ग्याजेट विशेष

फेसबुक डाटा दुरुपयोग के हो र कसरी भयो?

  नागरिक   2018-04-27

१.८ अर्ब मासिक प्रयोगकर्ता रहेको युग कै सबैभन्दा प्रचलित र प्रभावशाली सामाजिक संजाल फेसबुक माथि ठूलो गोपनीयताको प्रश्न उठेको छ। प्रयोगकर्ताले फेसबुकमा हाल्ने फोटो, साथि-भाईलाई पठाउने सन्देश, लाइक गर्ने पोस्ट, फलो गर्ने साइट र पेजहरु आदि कुराहरुको जानकारी फेसबुकले कसरी प्रयोग गरिरहेको छ भन्ने कुराको प्रश्न उठिरहेकै बेलामा फेसबुक कम्पनीकै इतिहासमा सबैभन्दा ठूलो डाटा चोरी र दुरुपयोग भएको छ।

फेसबुक कै इतिहासमा सबैभन्दा ठूलो डाटाको चोरी

८.७ करोड फेसबुक प्रयोगकर्ताको जानकारीहरु अमेरिकाको क्याम्ब्रिज एनालिटिका नामक एक कम्पनीले अनधिकृत रूपमा प्रयोग गरेको कुरा क्याम्ब्रिज एनालिटिका कै भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिने क्रममा सार्वजनिक गरेका थिए । सो प्रयोगकर्ताको जानकारी र तथ्यांक प्रयोगकर्ताको ज्ञान र सहमति बिना नै हालको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई चुनाब जिताउनका लागि प्रयोग भएको कुरा वाइलीले खुलासा गरेका छन्।

२०१४ मा क्याम्ब्रिज एनालिटिकाको प्रोफेसर अलेक्जेन्डर कोगनले “दिस इज योर डिजिटल लाइफ” नामक फेसबुक एप रिलिज गरेका थिए। यस एपबाट आफ्नो व्यक्तित्व कस्तो छ भनेर पत्ता लगाउने “पर्सोनालिटि टेस्ट” २,७०,००० फेसबुक प्रयोगकर्ताले लिएका थिए र यही एपबाट डाटा चोरी सुरु भएको थियो तर  डाटाको चोरी यहि एपको प्रयोगकर्तामा मात्र सिमित रहेन। फेसबुकको एपीआईमा भएको त्रुटीले गर्दा सो एपको प्रयोगकर्ताको मात्र नभएर एपले प्रयोगकर्ताको फेसबुक फ्रेन्डको पनि जानकारी चोरी गर्यो । यसर्थ, सो एप प्रयोग नै नगरेको व्यक्तिको पनि जानकारी उक्त एपले चोरी गर्न सफल भयो।

उक्त चोरी अमेरिकामा मात्र सिमित थिएन भन्ने कुरा विभिन्न समाचारमा आउन थाल्यो।  क्याम्ब्रिज एनालिटिकाको अमेरिकाको चुनावमा मात्र नभएर ब्रेक्सिटमा पनि हात भएको सन्देह गार्डियनले उब्जाएको छ। यस चोरीमा अमेरिकी नागरिकको जानकारी संगसंगै फिलिपिन्स, इन्डोनेसिया, बेलायत, अस्ट्रेलिया, भियतनाम आदि थुप्रै देशको पनि धेरै मात्रामा जानकारी चोरी र दुरुपयोग भएको छ।

यसरी चोरी गरिएको जानकारीलाई राम्रोसंग अध्ययन गरेर विज्ञापनहरु र अभियानहरु निर्माण गरियो। कुन व्यक्तिलाई कस्तो विज्ञापनले असर गर्छ, कुन व्यक्तिको राजनैतिक पृष्ठभूमि कस्तो छ र कुन व्यक्तिलाई कस्तो समाचार देखाउदा प्रभावकारी हुन्छ आदि जस्ता विभिन्न कुराहरुको निष्कर्ष सो  डाटा चोरीबाट क्याम्ब्रिज एनालिटिकाले निकालेको थियो। यसबाट विशेष बिज्ञापनहरु विशेष व्यक्तिको समूहलाई मात्र देखाउन थालियो – जसमा कयौं गलत समाचार र सूचनाहरु समावेश गरिएको थियो ।

