ग्याजेट विशेष

हुवावे माथिको प्रतिबन्ध फुकुवा - अमेरिकी कम्पनीसँग व्यापार गर्न पाउने

  नागरिक   2019-06-29

हुवावेले अमेरिकी कम्पनीहरूसँग फेरी व्यापार गर्न पाउने भएका छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक समाचार सम्मेलनमा जानकारी दिए । यस अन्तर्गत माइक्रोसफ्ट, गुगल, क्वाल्कम आदि कम्पनीहरूले फेरी हुवावेसँग व्यापार गर्न पाउनेछन् । एक महिना अगाडी अमेरिकाले हुवावे माथि प्रतिबन्ध लगाएको थियो - जस अन्तर्गत अमेरिकी कम्पनीहरूले हुवावेसँग कुनै पनि प्रकारको व्यापार गर्न नपाउने भएका थिए ।


ओसाकामा भएको जी ट्वान्टी सम्मलनमा बोल्दै ट्रम्पले “अमेरिकी कम्पनीहरूले हुवावेलाई आफ्नो उपकरणहरू बेच्न पाउनेछन्” भनेर जानकारी दिएका थिए । तर ट्रम्पले यस विषयमा विस्तृतरुपमा कुरा भने गरेनन् । अमेरिकी कम्पनीहरूको उत्पादनहरू हुवावेलाई बेच्दा अमेरिकाको राष्ट्रिय सुरक्षालाई केही पनि असर नगर्ने कुरा पनि ट्रम्पले सो सम्मेलनमा व्यक्त गरेकाछन् । यसको पूरा अर्थ हालै स्पष्ट नभए पनि यसबाट सरदरमा हुवावेले अमेरिकी कम्पनीहरूबाट उपकरण र उत्पादनहरू खरिद गर्न पाउनेछन् भन्ने कुरा बुझ्न सकिन्छ । यी उत्पादनमा माइक्रोसफ्टको विन्डोज, गुगलको एन्ड्रोइड अपरेटिंग सिस्टम, क्वाल्कमको प्रोसेसर, इन्टेलको प्रोसेसर, आर्मका चिपसेट आदिहरू पर्दछन । एक रिपोर्टका अनुसार हुवावेले सन् २०१८ मा मात्रै इन्टेल, क्वाल्कम र माइक्रोनबाट मात्र पनि ११ अर्ब बराबरको उपकरणहरू खरिद गरेको थियो ।


प्रेससँग कुराकानी गर्दै ट्रम्पले अमेरिकी कम्पनीहरूले हुवावेलाई आफ्नो उत्पादन बेच्न नपाउदा घाटा हुन गएको कुरा पनि स्वीकार गरेका छन् । हुवावेलाई अमेरिकी उत्पादनहरू प्रयोग गर्न दिनु “ठिकै” हुने कुरा पनि ट्रम्पले व्यक्त गरेका छन् ।

वाल स्ट्रिट जर्नलका अनुसार चिनिया राष्ट्रपति सी जिन्पिंगले यस प्रतिबन्धलाई हटाउनका लागि पहल गरेका थिए । वाल स्ट्रिट जर्नलका अनुसारअमेरिका र चिन बीच हुने कुनै पनि व्यापारिक सम्झौतामा यस प्रतिबन्धको फुकुवाले ठूलो भूमिका खेल्ने कुरा चिनिया राष्ट्रपतिले व्यक्त गरेका थिए ।

तर अमेरिकाले हुवावेलाई अझै पनि एन्टीटि लिस्टमा राखेको छ । यसर्थ हुवावेले अमेरिकामा आफ्नो उत्पादनहरू बेच्न पाउने हो कि नपाउने हो भन्ने कुराको चाहीं टुंगो छैन ।

 

यसमा तपाईको मत