ग्याजेट विशेष

यी हुन् सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनहरू

  नागरिक   2019-09-09

 

हालसम्म निर्माण भएका सम्पूर्ण स्मार्टफोनले केही न केही मात्रामा रेडियसन निकाल्ने गर्छन । तर कुनै स्मार्टफोनले निकाल्ने रेडियसन अन्य स्मार्टफोनले निकाल्ने भन्दा बढी हुने गर्दछ । जर्मनको एक रेडियसन सुरक्षा विभागले गरेको एक अनुसन्धानबाट सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनको सूची सार्वजनिक गरेको छ र उक्त सूची तथ्यांक प्रकाशन गर्ने सबैभन्दा ठूलो वेबसाइट स्टाटिस्टमा प्रकाशित गरिएको छ ।

सबैभन्दा धेरै रेडियसन निकाल्ने स्मार्टफोनमा चाइनिज कम्पनी सायोमीको मि ए १ परेको छ जसले १.७५ वाट प्रति किलोग्राम रेडियसन पैदा गर्ने गर्छ । यसै गरेर दोस्रो स्थानमा चाइना कै अर्को प्रचलित स्मार्टफोन वानप्लस फाइभ टि परेको छ । यस स्मार्टफोनले पैदा गर्ने रेडियसन १.६८ वाट प्रति किलोग्राम रहेको छ । यसै गरेर सायोमी कै “सायोमी मि म्याक्स ३” ले १.५८ वाट प्रति किलोग्राम र वानप्लसको वानप्लस सिक्स टिले १.५५ वाट प्रति किलोग्राम रेडियसन पैदा गर्छन ।

एप्पलको आइफोन ७ भने नवौं स्थानमा परेको छ । उक्त आइफोनले १.३८ वाट प्रति किलोग्राम रेडियसन पैदा गर्ने गर्छ । नयाँमा रिलिज गरिएको आइफोनहरूले भने कम तुलनात्मक रुपमा कम रेडियसन पैदा गर्ने गर्छन ।

यसै गरेर माथिल्लो १६ वटा स्मार्टफोनहरूमा सामसँगको कुनै पनि स्मार्टफोन परेको छैन । यसर्थ सामसँगले निकालेका अधिकांस स्मार्टफोनहरूले निकै कम मात्रामा रेडियसन पैदा गर्ने गर्छन ।

सायोमी र वानप्लसको रेडियसन अन्य स्मार्टफोनको तुलनामा निकै बढी भए पनि उक्त रेडियसन युरोपियन यूनियनले तोकेको मापदण्डभन्दा कम नै छ । युरोपियन यूनियनमा २ वाट प्रति किलोग्रामभन्दा कम मात्रामा रेडियसन पैदा गर्ने स्मार्टफोनहरू मात्र बेच्न पाइन्छ । तर अमेरिकामा भने रेडियसनको मापदण्ड १.६ वाट प्रति किलोग्राम रहेको छ । जसले गर्दा सायोमी मि ए १ र वानप्लस फाइभ जी अमेरिकामा खरिद गर्न उपलब्ध गराइएको छैन ।

स्मार्टफोनका रेडियसनले मानव स्वास्थ्यमा कति सम्म हानि गर्छ भन्ने कुराको निष्कर्ष विज्ञहरूले पनि निकाल्न सकेका छैनन् । तर उच्च रेडियसन भएका उपकरणको वरपर बस्दा र प्रयोग गर्दा कतिपय मानिसहरूमा टाउको दुख्ने र चक्कर लाग्ने जस्ता लक्षणहरू देखा पर्ने गर्दछन् । कुनै पनि स्मार्टफोनको विस्तृत जानकारीको पेजमा गएर उक्त स्मार्टफोनले पैदा गर्ने रेडियसनको बारेमा जानकारी लिन सक्नुहुनेछ ।

स्रोत: स्टाटिस्टा

यसमा तपाईको मत