ग्याजेट विशेष

विन्डोज १० को नयाँ अपडेट - थुप्रै नयाँ फिचरहरु थपिदै

  नागरिक   2018-10-26

विन्डोज १० को रिलिज पछि माइक्रोसफ्टले हरेक ६-६ महिनामा मुख्य मुख्य अपडेटहरु प्रदान गर्न थालेको छ | यहि ६ महिने चक्रलाई पालन गर्दै यहि अक्टोबर महिनामा विन्डोज १० को “अक्टोबर अपडेट” आएको हो | यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ जसका बारेमा यो लेखमा चर्चा गरिएको छ | यो अपडेट अक्टोबर २ बाट विन्डोज १० होम र प्रो प्रयोगकर्तालाई उपलब्ध गराइएको छ |

फिचरहरु:

१. योर फोन एप

विन्डोज १० को नयाँ संस्करणमा “Your Phone” ( योर फोन) नामक एपले तपाईंको स्मार्टफोनलाई सजिलै कम्प्युटरसंग जोड्न सहयोग पुर्याउने छ | हाल एन्ड्रोइडलाई मात्र सपोर्ट गर्ने यो एपको प्रयोगबाट प्रयोगकर्ताले कम्प्युटर मार्फत मोबाइल SMS गर्न सक्नेछन् | माइक्रोसफ्ट एकाउन्टबाट वायरलेस तरिकाले कनेक्ट गरिसके पछि स्मार्टफोनमा भएका फोटोहरु पनि कम्प्युटरमा हेर्न, कपि गर्न र एडिट गर्न मिल्नेछ |  भविष्यमा यस एपबाट नोटिफिकेसन पनि कम्प्युटर मै हेर्न मिल्ने विशेषता थपिने कुरा माइक्रोसफ्टले बताएको छ | iOS सपोर्ट कहिले आउछ भन्ने कुराको चाहिँ टुंगो छैन |

२. क्लिपबोर्ड

क्लिपबोर्ड (Clipboard) ले प्रयोगकर्ताले कपि (Copy) गरेका टेक्स्ट, फोटो, लिंक आदिहरुलाई सेभ गरेर राख्छ | एकपटक Ctrl + C  वा कपि गरेका सबैकुराहरु यहि क्लिपबोर्डमा गएर बस्छ | यहाँ कपि भएर बसेका कुराहरुलाई भविष्यमा Ctrl + V दबाएर जति बेला पनि पुन: प्रयोग गर्न मिल्छ |
क्लिपबोर्डमा कपि गरिएका कुराहरुलाई लोकल कम्प्युटरबाट मात्र नभई अन्य कम्प्युटरबाट पनि प्रयोग गर्न मिल्छ | एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा फोटो र टेक्सट सेयर गर्नु पर्यो भने क्लिपबोर्डको सहायताबाट सजिलै गर्न सकिने छ |

३.फाइल एक्सप्लोररका लागि डार्क थिम

विन्डोज १० ले केहि समय अगाडिको अपडेटमा डार्क थिम पाएको थियो तर सो डार्क थिम भने मोडर्न सेटिंग र एपहरुमा मात्र सिमित थियो | अहिलेको यो अपडेटमा डिजाइनमा निकै पुरानो भइसकेको फाइल एक्सप्लोररका लागि पनि डार्क थिम आएको छ | सेटिंगमा गएर डार्क थिम सुचारु गरेपछि फाइल एक्सप्लोरर पनि डार्क हुन्छ |

४. टच किबोर्डमा स्विफ्टकि

टच स्क्रिन विन्डोज ल्यापटप र ट्याब्लेट भएका प्रयोगकर्ताले टच किबोर्डमा स्विफ्टकि अर्थात् स्वाइप् इन्पुट प्रयोग गर्न पाउने भएका छन् | माइक्रोसफ्टले २०१६ मा स्विफ्टकि भन्ने प्रचलित किबोर्ड एपलाई खरिद गरेको थियो | एन्ड्रोइड, आइफोन र आइप्याडमा पहिलेबाट नै उपलब्ध भएको यस किबोर्ड अब देखि विन्डोज १० मा टास्क बारको कुनामा हुने टच किबोर्डको आइकनलाई क्लिक गरेर सुचारु गर्न मिल्छ |

५. नयाँ स्क्रिनसट टुल

विन्डोज १० मा अब स्क्रिनसट लिन निकै सजिलो भएको छ | स्निप एण्ड स्केच (Snip and sketch) नामक एप पुरानो स्निपिंग टुल (Snipping tool) एपको प्रतिस्थापनमा आएको एप हो | WindowsKey + Shift + S संगै थिचेर एपलाई सुचारु गर्न सकिन्छ र यसबाट प्रयोगकर्ताले पुरै स्क्रिनको, कुनै विन्डोको र आफूले चाहेको सीमित भागको स्क्रिनसट लिन सक्नेछन् |
लिईसकेको स्क्रिनसट एक्सन सेन्टरमा भेटाउन सकिन्छ | उक्त स्क्रिनसटलाई एडीड गर्न, स्क्रिनसटमा चिन्हहरु थप्न र एनोटेशन थप्न मिल्छ |

 

तस्वीर : HowToGeek

    

 

यसमा तपाईको मत