ग्याजेट विशेष

टिभीमा पनि भाइरस ?

  नागरिक   2019-06-18

कम्प्युटर देखि स्मार्टफोनसम्म भाइरस र माल्वेयर हुने डर अधिकांस प्रयोगकर्तालाई रहन्छ । तर टिभीमा पनि भाइरस लाग्न सक्छ भन्ने कुराले धेरै जना अचम्मित पार्यो र स्मार्ट टिभीको साइबर सुरक्षा प्रति धेरैले प्रश्न उठाए ।  सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि भाइरस लाग्न सक्ने कुरा प्रति धेरै जनाको ध्यान आकर्षण भएको हो ।


सामसंगले ट्वीटरमा “हाउ-टु भिडियो” अर्थात् “केहि कुरा कसरी गर्ने ?” भनेर सिकाउने भिडियो अन्तर्गत सामसंगको स्मार्ट टिभीमा भाइरस स्क्यान कसरी गर्ने र भाइरसबाट कसरी बच्ने भन्ने कुरामा भिडियो पोस्ट गरेको थियो । सो भिडियोमा नै प्रयोगकर्ताले केही साताको अन्तरालमा आफ्नो स्मार्ट टिभीमा भाइरस स्क्यान गर्नुपर्ने कुरा पनि व्यक्त गरेको थियो । उक्त ट्वीटले साइबर सेक्युरिटीसँग सम्बन्धित विज्ञहरूलाई पनि आश्चर्यमा पार्यो किन कि टिभीमा भाइरस लाग्ने कुनै पनि समस्या अहिलेसम्म आएको छैन र निकट भविष्यमा सो समस्या आउने सम्भावना पनि निकै कम रहेको छ ।

उक्त ट्वीटको विषयमा सामसंगसँग प्रश्न गर्दा सामसंगले उत्तरमा सो भिडियो प्रयोगकर्ता र उपभोक्तालाई जानकारी प्रदान गर्ने हेतुका साथ पोस्ट गरिएको भन्ने उत्तर प्रदान गरेको छ  ।

इन्टरनेट र मिडियाले उक्त भिडियो प्रति बेग्लै चासो देखाएपछि सामसंगले अहिले सो भिडियोलाई डिलिट गरेको छ । उक्त भिडियो ९ सेकेन्ड लामो थियो भने छोटो समयमा नै २ लाखभन्दा बढी जनाले हेरिसकेका थिए ।

साइबर सेक्युरिटीका विज्ञहरूले सामसंगको यस सुझावलाई अर्थहिन भनेका छन् । साइबर सेक्युरिटीका विज्ञहरू अनुसार उपभोक्ता र सामसंग लगायतका कुनै पनि कम्पनीको टिभी प्रयोग गर्ने उपभोक्ताहरूले टिभीमा भाइरस लाग्ने कुरा प्रति धेरै डराउनु नपर्ने बताएका छन् ।

स्रोत: बिबिसी

यसमा तपाईको मत