ग्याजेट विशेष

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

  नागरिक   2019-09-17

प्रविधिको विकाससँगै वाइफाईको स्पिड र गुणस्तरमा पनि वृद्धि हुँदै आएको छ । केही वर्षको अन्तरालमा नयाँ र पहिलेभन्दा सुधारिएको स्पिड र फिचर सहित नयाँ वाइफाई स्तर लन्च हुने गर्दछ । नयाँ वाइफाई स्तर सपोर्ट गर्ने स्मार्टफोन, ल्यापटप र राउटरहरूले यस स्तरको फाइदा उठाउन सक्नेछन् ।

गत वर्षबाट नै लन्च हुने भनिएको तर अहिले आएर मात्र आधिकारिक रुपमा लन्च भएको नयाँ वाइफाई स्तरलाई “WiFi 6” अर्थात् वाइफाई ६ नाम दिईएको छ । यसभन्दा अगाडीको नामकरण विधिहरूभन्दा भिन्न रहेको यस वाइफाई स्तरलाई सुरुमा WiFi 802.11ax नाम दिईएको थियो । यस वर्षभन्दा अगाडीका संस्करणहरूको नामकरण विधिको परम्परा दुई दशक पछि पहिलो पटक तोडिएको हो ।

विभिन्न नयाँ प्रविधिको प्रयोगबाट वाइफाई ६ लाई अहिलेसम्म कै सबैभन्दा प्रभावकारी र उन्नत वाइफाई स्ट्याण्डर्ड बन्न सफल भएको छ । आजभोलिको समयमा एकै घरमा पनि १५ देखि २० वटासम्म वाइफाईमा जडान हुने उपकरणहरू हुनु केही नौलो कुरा होइन । कतिपय घरहरूमा वाइफाई जडान गर्ने उपकरणहरू यो संख्याभन्दा पनि बढी हुने गर्दछ । आजभोलिको एउटा घरमा मात्र हुने वाइफाईको संजाल आजभन्दा दुई दशक अगाडी ठूलो संजाल जस्तो देखिने कुरा वाइफाई गठबन्धनका मार्केटिंग अध्यक्ष केभिनले बताउछन् ।

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग  वाइफाई चल्ने बनाउनु हो । यो नयाँ वाइफाईको स्ट्याण्डर्डको स्पिड पुरानो स्ट्याण्डर्डभन्दा लगभग ३ गुणा बढी रहेको छ - ३.५ Gbps बाट स्पिड बढेर ९.६ Gbps पुगेको छ । घरेलु वाइफाईको स्पिडहरू केहि mbps मै सिमित हुने भएकाले पनि वाइफाई ६ को नयाँ र सुधारिएको स्पिडले साधारण प्रयोगकर्तालाई केही फरक भने पर्दैन । तर फरक पर्छ त वाइफाईको प्रतिक्रिया दिने स्पिडमा । नयाँ वाइफाई ६ पुरानो वाइफाईभन्दा निकै रेपोन्सिभ हुने छ - यसर्थ धेरै प्रयोगकर्ताले एकै राउटरमा जडान गरेपनि वाइफाई स्लो हुने छैन ।

वाइफाई ६ हालै लन्च भएका विभिन्न स्मार्टफोनहरूमा समावेश गरिएको छ जसमा एप्पलको नयाँ आइफोन ११ र ११ प्रो का साथै सामसंगको नयाँ नोट १० पनि पर्छन । वाइफाई ६ हिजोको मिति अर्थात् सेप्टेम्बर १६, २०१९ बाट आधिकारिक रुपमा लन्च मात्र भएको हो ।

नयाँ वाइफाई ६ को फाइदा उठाउनका लागि स्मार्टफोन वा ल्यापटपले मात्र वाइफाई ६ को भएर हुँदैन - यसका लागि घरेलु वाइफाईको राउटर पनि वाइफाई ६ कै हुनु पर्छ । अहिले अधिकांस नेपाली घरहरूमा दुई पुस्ता पुरानो वाइफाई स्तरको राउटरहरू प्रयोग गर्ने गरिन्छ । वाइफाईको पाँचौं संस्करण अर्थात् 802.11 ac सपोर्ट गर्ने स्मार्टफोन र ल्यापटपहरू बजारमा सन् २०१३  देखि नै उपलब्ध भएका थिए तर अझै पनि नेपालको सन्दर्भमा 802.11 ac को व्यापक प्रयोग भएको छैन - अधिकांस नेपाली घरहरूले सन् २००९ मा रिलिज गरिएको वाइफाईको 802.11n स्तरको राउटरहरू प्रयोग गरेको भेटिन्छ ।

 

 

यसमा तपाईको मत