ग्याजेट विशेष

नेपालमा आइफोन–१३ का मोडलहरुका प्रि–बुकिङ सुरु

  नागरिक   2021-10-20

आइफोन–१३ का मोडलहरुको प्रि–बुकिङ नेपालमा यही अक्टोबर १३ देखि खुलेको छ। बजारमा आइफोन–१३ का मोडलहरुका प्रि–बुकिङ सुरु भएको एप्पलको नेपालका लागि आधिकारिक वितरक इभोलुसन ट्रेडिङले जानकारी दिएको छ।

ट्रेडिङका अनुसार नेपालमा आइफोन–१३ का नौ वटा मोडलहरु भित्रिएका छन्। जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको आइफोन–१३, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ मिनी, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो, साथै १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो म्याक्स छ।

यी नयाँ आइफोन–१३ का मोडलको मूल्यपनि तोकिसकेको छ। १२८ जिबीको आइफोन–१३ को मूल्य एक लाख ३७ हजार ९ सय रुपैँया छ। २५६ जिबीको आइफोन–१३ को मूल्य एक लाख ५४ हजार ९ सय रुपैँया र ५१२ जिबीको आइफोन–१३ को मूल्य एक लाख ८९ हजार ९ सय रुपैँया छ।

यसैगरी १२८ जिबीको आइफोन–१३ मिनीको मूल्य एक लाख २० हजार ९ सय रुपैँया र २५६ जिबीको मोडलको मूल्य एक लाख ३७ हजार ९ सय रुपैँया छ।

प्रिमियम मोडलमा पर्ने आइफोन–१३ प्रोको १२८ जिबी भएको मोडलको मूल्य एक लाख ७४ हजार ९ सय रुपैँया र २५६ जिबी भएको मोडलको मूल्य भने एक लाख ८९ हजार ९ सय रुपैँया छ।

साथै १२८ जिबीको आइफोन–१३ प्रो म्याक्सको मूल्यपनि एक लाख ८९ हजार ९ सय रुपैयाँ छ। २५६ जिबी भएको आइफोन–१३ प्रो म्याक्सको मूल्य भने सबैभन्दा महँगो छ, जसमा यो मोडलको मूल्य दुई लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने इभोलुसन ट्रेडिङले बताएको छ।

उपभोक्ताले यसको प्रि–बुकिङका लागि इभोलुसन ट्रेडिङको आधिकारिक वेबसाइट इभोस्टोरमा गइ अर्डर गर्न सक्छन्। यससँगै इभोलुसन ट्रेडिङको आइफोन–१३ का अन्य थुप्रै जिबी भएका मोडलहरु चाडैँ नेपालमा ल्याउने बताएको छ।

यसमा तपाईको मत