ग्याजेट विशेष

आइफोन प्रयोगकर्ता हुनुका झन्झटहरू !

  नागरिक   2020-01-14

एप्पलको आइफोन अहिलेको सबैभन्दा प्रचलित र धेरैले रुचाउने स्मार्टफोन मध्ये एक हो । एप्पलले अहिलेसम्म एक अर्बभन्दा बढी आइफोनहरू बिक्री गर्न सफल भइसकेको छ र उक्त संख्या बढ्दै गइरहेको छ । पहिलो आइफों रिलिजको एक दशक पुगिसक्दा पनि आइफोनमा यस्ता झन्झटिला कुराहरू छन् जसबाट धेरै आइफोन प्रयोगकर्ताहरू दिक्क भएका छन् । यस्तै केही आइफोन प्रयोगकर्ताले मात्र भोग्नु पर्ने झन्झटहरूको बारेमा यहाँ चर्चा गरिएको छ । एन्ड्रोइड प्रयोगकर्ताले मात्र भोग्नु पर्ने झन्झटको सूची पनि चाडै प्रकाशित हुनेछ ।

१. आइट्युन्सको झन्झट

नयाँ खरिद गरेर ल्याएको आइफोनमा गित हाल्नु पर्यो भने कि त तपाईंले एप्पलको आइट्युन्स स्टोरबाट डलर खर्च गरेर संगीत खरिद गर्नु पर्ने हुन्छ कि त कम्प्युटरमा आइट्युन्स प्रोग्राम डाउनलोड गर्नु पर्ने हुन्छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरमा स्वीकृति प्राप्त भएको भुक्तानी विधि नभएको कारणले पहिलो विकल्प अधिकांस नेपाली आइफोन प्रयोगकर्ताले प्रयोग गर्न पाउदैनन । यसर्थ आइफोनको “म्युजिक” एपमा संगीत देखिने बनाउनका लागि कम्प्युटरबाट आइट्युन्स कै प्रयोग गरेर संगीत हाल्नु पर्ने हुन्छ - यस सफ्टवेयर बिना आइफोन वा कुनै पनि एप्पलका iOS भएको उपकरणमा संगीत हाल्नु मिल्दैन । यसमाथि एउटा कम्प्युटरको आइट्युन्सबाट हालेको संगीत अर्को कम्प्युटरको आइट्युन्सबाट संगीत हाल्ने बेलामा डिलिट गर्नु पर्ने हुन्छ ।

सेयरइट, सेन्डर जस्ता एपहरूबाट पठाएको र अन्य कुनै एप प्रयोग गरेर डाउनलोड गरेको एपहरू एप्पलको आधिकारिक म्युजिक एपमा देखा पर्दैनन् ।  त्यसरी डाउनलोड गरेको संगीतहरू जुन एपबाट डाउनलोड गरेको हो त्यहि एपबाट प्रयोग गर्नु पर्ने हुन्छ ।

२. सिमित स्टोरेज

एप्पलले रिलिज गरेको कुनै पनि आइफोनमा मेमोरी कार्ड लाग्दैन । सबैभन्दा सस्तो आइफोन मोडलमा भने निकै कम स्टोरेज हुने गर्दछ - आजको समयमा ३२ जीबी स्टोरेज फुल निकै चाडो हुन्छ । अझ पुरानो आइफोन मोडलहरूमा त केवल १६ जीबी मात्र स्टोरेज छ  जसले गर्दा प्रयोगकर्ताले बारम्बार आइफोनको सिमित स्टोरेजसंग जुध्नु पर्ने हुन्छ । गुगल फोटोजले अनलिमिटेड तस्विरहरू नि:शुल्क  अपलोड मिल्ने सुविधा प्रदान  गर्दै आएपनि एप्पलले जम्मा ५ जीबीको आइक्लाउड स्टोरेज प्रदान गर्छ - जुन निकै कम हो । नयाँ अपडेट आएको समयमा त आइफोन प्रयोगकर्ताले आफ्नो आइफोनको आधा स्टोरेजलाई खालि पार्नु पर्ने हुन्छ ।

यदि तपाईं पनि आइफोनको कम स्टोरेजबाट दिक्क हुनुभएको छ भने आइफोनमा स्टोरेज बचत गर्ने उपायहरू यहाँ दिईएको छ : आइफोनमा स्टोरेज बचत गर्ने तरिका

३. आइकन र लन्चर परिवर्तन गर्न नमिल्ने

आइफोन वा कुनै पनि iOS भएको ग्याजेटमा आइकन र लन्चर फेर्नु मिल्दैन - जुन चाहिँ हरेक एन्ड्रोइड स्मार्टफोनमा मिल्ने गर्छ । आइफोन आउने आइकन र युजर इन्टरफेस जस्तो छ त्यस्तैमा चित्त बुझाउनु पर्ने हुन्छ । न त आफूलाई काम नलाग्ने आइकन नै लुकाउन न त आइकनलाई मन लागेको ठाउँमा लगेर राख्नु नै मिल्छ ।

४. ब्याकग्राउण्डमा डाउनलोड गर्न नमिल्ने  


आइफोनले एप स्टोर बाहेकका ठाउँबाट ब्याकग्राउण्ड डाउनलोड सपोर्ट गर्दैन । एप वा गेमलाई मिनिमाइज गर्ने बित्तिकै उक्त डाउनलोड स्वत: रूपमा डाउनलोड बन्द हुन्छ र यस फिचरलाई हटाउन पनि मिल्दैन । यसर्थ तपाईंले पब्जीमा आएको नयाँ म्याप डाउनलोड गर्नु पर्यो भने पब्जी बन्द नगरी डाउनलोड भएको हेरेर बस्नु पर्ने हुन्छ ।

