ग्याजेट विशेष

फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना

  नागरिक   2019-07-13

क्याम्ब्रिज एनालाइटिका डेटा दुरुपयोग र अन्य हालै श्रृंखलावद्ध रुपमा भएको प्रयोगकर्ताको डेटा दुरुपयोगको विषयमा अमेरिकी संघीय व्यापार आयोगले फेसबुकलाई ५ अर्ब अमेरिकी डलर बराबरको जरिवाना लगाउने भएको छ । संघीय व्यापार आयोगले लगाएको जरिवाना मध्येमा यो अहिलेसम्म कै सबैभन्दा ठूलो रकमको जरिवाना रहेको छ ।

वाल स्ट्रिट जर्नलका अनुसार एफ टि सी ( फेडेरल ट्रेड कमिसन ) अर्थात् संघीय व्यापार आयोगले यही साता बसेको बैठकबाट उक्त जरिवानाको मूल्य निर्धारण गरेको हो । उक्त निर्धारण गरेको मूल्यलाई संघीय व्यापार आयोगले न्याय विभागमा समिक्षाका लागि पठाएको छ । वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्ट प्रति फेसबुक अधिकारीहरूले कुनै प्रकारको टिप्पणी नदिए पनि उक्त रिपोर्टलाई पुष्टि गर्दै वासिंगटन पोर्ट र न्यु योर्क टाइम्सले समाचार सार्वजनिक गरेका छन् ।

गत अप्रिलमा फेसबुकले संघीय व्यापार आयोगले लगाउन सक्ने जरिवानाका लागि भनेर नै ३ अर्ब छुट्टाएर राखेको जानकारी प्रदान गरेको थियो । हालै फेसबुकलाई लगाइएको जरिवाना फेसबुकले छुट्टाएर राखेको रकमभन्दा २ अर्ब अमेरिकी डलरले बढी रहेको छ ।

संघीय व्यापार आयोगले हालसम्म लगाएको सबैभन्दा ठूलो जरिवाना भएपनि उक्त जरिवाना निकै थोरै भएको भन्दै चौतर्फी आलोचनाहरू भइरहेको छ । तीन महिना मै १५ अर्ब अमेरिकी डलर कमाउने फेसबुकलाई केवल ५ अर्ब डलरको जरिवाना निकै कम भएको भन्दै प्रचलित अमेरिकी पत्रकार वाल्ट मोस्बर्गले आलोचना गरेकाछन् । यसै गरी अमेरिकी संसद डेभिड सिसिलिनले उक्त जरिवाना फेसबुकको लागि कृस्मस उपहार सरह भएको भन्दै आलोचना गरेका छन् ।

फेसबुकलाई संघीय व्यापार आयोगले जरिवाना लगाउने समाचार आएलगतै फेसबुकको स्टक मूल्य अचम्म लाग्दो तरिकाले बढ्न सुरु गरेको छ ।

८.७ करोड फेसबुक प्रयोगकर्ताको जानकारीहरु अमेरिकाको क्याम्ब्रिज एनालिटिका नामक एक कम्पनीले अनधिकृत रूपमा प्रयोग गरेको कुरा क्याम्ब्रिज एनालिटिका कै भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिने क्रममा सार्वजनिक गरेका थिए । सो प्रयोगकर्ताको जानकारी र तथ्यांक प्रयोगकर्ताको ज्ञान र सहमति बिना नै हालको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई चुनाब जिताउनका लागि प्रयोग भएको कुरा वाइलीले खुलासा गरेका थिए ।

क्याम्ब्रिज एनालाइटिका डेटा दुरुपयोगको बारेमा बिस्तृत जानकारीका लागि यहाँ जानुहोस: फेसबुक डाटा दुरुपयोग के हो र कसरी भयो?

फेसबुकमा आफ्नो गोपनियता कायम गर्न के के गर्नुपर्छ भनेर जान्नका लागि यहाँ जानुहोस्: फेसबुकमा प्राइभेसी कायम गर्ने तरिका

स्रोत : द भर्ज , वाल स्ट्रिट जर्नल

 

यसमा तपाईको मत