भिडियो

डेल्टिन समूहको पहिलो अन्तर्राष्ट्रिय क्यासिनो काठमाडौंमा (भिडियो अन्तर्वार्ता)

  नागरिक   2020-02-12

काठमाडौँ- डेल्टिन समूह भारतको एक विशाल एवं सार्वजनिक रुपमा सूचीकृत गेमिङ्ग तथा आतिथ्य सेवा प्रदान गर्ने कम्पनी हो, जुन सन् २००८ देखि तीव्र गतिमा विस्तार हुँदै आइरहेको छ । यो समूहले पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय परियोजना डेल्टिन क्यासिनोको शुभारम्भ नक्साल, काठमाडौं स्थित होटल म्यारिएटबाट गरेको छ। जसको उद्घाटन हालसालै माघ २५ गते शनिबार गरिएको थियो । यो नयाँ परियोजना कम्पनीले एभरेष्ट हस्पिट्यालिटी एण्ड होटल प्रा.लि.सँग गरेको सम्झौताको प्रतिफल हो ।
समूहले नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्यासिनो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । भिजिट नेपाल २०२० को सन्दर्भसँगै संचालनमा आएको यो क्यासिनोले नेपालमा क्यासिनो–पर्यटनलाई अझ थप उचाईमा लैजाने विश्वास गरिएको छ । साथै पर्यटनका अन्य पक्षहरुलाई समेत ध्यानमा राखेर नेपालको अर्थतन्त्र उकास्नमा समेत यसको थप योगदान रहने जानकारी होटलद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
क्यासिनोले नेपालमा उच्चकोटीको गेमिङ्ग अनुभूति, आतिथ्यता र मनोरन्जनको स्तरमा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । क्यासिनोले हाल २५० जना स्थानीयहरुलाई रोजगारी प्रदान गरेको छ । यी कर्मचारीहरुबाट उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता स्वरुप उनीहरुलाई ६ महिनासम्म अन्तर्राष्ट्रिय सुपरिवेक्षकको निगरानीमा प्रशिक्षण प्रदान गरिएको जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यो क्यासिनो संचालनमा आउनाले विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) मा योगदान पुग्नुका साथसाथै नेपाली अर्थतन्त्रको विकास गर्न र खुला नेपाली बजारमा मनोरन्जन व्यवसायका नयाँ सम्भावनाहरुको खोजी गर्न पनि मद्दत पुगेको कम्पनीले उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत