ग्याजेट विशेष

“आइफोन ११ प्रो ले निकाल्ने विकिरण सुरक्षित सिमाभन्दा दोब्बर बढी”

  नागरिक   2020-02-14

पेनम्ब्रा ब्रान्ड्सले गरेको एक परिक्षणमा आइफोन ११ प्रो ले निकाल्ने रेडियसन (विकिरण) अमेरिकी संघीय संचार आयोगले तोकेको सिमाभन्दा दोब्बर बढी रहेको भेटिएको छ । संघीय संचार आयोगले विकिरण मापनका लागि सारको ( SAR, Specific Absorption Rate ) प्रयोग गर्दै आएको छ  ।

अमेरिकी संघीय संचार आयोग एफ सी सीका अनुसार स्मार्टफोनको सुरक्षित सार मान  १.६ वाट प्रति किलोग्राम रहेको छ । पेनम्ब्रा ब्रान्ड्सले गरेको परिक्षणबाट आइफोन ११ प्रोको सार मान ३.८ वाट प्रति किलोग्राम भएको भेटिएको छ  - एफ सी सीले तोके भन्दा दुई गुणा धेरै । जीएसएमअरेना को वेबसाइटमा आइफोन ११ प्रो को सार १.१८ वाट प्रति किलोग्राम रहेको बताईएको छ ।

गत वर्ष जर्मनको एक रेडियसन सुरक्षा विभागले सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनको सूची सार्वजनिक गरेको थियो ।  उक्त सूचीमा पहिलो स्थान सायोमी मि ए १ परेको थियो, जसको सार अंक केवल १.७५ वाट प्रति किलोग्राम रहेको थियो । यसर्थ आइफोन ११ प्रो को सार अंक उक्त स्मार्टफोनकोभन्दा पनि दोब्बर रहेको छ ।

गत वर्ष प्रकाशित सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनहरूको सूची पढ्न यो लिंकमा जानुहोस् :
यी हुन् सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनहरू

पेनम्ब्रा ब्रान्ड्सका अनुसार आइफोन लगायतका अन्य ब्रान्डका स्मार्टफोनहरूले पनि सुरक्षित सिमाभन्दा बढी विकिरण निकाल्ने गरेको छ । उक्त ब्रान्डहरूमा मोटोरोला र सामसंगका केही स्मार्टफोनहरू रहेको छ ।

गत वर्ष प्रकाशित सूचीमा देखाइए अनुसार आइफोनहरूले निकाल्ने विकिरण अन्य स्मार्टफोनको तुलनामा निकै कम नै थियो - तर आइफोन ११ प्रोले पहिलेका आइफोनहरू र अन्य स्मार्टफोनहरूभन्दा निकै धेरै विकिरण निकाल्ने गरेको पाइएको हो ।

पेनम्ब्रा ब्रान्ड्सका मुख्य अधिकारीले स्मार्टफोनको विकिरणबाट बच्नका लागि विशेष स्मार्टफोन कभरको प्रयोग गर्नु पर्ने बताएका छन् । पेनम्ब्रा ब्रान्ड्सले नै विगतका केही समयदेखि विकिरण रोक्ने स्मार्टफोन कभरहरू बिक्री गर्दै आएको छ । उक्त कभरको नाम अलारा स्मार्टफोन केस रहेको छ जसले व्यक्तिहरूलाई स्मार्टफोनको विकिरणबाट बचाउन सक्छ ।

स्रोत: IEEE

 

यसमा तपाईको मत