ग्याजेट विशेष

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

    2018-04-09

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमै अत्यधिक लोकप्रिय भएको छ । ल्यापटपले गर्ने काम सबै नगरे पनि ट्याब्लेटले घरमा चलाइने उपकरणमा छुट्टै ठाउँ बनाएको छ । ट्याब्लेटहरु धेरैजसो पढ्न, इन्टरनेट चलाउन र मनोरञ्जनका लागि प्रयोग गरिन्छन् ।   

कुन ट्याब्लेट किन्ने भन्ने उत्तर पाउन यी प्रश्नमा एकपल्ट विचार गर्दा ठिक हुन्छ:

बोकेर हिँड्नुपर्छ ?

८ इन्च वा साना ट्याब्लेट लगभग आधा केजी तौलका हुन्छन् । धेरैजसो साना ट्याब्लेटको ब्याट्री १२ घन्टाभन्दा धेरै टिक्छ।

 

बजेट कति छ ?

अरु सामान जस्तै मूल्यअनुसार ट्याब्लेटको पनि उपयोगिता फरक हुन्छ । १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा राम्रो ७–८ इन्चका ट्याब्लेट पाइन्छ । १० इन्चका ट्याब्लेट ३५ हजार रुपैयाँभन्दा महँगो हुन्छ । ४५ हजार रुपैयाँभन्दा बढीमा कम्प्युटर जस्तै छुट्टै किबोर्ड जोडेर टाइप गर्न मिल्ने, उत्कृष्ट डिस्प्ले भएको, ब्याट्री लाइफ १२ घन्टाभन्दा धेरै भएको ट्याब्लेट पाइन्छ ।

 

बच्चाले चलाउँछन् ?

बच्चाले चलाउने ट्याब्लेटको बनावट सामान्यभन्दा अलि बलियो हुन्छ र ट्याब्लेटभित्र बच्चाले के चलाउन मिल्छ, मिल्दैन भनेर तपाईंले छान्न सक्नुहुन्छ । बच्चाको हातमा पर्ने ट्याब्लेटमा यस्तो फिचर भएको धेरै काम लाग्छ ।

 

डिस्प्ले

डिस्प्ले ट्याब्लेटको सबैभन्दा महत्वपूर्ण अंश हो । ट्याब्लेट किन्दा किन्ने, नकिन्ने निर्णय गर्न डिस्प्लेको ठूलो भूमिका हुन्छ । अहिलेका धेरै ट्याब्लेटका मोडलमा एचडी डिस्प्ले (१२८०ह७२० वा माथिको रेजोलुसन) हुन्छ । एप्पलले रेटिना डिस्प्ले भन्ने फिचर आफ्ना ट्याब्लेटमा राखेको छ जसमा धेरै पिक्सेलको कारणले गर्दा डिस्प्ले धेरै ट्याब्लेटभन्दा स्पष्ट देखिन्छ । ट्याब्लेट उत्पादकले आफ्ना नयाँ उत्पादनमा एप्पलको यस फिचरसँग राम्रो प्रतिस्पर्धा गर्ने डिस्प्ले निकालिसकेका छन् । ट्याब्लेट घरबाहिर धेरै चलाउनुपर्छ भने डिस्प्ले साधारणभन्दा अलि उज्यालो चाहिने हुनाले सोही अनुसार किन्दा राम्रो हुन्छ ।

 

कतिको पढिन्छ ? 

किताब पढ्न मात्र ट्याबलेट प्रयोग गर्ने हो भने सानो स्क्रिन भएको ब्याट्री धेरै टिक्ने किन्दा बेस हुन्छ । समाचार र म्यागजिन पढ्ने, इमेल गर्ने, र इन्टरनेट चलाउने हो भने अलि ठूलो स्क्रिन भएको हेर्दा उपयुक्त हुन्छ ।

 

अपरेटिङ सिस्टम

विन्डोज, आइओएस र एन्ड्रोइड जस्ता चलेका अपरेटिङ सिस्टम भएका ट्याब्लेट बजारमा पाइन्छन् । विन्डोज ट्याब्लेटमा एपको कमी छ, एप्पलको आइओएस प्रयोग गर्ने प्रायः ट्याब्लेट अरुभन्दा महँगा हुन्छन् र त्यसैले अहिले एन्ड्रोइड अपरेटिङ सिस्टम भएका ट्याब्लेट धेरै चर्चित छन् ।

यसमा तपाईको मत