ग्याजेट विशेष

२०१९ मा स्मार्टफोन बजार - हुवावेको ४४% वृद्धि , एप्पल झन् तल झर्यो

  नागरिक   2019-05-30

सन् २०१९ मा भएको स्मार्टफोन बजारको अवस्था र स्मार्टफोन निर्माताहरूको बजार हिस्सा र बिक्रीलाई दर्शाउने गरि गार्टनरले प्रतिवेदन प्रकाशित गरेको छ । उक्त प्रतिवेदनमा सन् २०१९ को पहिलो ३ महिनामा भएको स्मार्टफोन बिक्री संख्याहरू देखाइएको छ ।

गार्टनरका अनुसार गत वर्ष यहि समयको तुलनामा यस वर्ष स्मार्टफोन बिक्री २.७ प्रतिशतले घटेको छ । यसरी स्मार्टफोनको बिक्री लगातार घट्ने क्रम केहि वर्ष अगाडी नै सुरु भएको थियो र यस वर्ष उक्त दर ८.६५ प्रतिशतमा पुगेको छ ।

सामसंग नै अहिलेको नम्बर १ स्मार्टफोन निर्माता रहेको छ । सामसंगले यो सालको पहिलो ३ महिना मै ७ करोड १६ लाख वटा स्मार्टफोनहरू बेच्न सफल भएको छ । यसबाट सामसंगको बजार हिस्सा १९.२ प्रतिशत  रहेको छ । गत वर्षको तुलनामा सामसंगको स्मार्टफोन बिक्री लगभग १० प्रतिशतले घटेको हो । गत वर्ष यही समयमा सामसंगको बजार हिस्सा २०.५ प्रतिशत रहेको थियो ।

गत वर्ष दोस्रो स्थानमा रहेको एप्पल अहिले झरेर तेस्रो स्थानमा पुगेको छ । हाल एप्पलको बजार हिस्सा ११.९ प्रतिशत रहेको छ जहाँ कि एप्पलको गत वर्षको बजार हिस्सा १४.१ प्रतिशत रहेको थियो । गत वर्ष यहि समयमा ५ करोड ४० लाख आइफोन बेच्न सफल भएको एप्पलले यस वर्ष ४ करोड ४५ लाखवटा आइफोन बेच्न सफल भएको छ - यसर्थ आइफोनको बिक्री लगभग १ करोडले झरेको छ ।

यस वर्ष हुवावेले आइफोन निर्माता एप्पललाई जित्न सफल भएको छ ।  गत वर्ष यहि समयमा हुवावेको  १०.५ प्रतिशत स्मार्टफोन बजार हिस्सा थियो जुन संख्या अहिले ४४ प्रतिशतले बढेर १५.७ प्रतिशत हुन पुगेको छ । हुवावे अहिलेको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बन्न सफल भएको छ ।

चौथो र पाचौं स्थानमा चाइनिज कम्पनी अप्पो र भिभो रहेका छन् । चाइनिज कम्पनी सायोमी भने उच्च ५ स्थानमा पर्न सकेको छैन । सायोमी अहिले छैठौं स्थानमा रहेको छ । सामसंग, हुवावे, एप्पल, अप्पो र भिभोले मात्र स्मार्टफोन बजारको लगभग ६० प्रतिशत कब्जा गर्न सफल भएका छन् ।

स्रोत: गार्टनर

 

यसमा तपाईको मत