ग्याजेट विशेष

स्मार्टफोनबाट नै DSLR जस्तो फोटो खिच्ने उपाय !

  नागरिक   2020-01-09

हरेक स्मार्टफोन प्रयोगकर्ताले उक्त स्मार्टफोनलाई फोटो खिच्नका लागि प्रयोग गरेकै हुन्छ । क्रमागत रुपमा विकास हुदैँ स्मार्टफोनका क्यामराहरु अहिले पहिलेको भन्दा धेरै उन्नत र सक्षम भएका छन् र डिजिटल क्यामरालाई प्रतिस्थापन गर्न सफल भएका छन् । स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ।

नयाँ स्मार्टफोन क्यामराहरू धेरै नै अब्बल भइसकेका छन् जसले गर्दा  उक्त स्मार्टफोनबाट अटोमेटिक मोडमा खिचेका अधिकांस  तस्विरहरू राम्रा र उच्चस्तरीय नै आउने गर्छन् । तर कतिपय बेला अटोमेटिक मोड सोचेको जस्तो राम्रो प्रतिफल दिंदैन । स्मार्टफोन फोटोग्राफीमा प्रयोगकर्ताले  सुधार गर्न मिल्ने र राम्रा तस्विरहरू खिच्न मिल्ने उपायहरू रहेकाछन् जसको बारेमा यस लेखमा चर्चा गरिएको छ :

१. फोकस र एक्सपोजर मिलाउने

प्रायजसो सबै स्मार्टफोनमा क्यामराको फोकस मिलाउने विकल्प रहेको हुन्छ । धेरै स्मार्टफोनको क्यामरा एपले अटोमेटिक क्यामराको फोकस मिलाउने गर्छ जसलाई अटोफोकस भनिन्छ । तर क्यामराले फोकस गरेको वस्तु नै सान्दर्भिक हुन्छ भन्ने हुँदैन । स्मार्टफोन क्यामरामा फोकस मिलाउनका लागि जहाँ फोकस गर्न मन लागेको हो त्यहाँ टच गरे मात्र हुन्छ । म्यानुअल मोडमा भने फोकस गर्न केहि हदसम्म गाह्रो हुन्छ तर पनि नतिजा लगभग उस्तै आउने गर्छ । फोकसमा परेको वस्तु वा व्यक्तिको तस्विरमा धेरै जानकारीहरू आउने र तस्विर स्पष्ट हुने गर्दछ । फोकस मिलाएर नै ब्होके इफ्फेक्ट अर्थात् ब्लर इफ्फेक्ट हासिल गर्न सकिन्छ ।

एक्पोजरले क्यामराको फ्रेममा कति मात्रको लाइट छिर्न दिने भन्ने कुराको निर्धारण गर्छ । कुनै वस्तु वा व्यक्तिको तस्विर खिच्न खोज्दा तस्विर अध्यारो आएको छ भने एक्सपोजरलाई बढाउनुहोस् । र, यदि तस्विरमा निकै धेरै उज्यालो आएको छ र लाइट धेरै भएको कारणले तस्विरमा जानकारीहरू देखा परिरहेको छैन भने चाहिँ एक्सपोजरलाई घटाउनुहोस्  ।

२. एचडीआर मोडको प्रयोग गर्ने

एचडीआर अर्थात् हाइ डैनामिक रेन्ज हरेक स्मार्टफोनको क्यामरामा उपलब्ध हुने र निकै महत्वपूर्ण फिचर हो । यो फिचरको प्रयोगबाट स्मार्टफोन क्यामराले अध्यारो र उज्यालो ठाउँ दुवैबाट जानकारी र डिटेलहरू सहितको तस्विर खिच्न सक्छ । यो फिचर प्राकृतिक दृश्यको तस्विर खिच्ने बेलामा प्रयोग गर्नु उचित हुन्छ ।

