आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । एप्पलका महँगा आइफोन देखि मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनमा पनि वायरलेस चार्जिंग उपलब्ध हुन थालेको छ ।
नाम मै भनिए अनुसार वायरलेस चार्जिंग प्रयोग गर्नका लागि स्मार्टफोन र चार्जर बीचमा तार जोड्नु पर्दैन । स्मार्टफोन वा कुनै उपकरणलाई चार्जरको माथिल्लो भागमा राखे पछि उक्त स्मार्टफोन वा उपकरण चार्ज हुन सुरु हुन्छ । यसरी चार्ज गर्नका लागि स्मार्टफोन र उपकरणमा वायरलेस चार्जिंग फिचर हुनु पर्ने हुन्छ ।
स्मार्टफोनमा वायरलेस चार्जिंगको इतिहास
वायरलेस चार्जिंगको चर्चा आजभोलि आएर बढे पनि यो कुनै नयाँ प्रविधि चाहिँ होइन । सन् २००९ मै पाल्म कम्पनीले पहिलो चि वायरलेस चार्जिंग समावेश गरेको स्मार्टफोन रिलिज गरेको थियो । त्यसपछि वायरले चार्जिंगलाई निकट तरिकाले अगाल्ने कम्पनी थियो नोकिया । नोकियाको सन् २०१२ मा रिलिज भएको लुमिया ९२० मा पनि वायरलेस चार्जिंग समावेश गरिएको थियो र त्यसपछि रिलिज भएका लगभग सम्पूर्ण मिडरेन्ज र फ्ल्याग्शिप नोकिया स्मार्टफोनहरुमा वायरलेस चार्जिंग समावेश गरिएको थियो । सामसंगको पहिलो वायरलेस चार्जिंग सपोर्ट भएको स्मार्टफोन ग्यालेक्सी एस ४ सन् २०१३ मा रिलिज भएको थियो । सन् २०१३मा गुगलले नेक्सस ७ मा वायरलेस चार्जिंग समावेश गर्यो । एप्पलले पहिलो पटक वायरलेस चार्जिंग आफ्नो एप्पल वाचमा प्रयोग गरेको थियो ।
फाइदा के ?
वायरलेस चार्जरको प्रयोग झन्झटहिन हुन्छ । सजिलै चार्ज गर्न मिल्ने र तार जोडीरहनु नपर्ने भएकाले नै वायरलेस चार्जिंग प्रयोगका लागि सजिलो हुन्छ । यसका साथै वायरलेस चार्जरहरु टिकाउ हुन्छन किन कि यी चार्जरहरुलाई प्लग र अनप्लग गरिरहनु पर्ने झमेला हुँदैन ।
बेफाइदा के ?
वायरलेस चार्जिंग तार जोडेर गरिने चार्जिंगको तुलनामा निकै स्लो हुन्छन । यससँगै साधारण चार्जरको तुलनामा पनि वायरलेस चार्जरहरु महँगा हुन्छन् । सबै स्मार्टफोनहरुले यस प्रकारको चार्जर सपोर्ट गर्दैनन् । वायरलेस चार्जर मै पनि विभिन्न किसिमको स्ट्याण्डर्डहरु हुने गर्छन् । उदारहरणका लागि चि वायरलेस चार्जरले पी एम ए वायरलेस चार्जिंग सपोर्ट गर्ने स्मार्टफोनलाई चार्ज गर्न सक्दैन ।
यसमा तपाईको मत