ग्याजेट विशेष

स्मार्टफोनसँग सम्बन्धित केही भ्रम र सत्यहरू

  नागरिक   2019-09-08

स्मार्टफोनको प्रयोग र फिचरको बारेमा प्रयोगकर्ता माझ धेरै विषयमा भ्रमहरू फैलिएको पाइन्छ । यस्ता धेरै भ्रमहरूको न त कुनै अर्थ हुन्छ, न त कुनै महत्त्व । यस्तै केही भ्रमहरू र सो भ्रमहरूसँग सम्बन्धित सत्यहरूको बारेमा यहाँ चर्चा गरिएको छ :

१. स्मार्टफोनलाई धेरै चार्ज गर्नु हुँदैन

स्मार्टफोनलाई १०० प्रतिशत भएपछि चार्ज गर्नु नहुने भन्ने कुराको भ्रम धेरै प्रयोगकर्तामा रहेको हुन्छ । स्मार्टफोनको ब्याट्रीलाई १०० प्रतिशत भएपछि पनि चार्ज गर्दा उक्त ब्याट्रीको आयु घट्ने वा ब्याट्री सम्बन्धित दुर्घटना हुने सोच धेरैले राखेका हुन्छन । र, यो सोचाइ सरासर गलत हो ।

आजभोलिमा हरेक स्मार्टफोनहरू, नामले सुझाए अनुसार, साचिकै स्मार्ट छन् । सबै नयाँ स्मार्टफोनहरूमा एउटा सानो स्मार्ट चिप राखिएको हुन्छ जसले स्मार्टफोनको ब्याट्रीलाई १०० प्रतिशतभन्दा बढी चार्ज हुन दिदैन । यसर्थ, स्मार्टफोनको ब्याट्रीको चार्ज १०० प्रतिशत पुगेपछि सो चिपले ब्याट्रीलाई चार्ज गर्न बन्द गरिदिन्छ । त्यसैले १०० प्रतिशत चार्ज भएपछि पनि स्मार्टफोनलाई चार्ज मै जोडेर छाड्दा पनि केही फरक पर्दैन ।

यस विषयमा लेखिएको पूरा लेख पढ्नका लागि यस लिंकमा क्लिक गर्नुहोस् : स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?


२. टास्क लिस्टबाट एपलाई बन्द नगरे स्मार्टफोन स्लो हुन्छ

हरेक स्मार्टफोनमा हालै खुलेको एपको सूची अर्थात् टास्क लिस्ट हुन्छ । यो लिस्ट आइफोनमा होम बटनलाई दुई पटक दबाएर वा माथि स्वाइप गरेर खोल्न सकिन्छ भने एन्ड्रोइडमा तल पट्टि भएको सानो वर्गाकारको बटनलाई थिचे पछि खुल्ने गर्छ । अधिकांस प्रयोगकर्ताले यस सूचीमा देखाइएका एपहरूलाई बन्द नगर्दा स्मार्टफोन स्लो हुने सोच राख्ने गर्छन जुन गलत हो । यस सूचीबाट एपलाई बन्द गर्दैमा स्मार्टफोन फास्ट हुने वा बन्द नगर्दामा स्मार्टफोन स्लो हुने होइन । यस सूचीबाट एपलाई बन्द नगर्दा खेरि चाँही एपहरू चाडैं लन्च हुने गर्दछन् किन कि उक्त एप पहिलेबाट नै र्याममा लोड भईसकेको हुन्छ ।

टास्क लिस्टबाट एपलाई बन्द गर्नुको कुनै पनि ठोस् फाइदा छैन । टास्क लिस्टबाट एपलाई बन्द गर्दा सो एप उल्टै पुन र्याममा लोड गर्नु पर्ने हुन्छ जसलाई अझै थप समय लाग्ने गर्छ ।

