ग्याजेट विशेष

६ महिना प्रयोग नगरे ट्वीटर अकाउन्ट बन्द हुने निर्णय फिर्ता !

  नागरिक   2019-12-01

केही दिन अगाडी ट्वीटरले ६ महिना सम्म प्रयोगमा नआएको अकाउन्ट बन्द गर्ने कुराको जानकारी प्रदान गरेको थियो । तर अब जति पुरानो भएपनि ट्वीटरका अकाउन्टहरू बन्द नहुने भएको छ ।

प्रयोगमा नआएका अकाउन्टहरू डिलिट गर्ने निर्णयलाई लिएर ट्वीटरले चौतर्फी विरोधहरू सुन्नु परेको छ । प्रयोगमा नआएका अर्थात् इनएक्टिभ अकाउन्टहरू डिलिट गर्दा मृतकका अकाउन्टहरू पनि डिलिट हुन जाने भएका कारणले गर्दा नै ट्वीटर चौतर्फी आलोचनामा परेको हो । यही डिसेम्बर ११ मा प्रयोगमा नआएका ट्वीटर अकाउन्टहरूलाई डिलिट गर्ने भनिएको थियो  ।

फेसबुकले मृतकहरूको अकाउन्टलाई डिलिट गर्नुको सट्टा प्रोफाइल मै मृतक भनेर चिनाउने गरेको छ । कसैको मृत्यु पश्चात मृतकका साथीहरूले फेसबुक मार्फत मृत्यु भएको पुष्टि गर्न सक्छन । तर यस्तो सुविधा ट्वीटरले आफ्नो सामाजिक संजालमा समावेश गरेको छैन ।

ट्वीटरले पनि फेसबुकको जस्तै मृतक पहिचान गर्ने फिचर ल्याएर मृतकका बाहेक सबै इनएक्टिभ अकाउन्टहरू डिलिट गर्ने सम्भावना पनि रहेको छ । तर यो काम ट्वीटरले गर्छ कि गर्दैन भन्ने कुराको टुंगो छैन । हालका लागि ट्वीटरले प्रयोगमा नआएका अकाउन्टहरूलाई डिलिट गर्ने कार्यक्रमलाई स्थगित गरेको छ ।

 

 

यसमा तपाईको मत