घर निर्माण विशेष

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

  नागरिक   2018-11-25

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । युपिभिसी के हो ? यसका फाइदा–बेफाइदा के हुन् ? जस्ता विविध कुराहरुको विस्तृत जानकारी यहाँ छ ।


के हो युपीभीसी ?

युपिभिसी (uPVC) अर्थात् अनप्लास्टिसाइज्ड पोलिभिन्याल क्लोराइड एक विशेष प्रकारको प्लास्टिक हो, जुन निकै हलुका भए पनि बलियो हुन्छ र झ्याल–ढोका तथा पाइप बनाउन प्रयोग गरिन्छ । युपिभिसीलाई जस्तोसुकै घरका लागि आवश्यक पर्ने जस्तो सुकै झ्याल–ढोका निर्माणमा प्रयोग गर्न सकिन्छ । यिनीहरु टिकाउ र बलियो हुनुका साथै आकर्षक पनि हुन्छन् ।

युपिभिसी झ्याल ढोकाको फाइदाहरु

●    सबै मौसममा काम लाग्ने

युपिभिसीका झ्याल–ढोकाहरु सबै मौसमका लागि योग्य छन् । घाम, पानी, चिसो आदि जस्ता मौसमी तत्वले युपिभिसीका झ्याल–ढोकालाई बिगार्न सक्दैन ।

●    धमिरा र किरा नलाग्ने

युपिभिसीबाट बनेका कुनै पनि वस्तुमा किरा र धमिरा लाग्दैन । युपिभिसीबाट बनेका झ्याल–ढोकामा पनि किरा र धमिरा लाग्ने समस्या हुँदैन । काठका झ्याल र ढोकामा यो निकै ठूलो समस्या हो । तर युपिभिसीका हकमा यस्तो चिन्ता लिनै पर्दैन ।

●    सम्भार गर्न नपर्ने
काठका झ्याल–ढोकामा जस्तो युपिभिसीका झ्याल ढोकालाई बारम्बार मर्मतसम्भार गरिरहनु पर्दैन । एकपटक सेट गरेपछि लामो समयसम्म कुनै पनि झन्झटबिना काम गर्ने भएकाले युपिभिसी मर्मतसम्भारका लागि पैसा खर्च गर्नु पर्दैन ।


●    ताप र आवाज इन्सुलेट गर्न सक्ने
प्लास्टिकमा ताप र आवाज रोक्ने (इन्सलेट) क्षमता हुन्छ । युपिभिसीका झ्याल–ढोकाहरुले पनि बाहिरको आवाज र तापलाई कोठाभित्र जानबाट रोक्छ ।

●     बलियो र टिकाउ
खिया नलाग्ने, धमिरा नलाग्ने, नबांगिने, नकुहिने भएकाले युपिभिसीका झ्याल–ढोका बलियोका साथै लामो समयसम्म टिकाउ हुन्छ । युपिभिसीमा निकै राम्रो ठक्करप्रतिरोधी क्षमता र निकै कम थर्मल फैलावट हुने भएकाले लामो समयको प्रयोगपछि पनि बिग्रने सम्भावना कम हुन्छ । युपिभिसीका झ्याल–ढोकाहरु आगोप्रतिरोधी पनि हुन्छन् ।

●    वातावरणमैत्री
रिसाइकल गर्न मिल्ने प्लास्टिक र अन्य वस्तुले युपिभिसी बनेको हुन्छ । तसर्थ एकपटक प्रयोगमा आएको युपिभिसीका झ्याल–ढोका पटकपटक प्रयोग गर्न मिल्छ र रुख पनि काटिनु पर्दैन ।  

युपिभिसी झ्याल–ढोकाका बेफाइदा

●    कमजोर संरचनात्मक पूर्णता
बलिया भए पनि युपिभिसीका झ्याल–ढोका एल्मुनियम र काठ जत्तिको बलिया हुँदैनन् । यिनीहरु निकै हलुका हुने भएकाले मुख्य द्वारको रुपमा प्रयोग गर्न पनि मिल्दैन । सजिलै आगो नटिप्ने भए पनि अधिक तापबाट युपिभिसीका झ्याल–ढोकाको बनोट सजिलै बिग्रन सक्छ ।

●    धेरै समयको प्रयोगपछि रंग फिका हुने

युपिभिसीलाई रंग लगाउनै नपर्ने भनेर विज्ञापन गरेको भेटिन्छ । तर रंग नलगाएको खण्डमा झ्याल–ढोकाको असली रंग फिका हुँदै जान्छ (कुनै पहेलो हुन्छ भने कुनै गुलाबी) ।

●    सीमित डिजाइनका विकल्प

बुट्टा कुँदेका काठका झ्याल–ढोकाहरु निकै आकर्षक हुन्छन् र यिनीहरुले घरको शोभा पनि बढाउँछन् । तर युपिभिसीका झ्याल–ढोकामा यस्तो केही गर्न मिल्दैन । यसका विकल्पहरु केबल रंग र फिनिसमा मात्र सीमित छन् ।

●    मर्मत गर्न असहज

काठ र एल्मुनियमका झ्याल–ढोका जस्तो बारम्बार मर्मत गर्न युपिभिसीलाई पर्दैन । तर केही अन्य कारणले यिनीहरुमा समस्या आयो भने मर्मत गर्न निकै असहज र महँगो पर्न जान्छ । फिट गरिसकेको युपिभिसी झ्याल ढोका सजिलैसँग निकाल्न नमिल्नुनै मर्मत असहज हनुको मुख्य कारण हो ।

 

यसमा तपाईको मत