अटो विशेष

गाडीका लागि विन्टर टिप्स

  नागरिक   2018-04-09

जाडो मौसमको आगमनसँगै सवारी साधनमा नयाँ नयाँ जाडो सम्बन्धी समस्या आइलाग्छन्। यी समस्या हरेक सवारी धनी वा सवारी चालकको लागि टाउको दुखाइको विषय बन्न पुग्छ । कतिपय समस्या त सामान्य घर मै उपलब्ध हुने सामग्रीबाट वा साधारण बुझाइ कै आधारमा पनि समाधान गर्न सकिन्छ । केहीलाई विशेष चेकजाँचको आवश्यकता पर्छ।

यस्तै केही जाडोमा आइपर्ने समस्याको घरेलु समाधान र सुझाव तल उल्लेख गरिएको छ, जसबाट तपाईंले सवारी साधनमा आउने जाडो सम्बन्धी केही समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।​

सेभिङ क्रिमले गाडीको सिसा कुहिरो प्रुफ बनाउनुहोस्

यो सबै गाडी वाला जाडो मौसममा भोग्ने समस्या हो । जाडोमा चिसोको कारणले गाडीभित्रको हावामा भएका पानीका कणहरु जमेर सिसामा कुहिरो लागिदिने गर्छ । यो कुहिरोको कारणले सिसाको वारपार हेर्न मुस्किल पर्छ ।

गाडीको सिसामा कुहिरो लाग्न नदिन र गाडीको सिसालाई कुहिरो प्रुफ बनाउन बजारमा पाइने जुनसुकै सेभिङ क्रिमको प्रयोग गर्न सकिन्छ । सेभिङ क्रिमको र कुहिरो हटाउने डिफगरको रासायनिक बनोट एकै खालको हुने भएकाले सेभिङ क्रिमको प्रयोग गरी सिसा सफा राख्नुका साथै केही मात्रामा पैसा पनि बचाउन सक्नु हुन्छ ।

सेभिङ क्रिमलाई गाडीको सिसाको भित्रपट्टिबाट लगाई एकैछिनमा सिसाको कुहिरोबाट छुटकारा पाउन सक्नुहुन्छ र यसले फेरि केही समयका लागि  कुहिरो लाग्नबाट पनि बचाउँछ । 

 

गाडीलाई घाम लाग्ने ठाउँमा पार्क गर्नुहोस्

मान्छेलाई गाडी पार्क गर्ने सानो स्थान भेट्न पनि गाह्रो छ । तर तपाईंले जाडो मौसममा गाडी पार्क गर्ने स्थान चयन गर्नुपरेमा सधै घाम लाग्ने स्थान नै रोज्नुहोला । गाडीलाई घाम लाग्ने स्थानमा पार्क गर्नाले दिनभरिमा सिसामा फेरि कुहिरो लाग्ने डर हुँदैन ।

यसका साथै दिनभरि गाडी घाममा तातेको हुनाले बेलुका गाडीमा चढ्दा तपाईंलाई गाडी केही न्यानो भएको महसुस पनि हुन्छ । राति पनि गाडी पार्क गर्दा बिहानको घाम पर्ने ठाउँमा पार्क गर्नुहोस्। यसो गर्नाले बिहानमा तपाईंको गाडीको सिसाको कुहिरो सबै आफैं हटिसकेको हुनेछ । यसरी आफैं कुहिरो नहटेमा सेभिङ क्रिमको प्रयोगबारे माथि नै चर्चा गरिसक्यौं ।

अझ हिउँ पर्ने हिमाली इलाकामा गाडी घाम लाग्ने स्थानमा पार्क गर्नु एकदमै महत्वपूर्ण हुन्छ, नत्र गाडीको ढोका जाम हुने, सिसा सबै कुहिरो र तुसारोले ढाकिने जस्ता समस्या आइलाग्छन्। त्यसैले तपाईं पनि जाडो मौसममा, हिउँ पर्ने ठाउँ होस् या नहोस्, आफ्नो गाडी सकेसम्म घाम लाग्ने स्थानमा पार्क गर्नुहोस्।

 

