ग्याजेट विशेष

टिकटकले आफ्नै स्मार्टफोन ल्याउँदै

  नागरिक   2019-08-07

टिकटकको अभिभावक संस्था रहेको बाइटडान्सले अब आफ्नै ब्राण्डको स्मार्टफोन रिलिज गर्न लागेको छ । आफ्नै ब्राण्डको स्मार्टफोन रिलिज गर्नका लागि टिकटकको स्वामित्व पाएको कम्पनी बाइटडान्सले स्मार्टिसनबाट विभिन्न प्याटेन्टहरू खरिद गरिसकेको छ । यसै गरि स्मार्टिसन कम्पनीका कर्मचारीहरू पनि बाइटडान्स मै सरुवा हुने भएका छन् ।

चाइनिज म्यागेजिन साइजिंगका अनुसार बाइटडान्सले सो स्मार्टफोन निर्माण गर्न लागेको लगभग ७ महिना नाघिसकेको छ । सो स्मार्टफोन स्मार्टिसन र टिकटक दुवैका प्रशंसकहरूलाई खुसी बनाउने कुरामा बाइटडान्सले विश्वास राखेको छ ।

बाइटडान्सले स्मार्टफोन व्यापारमा लाग्नु कुनै आश्चर्यजनक कुरा पनि होइन किन कि यस कम्पनीले बिगतका केही समय देखि विभिन्न च्याट एप र अन्य सुविधाहरूमा व्यापार विस्तार गर्दै आइरहेको छ । बाइटडान्सले च्याट एपहरू बाहेक म्युजिक स्ट्रिम गर्ने सेवामा पनि काम गर्दै आएको भन्ने रिपोर्ट आएको छ । बाइटडान्सको नयाँ आउने स्मार्टफोनमा टिकटक र उक्त म्युजिक स्ट्रिम गर्न मिल्ने एप दुवै इन्स्टल हुनेछ ।

टिकटक अहिलेको सबैभन्दा द्रुतगतिमा बढिरहेको सामाजिक संजाल हो जसमा ५० करोडभन्दा बढी नियमित प्रयोगकर्ताहरू रहेका छन् भने यसको एप १ अर्बभन्दा धेरै पटक डाउनलोड भइसकेको छ । यस एपको प्रयोगकर्ताको संख्या पनि झनझन् बढ्दै गएको छ ।  टिकटक एपमा प्रयोगकर्ताले १५ सेकेन्ड लामो भिडियोहरू अपलोड गर्न सक्नेछन् ।

सफ्टवेयरको ख्यातीलाई पछ्याउदै आफ्नै स्मार्टफोन रिलिज गर्ने होड बाइटडान्सभन्दा अगाडी फेसबुकमाथि पनि लागेको थियो । फेसबुकले एचटीसीसँग आवद्ध भएर बनाउने भनिएको स्मार्टफोन बजारमा लन्च नै भएन । बाइटडान्सले टिकटकको ख्यातीको आडमा रिलिज गर्न लागेको यस स्मार्टफोनमा के कस्ट फिचर हुनेछन् भन्ने कुराको केही पनि टुंगो छैन । हालका लागि कम्पनीले आफ्नै ब्राण्डको स्मार्टफोन लन्च गर्ने कुराको मात्र जानकारी प्रदान गरेको छ ।

स्रोत: द भर्ज

 

यसमा तपाईको मत