३. धेरै मेगापिक्सल भएको क्यामरा राम्रो

मेगापिक्सलले क्यामराको गुणस्तरलाई भन्दा पनि क्यामराले खिच्ने तस्विरको रेजोलुसनलाई बुझाउछ । आजभोली बजारमा ४८ मेगापिक्सलसम्मका क्यामरा भएको स्मार्टफोनहरू पनि खरिद गर्न सकिन्छ । तर धेरै मेगपिक्सल वा रेजोलुसन हुँदैमा क्यामरा राम्रो हुने होइन । क्यामरा राम्रो हुनका लागि क्यामराको सेन्सर र क्यामराको तस्विरलाई मिलाउने सफ्टवेयर पनि राम्रो हुनुपर्छ । यहि कारणले गर्दा नै थोरै मेगापिक्सल भएपनि सामसंग ग्यालेक्सी एस १० को क्यामरा सायोमी रेड्मी नोट ७ को भन्दा निकै राम्रो छ । रेड्मी नोट ७ मा ४८ मेगापिक्सलको क्यामरा रहेको छ भने सामसंग ग्यालेक्सी एस १० मा केवल १६ मेगापिक्सलको क्यामरा रहेको छ ।
मेगापिक्सल भनेको के हो र यो धेरै हुनुको फाइदा के कस्ता छन् भनेर पढ्नका लागि यस लिंकमा क्लिक गर्नुहोस् : मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

४. ब्याट्रीको चार्ज शून्य हुन दिनु हुँदैन

ब्याट्रीलाई धेरै चार्ज गर्नु हुँदैन भन्ने भ्रम जस्तै ब्याट्रीलाई शून्य हुन दिनु हुँदैन भन्ने भ्रम पनि प्रयोगकर्ता माझ उतिकै रहेको हुन्छ । ब्याट्रीलाई शून्य प्रतिशत बनाउदा ब्याट्रीको चार्ज थाम्न सक्ने क्षमतामा केही पनि असर गर्दैन । कुनै पनि ब्याट्रीले आफ्नो असली क्षमतामा रहेर कति पटकसम्म फुल चार्ज भएर डिस्चार्ज हुनसक्छ भन्ने कुरालाई उक्त ब्याट्रीको साइकल संख्या भन्ने गरिन्छ ।

उदाहरणका लागि : यदी तपाईंले स्मार्टफोनको ब्याट्रीलाई ५० प्रतिशतबाट १०० प्रतिशतसम्म चार्ज गर्नुहुन्छ भने उक्त ब्याट्रीको आधा साइकल पूरा हुन्छ । यसै गरी एकपटक शून्य प्रतिशत बनाएर १०० प्रतिशत बनाउँदाखेरि उक्त ब्याट्रीको एक साइकल ( चक्र ) पूरा हुन्छ । यस साइकललाई कति समय चार्ज गरियो भन्ने कुराले केही फरक पार्दैन । कुनै पनि लिथियम आयन ब्याट्री कति समयसम्म चार्ज भयो भन्दा पनि ब्याट्री कति प्रयोग भयो भन्ने कुरामा उक्त स्मार्टफोनको ब्याट्रीको आयु निर्भर हुन्छ ।त्यसैले ब्याट्रीको चार्ज शून्य प्रतिशत हुँदैमा ब्याट्रीको क्षमतामा खासै फरक पर्दैन ।


५. वाइफाई र ब्लुतुथ अन राख्दा चार्ज चांडो सकिन्छ

ब्याट्री बचत गर्ने भन्दै वाइफाई र ब्लुतुथ अफ गर्ने बानी यदि तपाईंको पनि छ भने अबबाट यस्तो गर्न बन्द गरिदिनुहोस्, किन कि वाइफाई र ब्लुतुथ अन राख्दैमा स्मार्टफोनको ब्याट्री चाडै सकिने होइन । वाइफाई र ब्लुतुथले प्रयोगमा आएको समयमा मात्र ब्याट्रीबाट चार्ज खपत गर्ने गर्दछन् । प्रयोगमा नआएको समयमा यिनीहरूले ब्याट्रीबाट यतिसम्म थोरै चार्ज खपत गर्छन कि यो अन गर्नु र अफ गर्नुको बीचमा देखा पर्ने किसिमको अन्तर नै देखिदैन ।

 

यसमा तपाईको मत