ग्याजेट विशेष

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

  नागरिक   2020-01-19

मन परेको आइफोन खरिद गर्नुभयो तर उक्त आइफोनमा १६ जिबी कि ३२ जिबी इन्टरनल स्टोरेज मात्र छ । अलि बढी स्टोरेज भएको आइफोनलाई थोरै स्टोरेज भएको मोडललाई भन्दा २० हजार रुपैयाँ बढी पर्छ । अनि आइफोनमा एन्ड्रोइडमा जस्तो मेमोरी कार्ड पनि लाग्दैन । त्यसमाथि १६ जिबी भनेर किनेको स्मार्टफोनमा प्रयोगका लागि चाहिँ १२ जिबी मात्र हुन्छ । सस्तो भनेकै आइफोन आफैंमा महँगो हुन्छ र अझै धेरै स्टोरेज भएको खरिद गर्न खोज्दा मूल्य झन् चर्को हुँदै जान्छ । सबै प्रयोगकर्तालाई धेरै स्टोरेज चाहिन्छ भन्ने त हुँदैन तर कुनै न कुनै बेला त्यो १२ जिबी स्टोरेज भरिने चाहिँ निश्चित छ । अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्पः

१. अनावश्यक एप अनइन्स्टल वा अफलोड :


प्रयोगमा नआउने एप डिलिट वा अफलोड गर्नु नै स्टोरेज बचाउने सबैभन्दा ठूलो उपाय हो । हामीले इन्स्टल गरेका अधिकांश एप प्रयोग गर्दैनौं । पछि काम लाग्ने हो कि भन्दै डिलिट नगरी बस्छौं, जसले आइफोनको अधिकांश स्टोरेज लिएर बसिरहन्छ । त्यसैले धेरै प्रयोगमा नआउने एपलाई डिलिट कि त अफलोड गर्नु उचित हुन्छ ।

एप डिलिट गरेपछि उक्त एपको सबै डेटा डिलिट भएर जान्छ । तपाईंलाई उक्त एपको डेटा आवश्यक छ र पछि फेरि काम लाग्न सक्छ भने एपलाई डिलिटको सट्टा अफलोड गर्नु उचित हुन्छ । अफलोड भएको एपले निकै कम (एक एमबीभन्दा पनि कम) स्टोरेज लिएर बस्छ र पछि पुनः इन्स्टल गर्दा जस्ताको तस्तै हुन्छ ।

नयाँ आइओएस (iOS) संस्करणमा सिस्टम कै एपलाई पनि डिलिट गर्न मिल्छ । कहिल्यै प्रयोगमा नआएका सिस्टम एपलाई डिलिट गरेर महत्त्वपूर्ण स्टोरेज बचाउन सकिन्छ । आवश्यक परेको अवस्थामा ती एपलाई फेरि एप स्टोरबाट डाउनलोड गर्न मिल्छ ।

उदाहरणका लागि, एप्पलको स्टकस्, वाच, पोडक्यास्ट एप आदि । यी एप सम्बन्धित केही व्यक्तिबाहेक अन्य साधारण प्रयोगकर्तालाई कामै लाग्दैन । त्यसैले डिलिट गर्नु राम्रो हुन्छ । उस्ताउस्तै काम गर्ने कुनै अर्को एप प्रयोग गर्दै हुनुहुन्छ भने पनि सिस्टम एप डिलिट गर्नु राम्रो हुन्छ । जस्तै : गुगल म्याप्स प्रयोगकर्ताले एप्पल म्याप्स डिलिट गर्दिए पनि हुन्छ ।


 
२. एपको सट्टा वेबसाइट प्रयोग:


सफारीले जुन सुकै वेबसाइटलाई पनि होमस्क्रिनमा पिन गर्न दिन्छ । यसरी पिन गरेको वेबसाइटको आइकन होम स्क्रिनमा एप जस्तै गरेर बस्छ । तपाईंले प्रयोग गर्ने कतिपय एपको पनि निकै राम्रो मोबाइल वेबपेज छ भने स्टोरेज बचाउन एपको सट्टा वेबसाइट नै प्रयोग गर्नु उचित हुन्छ ।