५. सिस्टम वाइड फाइल म्यानेजरको कमी

एप्पलले iOS ११ मा आइफोन र आइप्याडका लागि पहिलो पटक फाइल म्यानेजर सफ्टवेयर रिलिज गरेको थियो तर त्यो फाइल म्यानेजर म्यानेज अर्थात् मिलाउने एपभन्दा पनि फाइल भ्युयर अर्थात् फाइल हेर्ने एपको रूपमा बढी काम गर्छ । उक्त फाइल म्यानेजरले केवल प्रयोगकर्ताको आइक्लाउडमा भएको फाइलहरूलाई मात्र देखाऊछ । यस एपबाट प्रयोगकर्ताको आइफोन मै भएको संगीत वा अन्य फाइलहरू हेर्न र मिलाउन पनि मिल्दैन । एउटा साधारण फाइल म्यानेजरले गर्नु पर्ने काम गर्नका लागि पनि एप स्टोरबाट छुट्टै एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

६. इन्कमिंग कलले पुरै स्क्रिन नै कब्जा गर्ने

प्रयोगकर्ताले गेम खेल्दै होस् या भिडियो हेर्दै - कुनै पनि प्रकारको कल आउछ भने आइफोनमा उक्त कलले सम्पूर्ण स्क्रिन नै कब्जा गर्दिन्छ । कल नउठाउदा वा नकाट्दासम्म उक्त स्क्रिन त्यसरी नै सक्रिय नै भइरहेको हुन्छ । साधारण प्रयोगका लागि त यो कुरा खासै झन्झटिलो होइन तर पब्जी, फर्टनाइट आदि जस्ता अनलाइन गेम खेल्दा यो कारणले गेम नै हार्नु पर्ने वातावरण थुप्रै पटक सिर्जना भएको छ ।

एन्ड्रोइडमा चाहिँ गेम खेल्दा वा अन्य कुनै एप चलाएको बेलामा कल आयो भने सो कलले माथि पट्टिको सानो भाग मात्र लिने गर्दछ जहाँबाट प्रयोगकर्ताले कल उठाउन, काट्न वा सिधै इग्नोर गर्न सक्नेछन् - जुन आइफोनमा अझै पनि सम्भव छैन ।


७. एउटा आइफोनबाट अर्को आइफोनमा एप्सहरू पठाउन नमिल्ने

एन्ड्रोइड स्मार्टफोनमा सेयरइट, सेन्डर आदि जस्ता एपको प्रयोग गरेर एक स्मार्टफोनबाट अर्को स्मार्टफोनमा एप र गेमहरू पठाउन मिल्छ । यसरी पठाएको एपहरु अर्को प्रयोगकर्ताले बिना इन्टरनेट नै इन्स्टल गरेर प्रयोग गर्न सक्छन् ।

तर आइफोनमा प्रयोगकर्ताले एपहरू एप स्टोरबाट मात्र डाउनलोड गर्नु पर्ने हुन्छ भने इन्स्टल भएका एपहरू कुनै पनि माध्यमको प्रयोग गरेर एक आइफोनबाट अर्कोमा पठाउन मिल्दैन । यसर्थ इन्टरनेट बिना आइफोनमा एपहरू एन्ड्रोइडमा जस्तै सजिलै इन्स्टल गर्न मिल्दैन ।

८. एउटा मात्र एप प्रयोगमा सिमित हुनु पर्ने

नयाँ आइफोनहरूको डिस्प्ले साइज बढ्दै गएपनि एप्पलले आइफोनमा एकैपटकमा दुईवा सोभन्दा बढी एपहरू प्रयोग गर्न मिल्ने फिचर चाहिँ अझै ल्याएको छैन । प्रयोगकर्ताले ठूलो स्क्रिनमा पनि एउटा मात्र एप चलाउन सक्नेछन् । पिक्चर इन पिक्चर अर्थात् अन्य एपहरू चलाउदै भिडियो हेर्न मिल्ने फिचर पनि आइफोनमा उपलब्ध छैन । यस्ता फिचरहरू आधा दशक अगाडी नै सामसंगका स्मार्टफोनहरूमा उपलब्ध थिए ।

९. मोबाइल डेटामा एप स्टोरबाट २०० एमबी भन्दा बढी साइजको एप वा गेम डाउनलोड गर्न नमिल्ने

जति सुकै फास्ट वा अनलिमिटेड मोबाइल डेटा भएपनि आइफोनमा एप स्टोरबाट २०० एमबीभन्दा ठूलो साइजको एप वा गेम डाउनलोड गर्न मिल्दैन । उक्त साइजभन्दा धेरै साइजको एप वा गेम डाउनलोड गर्नु परेमा प्रयोगकर्ताले आइफोनलाई वाइफाई मै जडान गर्नु पर्ने हुन्छ । आफ्नो व्यक्तिगत वाइफाई नभएका र मोबाइल डेटाबाट मात्र आइफोन प्रयोग गर्ने प्रयोगकर्ताका लागि यो फिचर निकै नै झन्झटिलो कुरा हो ।

१०. अपडेट पछि स्लो हुने

एप्पलले आफ्नो आइफोनहरुलाई अपडेटसँगै स्लो बनाउने खुलेको छ । यहि विषयमा एप्पल माथि ठूलो जरिवाना पनि लागेको थियो | एप्पलले अझै पनि आफ्ना नयाँ मोडलहरूलाई सफ्टवेयर अपडेट मार्फत स्लो बनाउँदै आएको खुलेको छ । हालै आइफोन टेन एस, टेन एस म्याक्स र आइफोन टेन आर पनि iOS 13 अपडेट पछि स्लो भएको गुनासो प्रयोगकर्ताले गरेका छन् ।

यसमा तपाईको मत