घर निर्माण विशेष

भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउने?

  नागरिक   2018-04-09

कहाँ र कहिले आउछ भन्ने कुराको कसैलाई जानकारी नहुने भूकम्पको विनाशकारी झट्काबाट हामी सधै असहाय छौ।हरेक बर्ष औसतमा १,५००+ वटा ५.५ म्याग्निट्युड भन्दा बढीको भूकम्प विश्वको विभिन्न स्थानमा आइरहेको हुन्छ र हरेक पटक आएको भूकम्पले भौतिक र मानवीय क्षति गरेर छोडेको छ। हामीलाई यो कुराको स्मरण २०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पले गराउछ। नेपाल एक भूकम्पको उच्च जोखिममा रहेको देश हो। केही दशकको अन्तरमा यहाँ पनि ठूला ठूला भूकम्प आएका छन् जसले गर्दा ठूलो मानवीय क्षति र भौतिक क्षति भएको छ ।

२०७२ सालमा गएको भूकम्पमा हजारौ मानिसहरुले कमजोर र मापदण्ड पूरा नगरी बनाईएको घरको चपेटामा परेर ज्यान गुमाउनु परेको थियो। भूकम्पले पार्ने क्षति शून्य गर्न मानिसका लागि असम्म्भव कुरा हो तर विभिन्न संरचना र घर निर्माणको क्रममा होसियारी पुर्याउनाले भूकम्पले हुने क्षतिलाई धेरै हदसम्म कम गर्न भने सकिन्छ। त्यसैले भविष्यमा आउन सक्ने भूकम्पको मानवीय क्षति न्यूनीकरण गर्नका लागि सबैले घर भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक छ।

 

के हो भूकम्प प्रतिरोधात्मक घर?

भूकम्प प्रतिरोधी घर भन्नाले केही हदसम्मको भूकम्पको झट्कालाई सहन सक्ने क्षमता भएको घरलाई बुझिन्छ। भूकम्प प्रतिरोधी घर भूकम्प आएको समयमा पनि धेरै समय सम्म नढली अडिन सक्छ। यसले गर्दा सो घर भित्रका मानिसहरुको ज्यान बाच्न सक्छ ।

“ भूकम्पले ज्यान लिदैन।​​ ज्यान त कमजोर गरी बनाएका घरहरुले लिन्छ” 

तपाईको घर भूकम्प प्रतिरोधी छ या छैन?

घरलाई भूकम्प प्रतिरोधी बनाउनका लागि घर निर्माण क्रममा नै विभिन्न कुराहरु ध्यानमा राखेर बनाइएको हुनुपर्छ। यदि तपाई नयाँ घर बनाउदै हुनुहुन्छ भने सो घर भूकम्प प्रतिरोधी बनाउनुको अर्को कुनै विकल्प नै छैन । पुराना घर र भूकम्प प्रतिरोधी नभएका घरहरु पनि सही मर्मत र पुनर्निर्माण बाट भूकम्प प्रतिरोधी बनाउन सकिन्छ। भूकम्प प्रतिरोधी घर बनाउनका लागि निम्न कुराहरु ख्याल गर्नुपर्छ:


१. स्थान छनौट

घर बन्ने स्थान र सतहले घरको भूकम्प प्रतिरोधी क्षमतालाई असर गरिरहेको हुन्छ। त्यसैले घर बनाउनु अगाडी नै राम्रो स्थान छनौट गरी त्येहि घर बनाउनु अति उचित हुन्छ। घर बनाउनको लागि सकेसम्म समतल भएको, कडा चट्टान भएको, नदीबाट टाढा र दलदल नभएको स्थान नै छनौट गर्नुपर्छ। भिरालो, पाङ्गो, कालो माटो भएको, ढुंगा खस्ने, ठूला ठूला खाल्डा भएको ठाउँहरुमा घर बनाउनु राम्रो होइन। सकेसम्म त चौडा बाटो भएको र खुला चौर नजिकैको स्थानमा घर बनाउनु राम्रो हुन्छ।

