ग्याजेट विशेष

एप्पल र बिल गेट्स लगायत दर्जनौ ट्वीटर अकाउन्ट ह्याक - “३० मिनट मै पैसा डबल अफर” को प्रचार !

  नागरिक   2020-07-16

गए राति महत्वपूर्ण व्यक्तिहरू र ठूला कम्पनीहरूको ट्वीटर अकाउन्ट ह्याक भएको छ । एक पछि अर्को गर्दै शृंखलाबद्ध रूपमा ट्वीटर अकाउन्टहरू ह्याक भएका हुन् । ह्याक भएका अकाउन्टहरूबाट “पैसा डबल अफर” को प्रचार गरिएको छ ।

ह्याक हुने अकाउन्टहरूमा पूर्व अमेरिकी राष्ट्रपति ओबामा, जोए बिडेन, टेस्ला कम्पनीका सीइओ एलन मस्क, बिल गेट्स, कान्ये वेस्ट, अमेजनका सीइओ जेफ बेसोज, एप्पल र अन्य अकाउन्टहरू रहेका छन् ।

ह्याक भएका सबै अकाउन्टबाट ३० मिनट मै पैसा डबल हुने अफर प्रदान गर्दै पोस्ट गरिएको थियो । उक्त नक्कली पोस्टमा बिटकोइनको लिंक प्रदान गरिएको थियो । उक्त लिंकमा जति पैसा पठायो उक्त पैसा ३० मिनट मै डबल हुने दाबी गरिएको थियो । एप्पल, जेफ बेसोज, एलन मस्क आदि सबैले प्रदान गरेको लिंकमा भएको बिटकोइन ठेगाना एकै थियो ।

ह्याक भएका अधिकांस अकाउन्टहरू भेरिफाइड अकाउन्ट रहेका छन् । ट्वीटरले ह्याक पछाडीको मुख्य कारण पत्ता नलगाउदासम्मको लागि भेरिफाइड अकाउन्टबाट ट्वीट गर्न नमिल्ने बनाएको छ । यससँगै हालका लागि भेरिफाइड अकाउन्टले पासवर्ड पनि परिवर्तन गर्न सक्ने छैनन् ।

ट्वीटरको आन्तरिक एडमिनको सफ्टवेयर प्रयोग गरेर यस ह्याक गरिएको हुन सक्ने बताइएको छ ।

स्रोत: BBC

 

यसमा तपाईको मत