पनि घरमा एयर प्युरीफायरको प्रयोग गर्नु महत्त्वपूर्ण भएको देखिन्छ । तर एयर प्युरीफायर खरिद गर्दा ओजोन जेनेरेटरमा आधारित भएको एयर प्युरीफायर खरिद नगर्नु नै उचित ठहरिन्छ । र, घर र कोठाको उचित सरसफाई  पनि उतिकै महत्त्वपूर्ण हुन्छ ।

यसमा तपाईको मत