अधिकांस स्मार्टफोनहरूमा अहिले अटोमेटिक एचडीआर मोडमा तस्विर खिच्ने फिचर पनि राखिएको हुन्छ जसबाट प्रयोगकर्ताले एचडीआर अन अफ गर्नेको बारेमा सोच्नु पनि पर्दैन ।

३. प्राकृतिक प्रकाशको सहि प्रयोग गर्ने

दिउसोको समयमा बाहिर तस्विर खिच्दा प्राकृतिक लाइट अर्थात् सुर्यको प्रकाशको सहि प्रयोग गर्नु उचित हुन्छ । यस समयमा तस्विर खिच्दा व्यक्ति वा वस्तुको अगाडी पट्टि नै घामको छायाँ पर्ने गरि तस्विर खिच्नु उचित हुँदैन । घामको छायाँमा परेर तस्विर खिच्न खोज्दा पुरै तस्विर नै अध्यारो आउछ जसलाई एन्टी लाइट परेको भनेर पनि चिनिन्छ । यसको निवारणका लागि तस्विर खिच्ने बेला जसको वा जेको तस्विर खिच्नु पर्ने हो उक्त व्यक्ति वा वस्तुलाई घामको प्रकाशको सिधा अगाडी राख्नु उचित हुन्छ ।

४. तस्विर लिँदा हात स्थिर राख्ने

स्मार्टफोनबाट फोटो खिच्ने बेलामा हात हल्लिएर तस्विर धेरै प्रयोगकर्ताको खराब भएको छ । र, स्मार्टफोन फोटोग्राफीको अझै पनि धेरै सुधार नभएको कुरा पनि यहि नै हो । राम्रो र उच्चस्तरीय तस्विर खिच्नका लागि तस्विर लिने समयमा हातलाई स्थिर राख्नु निकै आवश्यक हुन्छ । हातलाई स्थिर राख्न कठिनाइ आएको खण्डमा स्मार्टफोन क्यामराको लागि पनि ट्राइपड खरिद गर्न सकिन्छ जसको सहयोगबाट स्थिर तरिकाले तस्विर खिच्न सकिनेछ ।


५. विविध स्मार्टफोन फोटोग्राफी एप्सको प्रयोग

स्मार्टफोनलाई “स्मार्ट” बनाउनमा स्मार्टफोन हार्डवेयरको भन्दा पनि स्मार्टफोनमा उपलब्ध एप्सहरूको ठूलो भूमिका  हुने गर्दछ । स्मार्टफोन फोटोग्राफी सुधारका लागि पनि विभिन्न प्रकारका एप्सहरूको प्रयोग गर्न सकिन्छ । यस्तै केहि स्मार्टफोन फोटोग्राफी सुधार गर्न सहयोग पुर्याउने केहि महत्त्वपूर्ण एप्सहरूको सूची यहाँ दिईएको छ : स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

६. गुगल क्यामराको प्रयोग गर्ने

गुगल क्यामरा निकै अब्बल र फिचरयुक्त क्यामरा एप हो जसले निकै धेरै मोडहरूमा तस्विर खिच्न सक्छ | यो क्यामरा गुगल पिक्सल स्मार्टफोनहरूमा पहिलेबाट नै उपलब्ध क्यामरा एप हो | अन्य एन्ड्रोइड स्मार्टफोनहरूका लागि आधिकारिक रूपमा यस क्यामरा एप उपलब्ध नभए पनि बाहिरबाट सजिलै डाउनलोड गर्न सकिन्छ | अन्य स्मार्टफोनहरूका लागि गुगल क्यामरा एप डाउनलोड गर्नका लागि गुगलमा गएर आफ्नो स्मार्टफोनको मोडल र Google Camera APK भनेर सर्च गरेर उक्त एपलाई भेटाउन र डाउनलोड गर्न सकिन्छ | आइफोनहरूमा भने यस एप उपलब्ध गराइएको छैन | यो एपमा भएको HDR+ फिचरले निकै नै उच्चस्तरीय तस्विरहरू खिच्न सक्नेछ |

यसमा तपाईको मत