ग्याजेट विशेष

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

  नागरिक   2020-02-16

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ । फ्ल्याग्शिप देखि सस्तो बजेट स्मार्टफोन सम्म पनि दुई वा दुईभन्दा बढी क्यामरा भएका स्मार्टफोनहरु पाईन्छन् । तर ती क्यामराको काम र महत्व भने अधिकांस उपभोक्ताले बुझेका हुदैँनन् । धेरै प्रयोगकर्ताले डबल क्यामराले ब्लर अथवा ब्होके इफ्फेटका लागि मात्र प्रयोग गरिएको हुन्छ भनेर बुझेका हुन्छन् जुन सहि पनि हो । तर, डबल वा बढी क्यामराको प्रयोग यतिमा मात्र सिमित हुदैँन - यसका थुप्रै फाइदाहरु हुन्छन् ।


एचटिसीले सबैभन्दा पहिलो दुईवटा क्यामरा भएको स्मार्टफोन - एचटिसी इभो थ्री डी लन्च गरेको थियो जसमा दोस्रो क्यामराको प्रयोग केवल थ्री डी फोटो खिच्नका लागि गरिन्थ्यो । एचटिसीले नै एचटिसी वान एम एट र बटरफ्लाई थ्री सँग डबल क्यामराको ट्रेन्डलाई निरन्तरता दिएको थियो । त्यस पश्चात् हुवावे, एप्पल, सामसंग र अहिले आएर लगभग सबै स्मार्टफोन निर्माताले डबल वा बढी क्यामरा भएको स्मार्टफोनहरु रिलिज गरिसकेका छन् । डबल वा बढी क्यामराको प्रयोग तरिका भने निर्मातासँगै फरक फरक रहेको छ ।

१. जुमका लागि टेलिफोटो लेन्स

एप्पलका सबै आइफोनहरुमा र थुप्रै एन्ड्रोइड स्मार्टफोनहरुमा दोस्रो क्यामरा जुमका लागि प्रयोग गरिएको छ । टाढाको वस्तुलाई गुणस्तर नघट्ने गरि फोटोमा कैद गर्नका लागि उक्त टेलिफोटो लेन्सको प्रयोग गरिएको हुन्छ । यस्ता लेन्सले २ देखि १० गुणा गुणासम्म जुम गर्न सहयोग पुर्याउने छ । हालै रिलिज भएको सामसँग ग्याक्लेक्सी एस २० अल्ट्रामा १०० गुणासम्म जुम गर्न मिल्ने टेलीफोटो सेन्सर राखिएको छ - उक्त १०० गुणा जुममा १० गुणासम्मको जुम भने लसलेस हुनेछ  |

२. उच्च गुणस्तरका तस्विर निकाल्नका लागि मोनोक्रोम लेन्स

हुवावेले भने आफ्नो अधिकांस स्मार्टफोनमा जुम लेन्सको सट्टा मोनोक्रोम अर्थात् ब्ल्याक एण्ड ह्वाइट सेन्सरको प्रयोग गरेको छ । यस्तो लेन्सले तस्विरमा डैनामिक रेन्जको सुधार गर्नुका साथै तस्विरको सदर रंग र गुणस्तरमा पनि सुधार ल्याउछ । रंगिन तस्विर खिच्न सक्ने क्यामराले खिचेको तस्विरलाई ब्ल्याक एण्ड ह्वाइट सेन्सरले खिचेको तस्विरसंग मिसाए पछि तस्विर अझ राम्रो हुने भएकाले नै हुवावेले मोनोक्रोम सेन्सरको प्रयोग गरेको हो । आजभोलिका नयाँ स्मार्टफोनहरूमा मोनोक्रोम सेन्सरको खासै प्रयोग गरिएको हुँदैन |

३. फिल्ड वाफ भ्यु बढाउनका लागि वाइड एन्गल लेन्स

एलजी, सामसंग, एप्पल लगायतका स्मार्टफोन निर्माताले आफ्नो स्मार्टफोनहरुमा  ठूलो  फिल्ड वाफ भ्यु भएको वाइड एन्गल लेन्स प्रयोग गर्ने गरेको पाइन्छ । नयाँ मोडलका आइफोन र ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोनमा उच्चस्तरीय वाइड एन्गल लेन्स प्रयोग गरेका छन् | वाइड एन्गल लेन्सले तस्विरमा धेरै कुराहरु समेट्न सक्छ । सामसंगले यस्तो वाइड एन्गल लेन्स आफ्नो सेल्फी क्यामरामा पनि प्रयोग गरेको छ जसबाट एकै पटकमा धेरै जनाको सेल्फी खिच्न सजिलो हुन्छ । अन्य निर्माताहरूले पनि सेल्फी क्यामराका लागि वाइड एन्गल लेन्सको प्रयोग गरेका छन् |

४. ब्लर अर्थात् ब्होके इफ्फेटका लागि डेप्थ सेन्सर

दोस्रो क्यामरा जुम, मोनोक्रोम वा वाइड एन्गल जुन सुकै प्रायोजनका लागि प्रयोग गरिए पनि उक्त क्यामराबाट ब्लर अर्थात् ब्होके इफ्फेक्ट निकाल्न मिल्छ । सस्ता र मिडरेन्ज स्मार्टफोनहरुमा ब्लर इफ्फेक्ट दिनका लागि मात्रै भए पनि दोस्रो क्यामराको प्रयोग गरिएको हुन्छ । पहिलो मुख्य क्यामराले तस्विर खिच्छ भने दोस्रो क्यामराले उक्त तस्विरको गहिराई मापन गर्न सहयोग पुर्याउछ र ब्लर हाल्नलाई सहयोग गर्छ ।

 

यसमा तपाईको मत