ग्याजेट विशेष

कुन सामाजिक संजालको प्रयोगकर्ता कति ? टिकटक कुन स्थानमा ?

  नागरिक   2019-08-26

इन्टरनेटको द्रुत विकासले गर्दा सामाजिक संजाल प्रयोगकर्ताहरू पनि निकै धेरै संख्यामा बढेका छन् । आजभोलि एकै व्यक्तिको पनि एकभन्दा बढी सामाजिक संजालहरू हुने गर्दछन् । यहाँ कुन सामाजिक संजालमा कति जना प्रयोगकर्ता छन् भन्ने कुराको जानकारी प्रदान गरिएको छ ।

यहाँ उल्लेख गरिएको संख्या विभिन्न तथ्याङ्कहरू जम्मा गर्ने सबैभन्दा प्रचलित वेबसाइट स्टाटिस्टा बाट साभार गरिएको हो । सन् २०१९ को जुलाई महिनासम्ममा कुन सामाजिक संजालमा कति जना मासिक प्रयोगकर्ता छन् भन्ने कुराको जानकारी यहाँ दिईएको छ :

१. फेसबुक - २ अर्ब ३७ करोड

फेसबुक नै बिगतको लगभग एक दशक देखि नै संसार कै सबैभन्दा धेरै प्रयोग कर्ता भएको सामाजिक संजाल रहेको छ । स्टाटिस्टा वेबसाइटका अनुसार हाल फेसबुकको मासिक प्रयोगकर्ताको संख्या २ अर्ब ३७ करोड रहेको छ । फेसबुक कै मेसेज र च्याट गर्नका लागि बनेको एप “फेसबुक मेसेन्जर” को पनि मासिक प्रयोगकर्ता १ अर्ब ३० करोड रहेको छ - जुन आँफैमा पनि चौथो सबैभन्दा बढी प्रयोगकर्ता भएको सामाजिक संजालमा पर्न जान्छ ।

२. युट्युब  - २ अर्ब

गुगलको भिडियो सेयर र स्ट्रिम गर्ने सेवा युट्युब अहिलेको सबैभन्दा प्रचलित भिडियो प्ल्याटफर्म हो । स्टाटिस्टा को अनुसार २ अर्ब भन्दा बढी प्रयोगकर्ताले मासिक रुपमा  युट्युब प्रयोग गर्दै आएका छन् । यो संख्याले  युट्युबलाई अहिलेको दोस्रो सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक संजाल बनाउछ ।

३. वाट्सएप - १ अर्ब ६० करोड

च्याट मेसेजिंग एप वाट्सएप संसार कै सबैभन्दा प्रचलित इन्स्ट्यान्ट मेसेजिंग सेवा हो । यस एपको मासिक १ अर्ब ६० करोड जना प्रयोगकर्ता रहेकाछन् । फेसबुक कै स्वामित्वमा रहेको एप भारत र ब्राजिल जस्ता देशमा निकै नै प्रचलित रहेको छ । फेसबुकले सन् २०१४ मा वाट्सएपलाई १९ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो ।

४. विच्याट - १ अर्ब ११ करोड

चाइनाको सबैभन्दा प्रचलित सामाजिक संजाल रहेको विच्याटको मासिक प्रयोगकर्ता संख्या १ अर्ब ११ करोड रहेको छ । विच्याट सामाजिक संजालका साथमा बहुउद्देश्यीय सेवा पनि हो जसबाट प्रयोगकर्ताले पैसा पठाउन र पैसा तिर्न सक्नेछन् ।  हालका लागि नेपालमा विच्याटको पैसा पठाउने र तिर्ने सेवा अर्थात् विच्याट पे माथि प्रतिबन्ध लगाइएको छ ।


५. इन्स्टाग्राम - १ अर्ब

फेसबुक कै स्वामित्वमा रहेको फोटो सेयर गर्ने सामाजिक संजाल इन्स्टाग्रामको मासिक प्रयोगकर्ताको संख्या १ अर्ब रहेको छ । फेसबुकले सन् २०१२ मा १ अर्ब अमेरिकी डलर खर्चेर इन्स्टाग्राम खरिद गरेको थियो । सो समयमा इन्स्टाग्राममा केवल ३ करोड प्रयोगकर्ता थिए - तर अहिले सो संख्या ३३ गुणाले बढेको छ ।

६. क्युक्यु - ८२ करोड

चाइनाका लागि विच्याट पछिको सबैभन्दा प्रचलित सामाजिक संजाल हो क्युक्यु । यो सामाजिक संजाल चिन कै सबैभन्दा ठूलो प्रविधि कम्पनी - टेनसेन्टको स्वामित्वमा रहेको छ । पब्जी मोबाइल जस्ता गेमको निर्माता रहेको टेनसेन्टको स्वामित्वमा रहेको क्युक्यु एपको मासिक प्रयोगकर्ताको संख्या ८२ करोड रहेको छ ।

७. टिकटक - ५० करोड

अहिलेको सबैभन्दा द्रुतगतिमा बढ्ने सामाजिक संजाल हो टिकटक । चिनमा डुइनका नामले चिनिने र सन् २०१६ मा म्युजिकल्ली खरिद गरेर आफ्नो पहुँचलाई अझ फराकिलो बनाउन सफल भएको टिकटकको मासिक प्रयोगकर्ताको संख्या ५० करोड रहेको छ ।

८. विईबो - ४६ करोड

सिना विईबोको नामले चिनिने चाइना कै सबैभन्दा ठूलो माइक्रो ब्लागिंग संजालमा मासिक ४६५ करोड जना प्रयोगकर्ता रहेका छन् । यस एपलाई चाइनाको ट्वीटरको नामले पनि चिनिने गरिन्छ ।

९. रेडीट - ३३ करोड

रेडीट अहिलेको सबैभन्दा ठूलो छलफल गर्ने र विभिन्न कुराहरू सेयर गर्ने सबैभन्दा ठूलो प्ल्याटफर्म रहेको छ । यसमा प्रयोगकर्ताहरू सबै अपरिचित हुने गर्दछन् र विविध विषयमा छुटाइएको सब-रेडिटहरूलाई फलो गर्न र उक्त सब-रेडीटमा पोस्ट गर्न सक्नेछन् । हाल यस छलफल गर्ने फोरमको मासिक प्रयोगकर्ता संख्या ३३ करोड रहेको छ ।

१०. ट्वीटर - ३३ करोड

निकै नाम चले पनि तुलनात्मक रुपमा  खासै धेरै प्रयोगकर्ता नभएको सामाजिक संजाल हो ट्वीटर । स्टाटिस्टा को अनुसार अहिले ट्वीटरमा मासिक ३३ करोड प्रयोगकर्ता मात्र रहेकाछन् । कुनै समयमा फेसबुकको प्रत्यक्ष प्रतिष्पर्धी मानिएको यस सामाजिक संजालमा फेसबुकको तुलनामा लगभग ८ गुणा कम प्रयोगकर्ताहरू रहेका छन् ।

स्रोत: स्टाटिस्टा

 

यसमा तपाईको मत