ग्याजेट विशेष

विन्डोज ७ को अन्त्य - अझै पनि प्रयोग गर्नु जोखिमयुक्त !

    2020-01-15

माइक्रोसफ्टको सबैभन्दा धेरै मन पराइको अपरेटिंग सिस्टम विन्डोज ७ को अन्तिम दिन आएको छ । माइक्रोसफ्टले हिजोको मिति अर्थात् जनवरी १४, २०२० बाट विन्डोज ७ लाई अपडेट र सपोर्ट  प्रदान गर्न बन्द गरेको छ ।

सम २००९ मा रिलिज भएको विन्डोज ७ सर्वाधिकले मन पराएको अपरेटिंग सिस्टम हो । विन्डोज भिस्टाको फ्लप पछि विन्डोज ७ रिलिज भएको थियो । माइक्रोसफ्टले विन्डोज ७ मा भिस्टामा भएको फिचरहरू र विन्डोज एक्स पीमा भएको गुणस्तर र स्पिडलाई समावेश गरेको थियो । स्पिड, फिचर र लुक्सको सहि तालमेल मिलेको छ  विन्डोज ७ मा ।

माइक्रोसफ्टले विन्डोज ८ र ८.१ रिलिज गरेपछि पनि उक्त अपरेटिंग सिस्टमले विन्डोज ७ को सफलतालाई जित्न सकेन । माइक्रोसफ्टले सन् २०१५ मा विन्डोज १० रिलिज गरेको थियो र यो अपरेटिंग सिस्टम विन्डोज ७ र ८ का प्रयोगकर्ताहरूलाई नि:शुल्कमा डाउनलोड गर्न उपलब्ध गराइएको थियो । नि: शुल्कमा डाउनलोड गर्न पाउँदा पनि कतिपय विन्डोज ७ प्रयोगकर्ताहरूले विन्डोज १० डाउनलोड गर्न मानेनन् ।

रिलिजको लगभग ४ वर्ष पछि मात्र विन्डोज १० ले विन्डोज ७ को बजार हिस्सालाई जित्न सफल भएको थियो । अझै पनि करोडौं प्रयोगकर्ताहरूले आफ्नो कम्प्युटरमा विन्डोज ७ नै प्रयोग गर्छन । नेट मार्केट सेयरका अनुसार विन्डोज ७ को बजार हिस्सा २६ प्रतिशत रहेको छ - एप्पलको पूरा म्याक अपरेटिंग सिस्टम चल्ने कम्पुटरभन्दा पनि बढी ।

अझै पनि प्रयोग गर्नु जोखिमयुक्त!

अबबाट विन्डोज ७ ले कुनै पनि प्रकारको सेक्युरिटी अपडेट, सफ्टवेयर अपडेट र अधिकारिक प्राविधिक सपोर्ट पाउने छैन । छोटकरीमा भन्नु पर्दा विन्डोज ७ प्रयोग गरिरहनु इन्टरनेट सुरक्षाको दृष्टिकोणबाट निकै जोखिमयुक्त रहेको छ ।

अबबाट विन्डोज ७ मा जस्तो सुकै भाइरस र सेक्युरिटी त्रुटीहरू आए पनि माइक्रोसफ्टले कुनै पनि प्रकारको सपोर्ट प्रदान गर्ने छैन । यसर्थ विन्डोज ७ प्रयोग गरेर प्रयोगकर्ताहरूले आफ्नो संवेदनशील डेटालाई जोखिममा राखेका हुन्छन् ।

अझै पनि विन्डोज ७ प्रयोग गरे के हुन्छ ?

माइक्रोसफ्टले अपडेट प्रदान गर्न बन्द गर्यो भन्दैमा विन्डोज ७ चल्नै बन्द हुने होइन - विन्डोज ७ पहिले जसरी चल्थ्यो त्यसरी नै चलिरहने छ । तर अझै पनि विन्डोज ७ प्रयोग गरेमा तपाईंले निम्न प्रकारका झन्झट र साइबर सुरक्षाका कुराहरू झेल्नु पर्ने हुन्छ :

  • तपाईंले प्रयोग गरिरहेका प्रोग्रामहरूले विन्डोज ७ को लागि अपडेट पाउन छाड्नेछन
  • नयाँ उपकरणहरू चलाउनका लागि आवश्यक पर्ने ड्राइभरहरू विन्डोज ७ को लागि उपलब्ध हुने छैनन्
  • नयाँ प्रकारका भाइरस र माल्वेयरको आक्रमणबाट तपाईंको कम्प्युटर सुरक्षित हुने छैन
  • विन्डोज ७ को प्रयोगमा कुनै पनि प्रकारको समस्या समाधान गर्न माइक्रोसफ्टले सहयोग गर्ने छैन

अब के गर्ने ?

यदि तपाईंले विन्डोज ८.१ वा विन्डोज १० प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंलाई यो विषयले केही पनि फरक पार्दैन । तर तपाईं अझै पनि विन्डोज ७ नै प्रयोग गर्दै हुनुहुन्छ भने आज नै विन्डोज १० वा विन्डोज ८.१ मा अपग्रेड गर्नुहोस् ।

 

यसमा तपाईको मत