२. घरको आकार

भूकम्प प्रतिरोधात्मक घर बनाउदा घरको बनोटको र आकारको विशेष ख्याल गर्नु पर्छ। घरको आकार सकेसम्म वर्गाकार, आयातकार र गोलाकार हुनुपर्छ भने अनियमित आकारहरुको घर चाहिँ बनाउनु हुदैन। वर्गाकार, आयातकार र गोलाकारहरु भूकम्पको समयमा पनि डटेर बसिरहन सक्छ। यसका साथ साथै घरको लम्बाइ र उचाइ, घरको चौडाइको ३ गुणाभन्दा बढी हुनुहुदैन भने कोठाको अधिकतम् लम्बाइ १५ फिटभन्दा बढी हुनु हुदैन। यी कुराहरु घर बनाउनु अगाडी नै निर्धारित गरेर मात्र घर बनाउन तर्फ लाग्नुपर्छ।

३. जग र डि.पि.सि. लेभल

जग नै बलियो नभए घर बलियो हुदैन। जगको साइज र गहिराइ चाहिँ घर कति अग्लो बनाउने त्यसमा भर पर्छ। घरको सम्पूर्ण जगहरु एकै लेभलमा राख्नुपर्छ र सबै पिलरहरुका जगमा हात्तिपाइले ढलान गर्नु पर्छ । हात्तिपाइलेको जाली घरको पिलर र बिममा कम्तिमा १२ मिमि को छड  र रिंगको लागि कम्तिमा ५ मिमिको छड प्रयोग गर्नुपर्छ।  डि.पि.सि. लेभल भने पुरानो जमिनको सतहभन्दा कम्तिमा १.५ फिट माथि हुनुपर्छ र कम्तिमा ९ इन्च x १२ इन्च साइजका टाइ विम बिम राख्नुपर्छ। घरको सम्पूर्ण पिलरहरुलाई यो लेभलमा आर.सी.सी. ढलान टाइ बिमले जोड्नुपर्छ।

४. पिलर तथा बिम

पिलर र बिमहरुमा नै घर पूरै अडिएको हुन्छ। पिलर कमजोर भएका घरहरु भूकम्प आउदा सजिलै ढल्छ। पिलरहरुको दूरीको आधारमा पिलरको साइज निर्धारण हुने भएपनि, सो पिलर १२ x १२ इन्चको भन्दा सानो हुनुहुदैन। पिलरको चौडाइ बिमको भन्दा कम्तिमा ३ इन्चले बढी हुनु पर्छ। बिममा सम्पूर्ण छडहरु पिलरभित्रबाट जानु पर्छ भने बिमका अन्त्यमा छड पिलरभित्र L आकारमा राखिनु पर्छ। पिलर वा बिमका डण्डीहरु गाँस्दा कम्तिमा छडको मोटाइको ६० गुणा खप्टिने गरी गास्नुपर्छ।

५. भित्ता, ढोका र झ्याल

घरका सम्पूर्ण भित्ताहरु इट्टाको ९ इन्च गारोले र भित्रि भित्ताहरु कम्तिमा ४ इन्च गारोले बनाउनुपर्छ। ९ इन्चकको गारोको लागि मसला १ भाग सिमेन्ट र ६ भाग बालुवा हुनुपर्छ र ४ इन्चको गारोको लागि १ भाग सिमेन्ट र ४ भाग बालुवा हुनुपर्छ।एक दिनमा ५ फिटभन्दा अग्लो गारो लगाउनु हुदैन र मसला बनाएको डेढ घण्टा सम्ममा प्रयोग गरिसक्नु पर्छ।