फेसबुकको प्रतिक्रिया

यस घटनाको समाचार प्रकाशन भएको कयौ दिनसम्म फेसबुकबाट यस विषयमा केहि टिप्पणी आएन बरु उल्टै सो जानकारी लिक र चोरी भएको कुरा सत्य होइन भन्ने कुराको अडान फेसबुकले देखाउदै थियो । विश्वभर यस विषयमा छलफल भयो र “डिलिट फेसबुक” नामक अभियान चल्यो । घटनाको समाचार प्रकाशन भएको पाचौं दिनमा मात्र फेसबुकका संस्थापक मार्क जकरवर्गले यस विषयमा टिप्पणी दिए ।

गत मार्च २१ मा मार्क जकरवर्गले यस विषयमा माफी मागे र सीएनएन संगको अन्तर्वार्तामा आगामीका दिनहरुमा यस्तो कार्य हुन नदिने प्रतिवद्धता जनाए । मार्च २५ मा अमेरिका र बेलायतका थुप्रै पत्रिकाहरुमा फेसबुकको माफीको विज्ञापन छापिएको थियो जसमा उक्त चोरी अति अनैतिक कार्य भएको र प्रयोगकर्ताको गोपनीयताको सुरक्षाको लागि फेसबुकले थुप्रै नयाँ कार्यहरु चाल्ने कुराहरु उल्लेख गरिएको थियो। यस पश्चात अप्रिल १० र ११ मा मार्क जुकरवर्गले अमेरिकी सभाको अगाडी बयान दिनु परको थियो।

यस लगतै फेसबुकले एपहरु एकै पटकमा हटाउन मिल्ने टूल रिलिज गर्यो। यसबाट तपाईले प्रयोग नगर्ने एपहरुलाई एकै पटकमा डिलिट गर्दिन सक्नुहुनेछ। यस लगायत फेसबुकले तेस्रो पक्षिय डाटाबाट बनाइने लक्षित विज्ञापनलाई पनि ठप्प पार्ने निर्णय लिएको छ। डाटा चोरीले असर पारेको प्रयोगकर्ताहरुलाई यसको बारेमा फेसबुकले जानकारी दिएको छ । 

विश्वको प्रतिक्रिया

यस चोरीको समाचारले विश्वब्यापी ख्याती पाए पछि विभिन्न व्यक्ति र निकायहरुले विभिन्न प्रतिक्रिया देखाए। बेलायतले क्याम्ब्रिज एनालिटिकाको सर्भर माथि चेक जांच गर्ने वारन्ट निकाल्यो  फेसबुकमाथि एकै सातामा चार वटा मुद्दा दर्ता गरियो जुन फेसबुककै सेयरहोल्डर र प्रयोगकर्ताले गरेका थिए। संघीय व्यापार आयोगले पनि फेसबुकको यस चोरीको बारेमा छानविन गर्यो। फेसबुकले २०१४ मा १६ अर्ब अमेरिकी डलरमा खरिद गरेको प्रचलित च्याट एप व्हाट्सएप (Whatsapp) को सहसंस्थापकले फेसबुक डिलिट गर्ने समय आएको भनेर ट्वीट गरेका थिए ।  टेस्ला र स्पेस एक्स कम्पनीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत रहेका एलन मस्कले पनि आफ्नो कम्पनीको दुवै फेसबुक अकाउन्ट डिलिट गरे ।  यसरी नै प्लेबोय पत्रिकाले पनि आफ्नो फेसबुक अकाउन्ट डिलिट गर्यो ।  यहि सिलसिलामा फेसबुकको लगभग ५० अर्व अमेरिकी डलर सेयर पनि घटेर आयो।

तपाई यस चोरीबाट प्रभावित भएको वा नभएको कुरा कसरी थाह पाउने

तपाईको जानकारी क्याम्ब्रिज एनालिटिकाले चोरेको भए तपाईले फेसबुकबाट यस सम्बन्धि सूचना पाईसक्नु भएको होला। यदि तपाईले अहिले सम्म त्यस्तो केहि सूचना पाउनु भएको छैन भने तपाईको जानकारी चोरी भएको छैन । यहि कुरा तपाई आफैले पनि जांच गर्न सक्नुहुन्छ, यसका लागि यो लिंक मा गएर आफ्नो बारेमा जानकारी चोरी भएको छ कि छैन थाह पाउन सक्नुहुन्छ।

 

यसमा तपाईको मत