नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष २०७८/०७९ मा ३.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। यो वृद्धिदरको प्रक्षेपण स्थिर बजार मूल्यमा धारित छ।
कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्ध फिर्ता, खोप अभियान, पर्यटन र आप्रवासी कामदारको आवागमनमा हुने सुधारले नेपाललाई सो दरमा आर्थिक वृद्धि दर हासिल गर्न सघाउने विश्व बैंकको प्रक्षेपण छ।
चालु वर्षका लागि गरिएको आर्थिक वृद्धिको प्रक्षेपण गत आर्थिक वर्ष २०७७/०७८ को १.८ प्रतिशतको तुलनामा दोब्बरभन्दा बढी भए पनि महामारी सुरु हुनुअघिका वर्षको तुलनामा कम रहेको विश्व बैंकले बिहीबार सार्वजनिक गरेको साउथ एसिया इकोनोमिक फोकस नामको प्रतिवेदनमा उल्लेख छ।
विश्वव्यापी मागमा निरन्तर सुधार आएको र लक्षित प्रतिबन्धका उपायहरूले कोभिड–१९ को पछिल्लो लहरमा आर्थिक असर कम गर्न सघाएकाले दक्षिण एसियाली अर्थतन्त्रको पुनरुत्थान निरन्तर रहेको प्रतिवेदनमा उल्लेख छ।
‘तैपनि यो पुनरुत्थान अझै कमजोर र असमान छ, र अधिकांश मुलुकहरू अझै पनि महामारीपूर्वको प्रवृत्तिस्तरभन्दा निकै पर छन्,’ विश्व बैंकको अर्धवार्षिक क्षेत्रीय अपटेडमा भनिएको छ। नेपालको पुनरुत्थान अति संवेदनशील रहेको तथा यो सामाजिक दुरी र प्रभावकारी खोप कार्यक्रमसँगै आर्थिक गतिविधिको निरन्तर र क्रमिक पुनरारम्भमा भर पर्ने उसले जनाएको छ।
नेपालको आर्थिक वृद्धिको प्रक्षेपण नेपालसँग मिल्ने आर्थिक वर्ष ९जुलाइमा सुरु भएर जुनमा सकिने० भएका सार्क मुलुक भुटान र पाकिस्तानको तुलनामा बढी हो। विश्व बैंकले भुटानको चालु आर्थिक वर्षको वृद्धिदर ३.६ र पाकिस्तानको ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
नेपाल जस्तै जुलाइमा आर्थिक वर्ष सुरु भएर जुनमा सकिने बंगलादेशको वृद्धिदर भने ६.४ प्रतिशत रहने विश्व बैंकको सिफ्टिङ गियर्स स् डिजिटाइजेसन एन्ड सर्भिसेस–लेड डेभलपमेन्ट नामको प्रतिवेदनमा उल्लेख छ। आगामी जनवरीमा सुरु भएर २०२२ को डिसेम्बरमा आर्थिक वर्ष सकिने माल्दिभ्सको प्रगति भने ११ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ। सोही अवधिलाई आर्थिक वर्ष गणना गर्ने श्रीलंकाको प्रगति भने २.१ प्रतिशत मात्र हुने प्रक्षेपण छ।
गत अप्रिलमा चालु आर्थिक वर्ष सुरु भएको भारतको वृद्धिदर भने ७.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाली अर्थतन्त्रको वृद्धिदर २०२१ र २०२२ मा औसत ७.१ प्रतिशत रहने विश्व बैंकको भनाइ छ। उसले दक्षिण एसियाको वार्षिक वृद्धिदरलाई सन् २०२० सँगको तुलनामा सशक्त भनेको छ।
सन् २०२० देखि २३ सम्मको औसत वार्षिक वृद्धिदर ३.४ प्रतिशत रहने र यो महामारी सुरु हुनअघिको चार वर्षको औसत भन्दा ३ प्रतिशत बिन्दुले कम हुने उसको भनाइ छ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जर्मोसले महामारीले मुलुकहरूलाई पुनरुत्थानको बाटो तय गर्ने अवसर प्रदान गरेको र त्यसले संकटबाट पाठ सिकेको टिप्पणी गरेका छन्।
यसमा तपाईको मत