झ्याल र ढोकाहरु बीचको दूरी कम्तिमा पनि २ फिटको हुनुपर्छ। सकेसम्म घरका प्रत्यक तलामा ढोका र झ्यालहरु एक स्थानमा हुनुपर्छ । सबै ढोकाहरु बाहिर पट्टि खोल्न मिल्ने गरी निर्माण गर्नुपर्छ। ढोका र झ्यालहरुमा सिसाको कम प्रयोग गर्नुपर्छ र सिसाको प्रयोग भएको खण्डमा प्लास्टिक लेमिनेशन लगाउनु पर्छ ।

६. छत र स्ल्याब

छतको मोटाइ ४ इन्चभन्दा माथि नै हुनुपर्छ। ढलान गर्ने बेलामा बिम र स्ल्याब एकै पटक ढलान गर्नु पर्छ। छतमा डबल जालीका लागि ५ मिमिको डण्डी ६ इन्चको दूरीमा राख्नुपर्छ। ढलानलाई राम्रो संग खाद्नका लागि भाईब्रेटरको प्रयोग गर्न सकिन्छ। ढलान गरेको २४ घण्टा पछि कम्तिमा १४ दिन पानीले भिजाउनु पर्छ।  

७. ढलान मसला र निर्माण सामाग्री

ढलान मसलाको भाग १:१.५:३ हुनु पर्छ- अर्थात् १ भाग सिमेन्टमा, १.५ भाग बालुवा र ३ भाग गिट्टी मिसाउनु पर्छ । एक बोरा सिमेन्टको लागि २० लिटर जति पानि आवश्यक पर्छ। मसला बनाउन मिक्सर मेसिनको प्रयोग गर्नु पर्ने हुन्छ जुन मेसिनमा मसला कम्तिमा २ मिनटसम्म घोल्नु पर्ने हुन्छ।

ढलानका लागि उच्चस्तरीय सिमेन्ट र दानादार, खस्रो बालुवा, कडा खस्रो गिट्टी र खिया नलागेको बंग्याउदा नाभाचिने छडको प्रयोग गर्नुपर्छ। चिल्लो सतह भएको इट्टा प्रयोग गर्नु राम्रो हुन्छ र इट्टा राम्रोसंग पाकेको छ छैन चेक जाच गर्नुपर्छ।राम्रो इट्टा ३ फिटको उचाइबाट खसाल्दा पनि फुट्दैन। ढलानका लागि भने सफा पानीको प्रयोग गर्नुपर्छ।  

८. रेट्रोफिटिंग

रेट्रोफिटिंग भन्नाले एक यस्तो संरचना बनाउने बैज्ञानिक तरिकालाई बुझिन्छ जसले गर्दा घरका सबै अंगहरु एकआपसमा राम्रो संग मिलेको हुन्छन। रेट्रोफिटिंग घरको कुनाहरु बलियो बनाउन, पर्खाललाइ बलियो बनाउन, छत ट्रसको पर्खालहरु संग जोड्न  र पर्खालको खुला भागहरुलाई रडले घेर्न प्रयोग गरिन्छ। रेट्रोफिटिंग घरलाई भूकम्प प्रतिरोधात्मक बनाउने सबैभन्दा सस्तो र छिटो तरिका हो।

९. ब्याण्डको प्रयोग

घर संरचनामा ब्याण्ड भन्नाले कंक्रिट र रडको मोटो र बलियो प्लेटलाई बुझिन्छ। यो ब्याण्ड घरको पर्खाल र छतमा फिट गर्नाले घर बलियो हुन्छ। यो ब्याण्ड घरको पर्खाल र छतको सबै तिर एकनासले हालिन्छ। छतमा हाल्ने ब्याण्डलाई छत ब्याण्ड अर्थात् Roof Band भनिन्छ । पर्खालमा हाल्ने ब्याण्डलाई लिंटेल ब्याण्ड (Lintel Band ) भनिन्छ। घरको तल्लो भागमा हाल्ने ब्याण्डलाई प्लिन्थ ब्याण्ड (Plinth band) भनिन्छ।

यसमा तपाईको मत