ग्याजेट विशेष

विन्डोज १० को इन्स्टल संख्या ९० करोड पुग्यो !

  नागरिक   2019-09-25

माइक्रोसफ्टको नयाँ अपरेटिंग सिस्टम - विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित डेस्कटप र ल्यापटप कम्प्युटर  अपरेटिंग सिस्टम हो । हालै माइक्रोसफ्टले रिलिज गरेको जानकारी अनुसार हाल विश्वभरमा ९० करोडभन्दा बढी उपकरणहरू विन्डोज १० मा चल्छन । यही वर्ष कै सुरुवातमा माइक्रोसफ्टको विन्डोज १० अपरेटिंग सिस्टम ८० करोड उपकरणहरूमा इन्स्टल गरिएको थियो । यो संख्यामा कम्प्युटर, ल्यापटप, मोबाइल, एक्सबक्स र हलोलेन्सहरू समावेश गरिएको छ ।

हालै विन्डोज १० को इन्स्टल हुने संख्या निकै बढेको छ । गत १२ महिनामा सन् २०१५ मा विन्डोज १० सुरुमा रिलिज हुनु यताको सबैभन्दा उच्च नयाँ कम्प्युटर विन्डोज १० इन्स्टल संख्या देखिएको छ । ८० करोडवटा इन्स्टलबाट ९० करोडवटा इन्स्टल पुग्न माइक्रोसफ्टलाई केवल ६ महिना लाग्यो ।

विन्डोज १० मा अचानक  भएको यस वृद्धिको मुख्य कारण विन्डोज ७ को आधिकारिक सपोर्टको अन्त्य नजिक हुँदै जानु हो । विन्डोज ७ निकै धेरैले रुचाएको र अझै पनि प्रयोग गर्दै आएको अपरेटिंग सिस्टम हो । विन्डोज १० रिलिजको ३ वर्ष पछि पनि एक दशक पुरानो अपरेटिंग सिस्टम विन्डोज ७ ले नै बजारको धेरै हिस्सा कब्जा गरिरहेको थियो । यही वर्षको सुरुवातमा आएर मात्र विन्डोज १० ले विन्डोज ७ लाई पछि पार्न सफल भएको हो ।

माइक्रोसफ्टका अनुसार विन्डोज ७ को आधिकारिक सपोर्ट सन् २०२० सम्म मात्र रहने छ । आधिकारिक सपोर्टको सिमा सकिएपछि विन्डोज ७ ले कुनै पनि प्रकारको अपडेटहरू पाउने छैन जसले गर्दा भाइरस र माल्वेयरको जोखिम बढ्छ । त्यसैले पनि विन्डोज ७ मा रहेका प्रयोगकर्ताहरूले विन्डोज १० इन्स्टल गर्न सुरु गरेका छन् ।

माइक्रोसफ्टले सन् २०१५ मा विन्डोज १० रिलिज गर्ने बेला तीन वर्ष मै १ अर्ब इन्स्टल संख्या पुर्याउने सोच राखेको थियो । यसका लागि विन्डोज ७ र विन्डोज ८/८.१ प्रयोगकर्तालाई निशुल्क विन्डोज १० अपडेट पनि प्रदान गरेको थियो । तर प्रयोगकर्ताहरूले विन्डोज ७ नै रुचाउनुको कारणले गर्दा माइक्रोसफ्टको लक्ष्य पूरा हुन सकेन । रिलिजको लगभग ५ वर्ष अर्थात् सन् २०२० मा गएर मात्र माइक्रोसफ्टको १ अर्ब इन्स्टलको लक्ष्य पूरा हुने देखिएको छ ।

माइक्रोसफ्ट विन्डोज बिगतको दुई दशकभन्दा धेरै समय देखि नै संसार कै सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम रहेको हो । नेटएप्लीकेसनका अनुसार माइक्रो विन्डोजको बजार हिस्सा लगभग ८८% को रहेको छ । एप्पलको म्याक अपरेटिंग सिस्टम, गुगलको क्रोम अपरेटिंग सिस्टम र अन्य थुप्रै लिनक्सका वितरणहरूले बाकि १२ % बजार हिस्सा मात्र कब्जा गर्न सफल भएका छन् ।

 

यसमा तपाईको मत