उदाहरणका लागि : सफारीमा कुनै पनि वेबसाइटमा गएर तल्लोपट्टि बीचमा हुने सेयर आइकन थिचेर एड टु होम स्क्रिन (Add to home screen) अप्सनमा क्लिक गरेर उक्त वेबसाइटलाई होम स्क्रिनमा पिन गर्न सकिन्छ र त्यही पिन भएको आइकनबाट सिधै वेबसाइट खोल्न सकिन्छ । ट्विटर, फेसबुक आदिका निकै राम्रा मोबाइल पेजहरु छन् ।

३. क्लाउड प्रयोग:


आफ्नो फोटो र अन्य डकुमेन्टलाई क्लाउडमा ब्याकअप गर्ने बानी बसाल्नुहोस् । ब्याकअप गरेको फोटोहरु आफ्नो आइफोनबाट डिलिट गरेपछि निकै धेरै स्टोरेज बचत हुन्छ ।
एप्पलले आइक्लाउडमा केबल ५ जिबी स्टोरेज दिन्छ । गुगल फोटोजको प्रयोगबाट तपाईंले आफूले चाहे जति फोटो क्लाउडमा निःशुल्क अपलोड गर्न सक्नुहुन्छ । एप स्टोरबाट गुगल फोटोज डाउनलोड गरेर फोटो र भिडियोलाई क्लाउडमा ब्याक अप गर्नुहोस् । यसका लागि वनड्राइभ, ड्रपबक्स, मेगा आदि जस्ता क्लाउड स्टोरेज सेवा प्रयोग पनि गर्न सकिन्छ ।

४. कम्प्रेस्ड गीतको प्रयोग:


गीतहरुले धेरै नै स्टोरेज लिने गर्छन् । धेरै गीत सुन्न रुचाउनेहरुले ५ जिबी मात्र गीत आइफोन र आफ्नो स्मार्टफोनमा राख्नु सामान्य हो । आइफोनमा आइट्युन्स (iTunes) बाट हाल्ने गीतहरुलाई कम्प्रेस गरेर र कम गुणस्तरमा झारेर गीतको फाइल साइज घटाउन सकिन्छ । ३२० केबिपिएसका गीतको फाइल साइज धेरै हुन्छ भने १२८ केबिपिएसको थोरै हुन्छ । आइट्युन्स प्रयोग गरेर गीत आइफोनमा हाल्ने बेलामा कन्भर्ट हाइयर बिट रेट संग्स टु (Convert higher bitrate songs to ) भन्ने विकल्पमा क्लिक गर्नुहोस् र १२८ केबिपिएसमा क्लिक गर्नुहोस् र सिंक (Sync) गर्नुहोस् । यसले दुई गुणासम्म धेरै गीत तपाईंको आइफोनमा राख्न सहयोग पुर्याउँछ ।

५. एप पुनः इन्स्टल :


इन्स्टल भइसकेका एपहरुले आन्तरिक स्टोरेजमा क्यास् (Cache) र डेटा राख्ने गर्छन् । कुनैकुनै एपको यस्तो  क्यास् र डेटाको साइज स्वयं एपभन्दा ठूलो हुन सक्छ । अधिकतम् डेटा र क्यास् राख्ने एपमा फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, टिकटक पनि पर्छन् । आइफोनको सेटिङ (Settings) को General को आइफोन स्टोरेज (iPhone Storage) मा गएर कुन एपले कति डेटा र क्यास् राखेको छ हेर्न सकिन्छ । क्यास् र डेटा धेरै हुने एपलाई पुनः इन्स्टल गर्दा राम्रो हुन्छ ।

६. क्यामरा र फोटो प्रयोग


●    रिसेन्टली डिलेटेड फोटोज (Recently Deleted Photos) बाट पनि फोटो डिलिट गर्नुहोस्


●    सेटिङको Camera मा गएर किप नर्मल फोटोज (Keep Normal Photos) लाई अफ गरिदिनुहोस्

 


●    कम रेजोलुसनमा फोटो र भिडियो खिच्नुहोस् ।

 

यसमा तपाईको मत