हेडलाइटको कभर सिसा टुथपेस्टले सफा गर्नुहोस्

जाडो मौसममा गाडीको अगाडि र पछाडि भागको सिसामात्र कुहिरो नलागी, हेडलाइटको बाहिरी कवचमा हुने सिसामा पनि कुहिरो लाग्छ । यो लगायत हेडलाइटको सिसामा सडकको धुलो, धुवाँ आदिको दाग पनि लागिरहेको हुन्छ । यसले गर्दा हेडलाइट सोचेजस्तो चहकिलो र उज्यालो गरी बल्दैन ।

यो समस्याको सबैभन्दा सजिलो घरेलु समाधान दन्तमन्जन अर्थात् टुथपेस्ट हो। सो सिसामा राम्रोसँग सबै सिसा ढाकिने गरी टुथपेस्ट लगाएर, एक रात त्यसै छोडी अर्को दिन सफा गरेमा हेडलाइटको सिसा नयाँ जस्तै चमकदार हुन्छ।
हेडलाइटको सिसा कोतरिएर हेडलाइट मधुरो बलेको हो भने चाहिँ यो विधि फलदायक नहुन सक्छ। यस्तो भएको खण्डमा सो कवचको सिसा फेर्नुपर्ने हुन सक्छ।

 

नियमित ब्याट्रीको चेकजाँच गर्नुहोस्

जाडो मौसममा ब्याट्रीले धेरै चार्ज थाम्न सक्दैन । गर्मी मौसमको तुलनामा जाडोमा ब्याट्रीको चार्ज धेरै चाँडो सकिने गर्छ । सवारी साधन चलाउँदा चलाउँदै ब्याट्री सकिएमा तपाईं ठूलै समस्यामा पर्न सक्नुहुन्छ । अति धेर जाडो भएमा त ब्याट्रीबाट चार्ज निस्कन नसकेर गाडी नै स्टार्ट नहुने समस्यामा पर्न पनि सक्नुहुन्छ ।

त्यसैले, यात्राको बीचमा अप्ठेरो नहोस् र गाडी स्टार्ट गर्न समस्या नहोस् भनेर आफ्नो सवारी साधनको ब्याट्री बेलाबेलामा चेकजाँच गर्नुपर्छ । चेकजाँच गर्दा ब्याट्री जाडो मौसमको लागि सही नभएमा परिवर्तन गरेको राम्रो हुन्छ। जाडो मौसम मै ब्याट्री धेरै डेड हुने कारणले गर्दा नै तपाईंले पनि बेलैमा आफ्नो गाडीको ब्याट्री नियमित चेकजाँच गराउनु होस र यसबाट आइ पर्न सक्ने समस्याबाट टाढा रहनुहोस् ।

 

टायरको चेकजाचँ गर्नुहोस् र टायरले पकड राम्रोसंग नपाएमा दत्ताको प्रयोग गर्नुहोस्​

जाडो मौसममा टायरमा हावा घट्दै जान्छ । जसबाट टायरमा प्रेसर कम हुदै जान्छ । हावा र प्रेसर कम भएको टायरबाट अत्याधिक मात्रामा ताप निस्कन्छ । फलस्वरुप टायर चाँडै फाट्ने गर्छ । प्रेसर कम भएको टायरले गर्दा तेलको खपत पनि धेरै हुन्छ । यस लगायत जाडोमा टायरले सडकमा राम्रोसँग पकड पाउन सक्दैन र गाडी चिप्लने र कुनै स्थानमा फस्ने समस्या देखिन्छ । 

जाडो मौसममा टायरलाई चाँडै फाट्न नदिन, टायरको प्रयोग आयु बढाउन र तेलको खपत कम गर्न टायरमा हावाको प्रेसर ठिक हुनु आवश्यक छ । यसबाहेक टायरको सडक पकड मजबुत हुनुपर्छ र जाडोमा सवारी चलाउनुअघि अनिवार्य चेकजाँच गर्नुपर्छ ।

टायरको पकड धेरै नै कम हुनु भनेको तपाईंले  नयाँ टायर लिनुपर्छ भन्ने कुराको संकेत हो । तैपनि जाडोले गरेर तपाईंको गाडी कतै फस्यो र टायरले पकड राम्रोसँग पाएन भने तपाइले गत्ता (कार्डबोर्ड पेपर) को प्रयोग गर्न सक्नुहुन्छ र गाडी फेरि सडकमा पुर्याउनु सक्नुहुन्छ । तर तपाईंको टायर नै जीर्ण अवस्थामा छ भने बेलैमा टायर परिवर्तन गर्नु राम्रो हुन्छ।

यसमा तपाईको मत