घर निर्माण विशेष

पुराना घरलाई भूकम्प प्रतिरोधी कसरी बनाउने ?

  नागरिक   2018-08-12

बनिसकेका घर लगायत पुराना घरहरुलाई नयाँ प्रविधि र विशेषताहरु थप्ने प्रक्रियालाई रेट्रोफिटिंग भनिन्छ। घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि गरिने रेट्रोफिटिंग प्रविधिलाई सेस्मिक रेट्रोफिटिंग भनिन्छ । 

 

के हो सेस्मिक रेट्रोफिटिंग?

सेस्मिक रेट्रोफिटिंग भनेको बनिसकेका र पुराना संरचनालाई परिमार्जन गरेर उक्त संरचनालाई भूकम्पको जोखिमबाट प्रतिरोधी बनाउन गरिने प्रक्रिया हो| सुरुवाती समयमा यो प्रविधि पुल, सडक र अन्य ठूला संरचनालाई थप आयु र सुरक्षा दिनका लागि प्रयोग गरिएको थियो | पछिलो समयमा पुराना र कम्जोर गरेर बनाइएका घरलाई सुरक्षित बनाउनका लागि घरहरुमा पनि रेट्रोफिटिंग गर्न थालियो |

आवासीय रेट्रोफिटिंग

घरलाई रेट्रोफिट गरेर भूकम्प प्रतिरोधी बनाउने पक्रियालाई आवासीय रेट्रोफिटिंग भनिन्छ | यस रेट्रोफिटिंगमा पर्ने प्रविधि र प्रक्रियालाई धेरै पहिले देखि नै नेपालका पुराना संरचना – जस्तै मन्दिर, दरबार आदिहरुलाई सुरक्षित गर्नका लागि प्रयोग गर्दै आइएको छ | नेपाल एक उच्च भूकम्पीय जोखिममा भएको राष्ट्र हुनाले र नेपालका अधिकांस घरहरु पुराना भएका र भूकम्प प्रतिरोधी नभएकाले नेपालका लागि रेट्रोफिटिंग एक राम्रो विकल्प बन्न सक्छ |

कस्तो अवस्थामा काम लाग्छ रेट्रोफिटिंग?
 

  • बेठीक तवरले बनाइएको घरलाई मिलाउन  
  • पुराना घरको प्रयोग आयु बढाउन र भूकम्प प्रतिरोधी बनाउन
  • घरको तला थप्ने बेलामा

आवासीय सेस्मिक रेट्रोफिटिंगका केहि तरिकाहरु
 

आवासीय घरहरु मुख्यत: प्रबलित सिमेन्टबाट नै बनाइएका हुन्छन् र रेट्रोफिट गर्नका लागि सबैभन्दा प्रचलित तरिका ज्याकेटिंग हो |

१.      कंक्रिट ज्याकेटिंग

 

संरचनाको पिलर र बिमलाई बलियो बनाउनका लागि प्रयोग गरिने सबैभन्दा प्रचलित विधि हो - कंक्रिट ज्याकेटिंग र यो बिधिमा घरमा भइरहेको बिम र पिलरलाई पुनः स्टिलले बारेर कंक्रिटले भरिनछ |

यदि पुराना घरका बिम र पिलरहरु साना र कमजोर छन् भने यस विधिबाट चौडा र बलियो बनाउन सकिन्छ | बिममा गरिएको कंक्रिट ज्याकेटिंगबाट घरको लचकता बढ्ने र समग्रमा घरको कठोरता बढ्ने छ | पिलरमा गरिएको कंक्रिट ज्याकेटिंगले घरको अक्षिय बल बढाउने छ | दुवैको प्रयोगबाट पुरानो घरलाई केहि हदसम्म भूकम्प प्रतिरोधी बनाउन सकिनेछ |

 

२.      स्टिल ज्याकेटिंग

घरको पिलर र बिमलाई स्टिलको ब्याण्ड र च्यानलहरुले ढाक्ने प्रक्रियालाई नै स्टिल ज्याकेटिंग भनिन्छ | घरका पिलरहरुलाई थप कठोरता दिन र अझै बढी बलियो बनाउनका लागि यस विधिको प्रयोग गर्न सकिन्छ | यस ज्याकेटिंग तरिकाबाट पिलर र बिमको आकार बढ्दैन |

 

३.      फाइबर प्रबलित पोलिमर ज्याकेटिंग

ज्याकेटिंग विधिहरु भरिमा सबैभन्दा अब्बल र नयाँ ज्याकेटिंग विधि हो फाइबर प्रबलित पोलिमर ज्याकेटिंग | यस ज्याकेटिंगमा प्रयोग हुने फाइबर पनि दुई किसिमका हुन्छन् : कार्बन फाइबर र ग्लास फाइबर | दुवै किसिमको फाइबर नै निकै टिकाउ, हलुका र बलिया हुन्छन् | यो विधि अन्य विधि भन्दा तुलनात्मक रुपमा सहज हुन्छ र स्टिलकोमा जस्तो खियाको डर पनि हुदैन |

यस ज्याकेटिंगको प्रयोग स्टिल र बिममा मात्र सिमित नभएर भित्ता र स्ल्याबसम्म पनि फैलिएको छ | यसर्थ घरका अधिकतम कुराहरुलाई रेट्रोफिट गर्नका लागि फाइबर ज्याकेटिंग कै प्रयोग गर्न सकिन्छ |

 

यसमा तपाईको मत