घर निर्माण विशेष

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

    2019-05-22

काठमाडौं - घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि पु¥याएर काम गर्ने हो भने ढुङ्गा माटोको घरलाई पनि बलियो बनाऊन सकिन्छ । माटोको जोडाइमा ढुंगाको घरलाई भूकम्प प्रतिरोधी बनाउन मुख्यतया, निर्माण स्थलको छनौट र माटो परीक्षण पहिलो काम हो । त्यस्तै भवनको आकार प्रकार र नाप कस्तो कति राख्ने भन्ने विषयमा पनि पहिल्यै निक्र्यौल गर्नुपर्छ । यस्तै निर्माण सामग्रीहरु जस्तै ढुंगा, माटो, काठ, डण्डी जस्ता कुराहरु कमसल प्रयोग गर्नु हुँदैन । माटोको जोडाइमा ढुंगाको घरको जग लगाउँदा गारोवाला जग लगाउनुपर्दछ । माटो अनुसार जगको न्यूनतम नाप तोकिएको हुन्छ ।

यस्तै गारो लगाउँदा गारोको अधिकतम लम्बाइ, उचाइ, प्यानल साइज र न्यूनतम मोटाइमा ख्याल गर्नुपर्छ । गारोको न्यूनतम मोटाइ ३५० देखि ४५० मिलिमिटरसम्म हुनुपर्दछ । यदि गारोको लम्बाइ धेरै लामो भयो भने आड दिने गरी छुट्टै गारो उठाउनुपर्दछ, जसलाइ अंग्रेजीमा बट्रेस भनिन्छ । यस्ता गारो ३ मिटरभन्दा टाढा राख्नु हुँदैन । यसको न्यूनतम मोटाइ मुख्य गारो बराबरको हुनुपर्दछ  र आधारको न्यूनतम चौडाइ गारोको उचाइको ६ भागको १ भाग हुनुपर्दछ । साथै माथिको चौडाइ कम्तीमा गारो बराबर हुनुपर्दछ । चुली गारोले गारोको उचाइ बढाउने हुँदा सकेसम्म काठ वा जस्ता पाताको हलुका चुलीगारो राख्नुपर्दछ ।



माटोको जोडाइमा ढुंगाको घर बनाउँदा झ्याल ढोका राख्दा विशेष ध्यान पुर्याउनुपर्छ । झ्याल र ढोका गारोको कुनाबाट कम्तिमा ६०० मिलिमिटर टाढा राख्नुपर्छ । झ्याल ढोकाको बीचमा कम्तिमा ६०० मिलिमिटर गारो लगाएको हुनुपर्छ । झ्याल ढोकाको लम्बाइ बढीमा गारोको लम्बाइको ३० प्रतिशत हुनुपर्दछ ।

ढुंगाको गारोमा ठाउँ ठाउँमा पुरै गारोका चौडाइ भरिको कैँची मार्ने ढुंगाहरु राखिएको हुनुपर्छ । दुईवटा कैँची मार्ने ढुंगा बीचको फरक तेर्सो पट्टी ४ फिट र ठाडो पट्टी २ फिट भन्दा बढी हुनुहुँदैन । यदि कैँची मार्ने ढुंगा गारोको चौडाइ जत्रो नपाइएमा कम्तीमा गारोको ३ चौथाइ लामो ढुंगा एकआपसमा खप्टाएर राख्न सकिन्छ । सूर र जोर्नीमा ठूलो चाक्लो ढुंगाको प्रयोग गर्नुपर्दछ ।

भवनमा जग, जगको माथिल्लो सतह, झ्यालढोकाको तल्लो र माथिल्लो सतह, चुली गारोको भिरालो सतह, भुँइको सतह र छानाको सतहमा पुरै गारोभरि तेर्सो पट्टीहरु दिनुपर्दछ । सुर र जोर्नीमा उचाइतर्फ ५०० देखि ७०० मिलिमिटरको दुरीमा स्टिचको प्रयोग गर्नुपर्छ । ढलानको तेर्सो पट्टी नपाइएको खण्डमा काठको पट्टी प्रयोग गर्न सकिन्छ ।



झ्यालढोकाको कमजोर ठाउँहरु जस्तै जोर्नी, कुना र झ्यालढोकाको छेउमा ठाडो फलामे डण्डीहरु हाल्नुपर्दछ । ठाडो फलामे डण्डीहरु जगबाट सुरु भई छानाको सतहसम्म जानुपर्दछ । ठाडो फलामे डण्डी नपाइएको खण्डमा ठाडो काठ पनि प्रयोग गर्न सकिन्छ । यस्तै छाना लगाउँदा पनि विशेष ध्यान पुर्याउनुपर्छ । लचकदार छाना लगाउनुपर्दा जस्तापाता जस्ता हलुका सामान प्रयोग गर्नुपर्दछ । छाना तथा तल्लाहरु गारोसँग उपयुक्त तरिकाले बाँधेको हुनुपर्दछ । लचकदार तला र छानामा चौकुने बन्धन पनि राख्नुपर्दछ ।

यसमा तपाईको मत