कभर स्टोरी

उदयपुर सिमेन्टको बिक्री सुचारु

    2019-08-11

महेश्वर चामलिङ राई     
उदयपुर- मौज्दात क्लिंकर सकिएपछि झण्डै २ सातादेखि रोकिएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) कोे उत्पादन गैंडा छाप सिमेन्टको बिक्री आईतबारदेखि सुचारु भएको छ । दुईमहिनाअघि उद्योगको मुख्य यन्त्रको संस्पेन्सन प्रिहिटर पंखा (एसपी फ्यान ) बिग्रेर क्लिंकर उत्पादन रोकिएकोमा दुईसाताअघि मौज्दात क्लिंकर सकिएपछि सिमेन्ट बिक्री बन्द भएको थियो । 
    उत्पादन रोकिए पनि उद्योगमा मौज्दात क्लिंकरबाट २ लाख बोरा सिमेन्ट बिक्री र्भरहेकोमा साउन १७ गतेदेखि मौज्दात क्लिंकर सकिएसँगै बिक्री रोकिएको थियो । बिग्रेको पंखा बुटबलमा मर्मत गरेर ल्याई साउन २० गते जडान गरेपछि २२ गतेदेखि क्लिंकर उत्पादन सुचारु भएपछि आईतबारदेखि सिमेन्ट बिक्री सुचारु भएको उद्योगमा निमित्त महाप्रबन्धक (जिएम) नवलकिशोर साहले बताए । उनका अनुसार गत जेठ २० गते विद्युत भोल्टेज उतारचढावका कारण क्वाईल जलेर पंखा बिग्रेपछि मर्मत नहुँदासम्म क्लिंकर उत्पादन रोकिएको थियो । 
    ‘एसपी प्mयान बिग्रेर मर्मत गर्न समय लाग्दा झण्डै २ महिना क्लिंकर उत्पादन रोकिन गयो’ जिएम साहले भने ‘त्यो बीचमा २ लाख बोराबरावरको मौज्दात क्लिंकरको सिमेन्ट बेच्यौं, तर साउन १७ गते क्लिंकर सकिएपछि बिक्री रोकिएको थियो । उत्पादन सुरु भएकाले आजदेखि सिमेन्ट बेच्न सुचारु भएको छ ।’ उनका अनुसार आईतबार साँझसम्म १२÷१५ हजार बोरा हाराहारी सिमेन्ट बिक्री गरिसक्ने अनुमान छ । सिमेन्ट किन्ने ग्राहकहरु उद्योग परिसरमा रहेको बैंकमा रकम जम्मा गरेर भौचर लिन लाईन लाग्नुका साथै ट्रक र मालबाहक गाडी उद्योग परिसरमा सिमेन्ट लिन लामबद्ध प्रतिक्षारत छन् ।
    आईतबारदेखि बिक्री सुचारु हुने जानकारी पाएका व्यापारी शनिबार रातिदेखि नै गाडी लिएर उद्योग परिसर लाईन लागेका हुन् । एसियाकै उत्कृष्ट कहलिएको ५३ ग्रेडको ओपिसी सिमेन्ट गैंडा छाप स्थानीय बजारदेखि देशभर हुँदै भारतीय बजारसम्मका ग्राहक छन् । निजी कम्पनीको दाँजोमा धेरै गुणस्तरीय भएकाले गैंडाछाप सिमेन्टका पारखी देशभर रहेको उद्योगका प्रशासन तथा अर्थ महाशाखा प्रमुखसमेत रहेका नायव महाप्रबन्धक (डिजिएम) धु्रब देवकोटाले बताए । देवकोटाका अनुसार जापानिज प्रविधिबाट उत्पादित गैंडाछापको गुणस्तरको दाँजोमा अन्य कुनै सिमेन्ट अहिलेसम्म नेपाल र भारतमासमेत उत्पादन भएको पाइएको छैन । 

दैनिक ७ सय ५० मेट्रिक टन उत्पादन    
    एसपी प्mयान बिग्रेपछि झण्डै दुई महिना रोकिएको क्लिंकर उत्पादन मर्मतपछि नियमित भईरहेको छ । उत्पादन महाशाखा प्रमुख इन्जिनियर सञ्जयलाल कर्णका अनुसार पंखा मर्मत गरेर गत २२ गते राति किल्न फाईरिङ गरिएपछि लगातार क्लिंकर उत्पादन जारी छ । दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगमा अहिले प्रतिदिन ६ सय ७० देखि ७ सय ५० मेट्रिक टनसम्मका दरले उत्पादन भईरहेको कर्णले बताए । 
    ‘एसपी प्mयान बनाएर ल्याएपछि हामीले २२ गते राति किल्न फाइरिङ ग¥यौं’ इन्जिनियर कर्णले भने ‘त्यसपछि लगातार दैनिक ६ सय ७० देखि ७ सय ५० मेट्रिक टनसम्म उत्पादन भईरहेको छ ।’ गएको अशोज उद्योग स्थापनायताकै पूर्ण स्तरोन्नति मर्मत गरिएपछि दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले ९ सय ३० मेट्रिक टनसम्म उत्पादन गरेको थियो । तर, अनियमित विद्युत सेवा तथा बेलाबेलामा हुने भोल्टेज उतारचढावले उद्योगका मेसिन उपकरणहरु बेलाबेलामा बिग्रने गरेका छन् । 

क्याप्सनः उदयपुर सिमेन्ट उद्योग । तस्विरः महेश्वर

यसमा तपाईको मत