ग्याजेट विशेष

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

  नागरिक   2020-03-22

कोरोनाभाइरस अर्थात् कोभिड-१९ का कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ । गत वर्षको फेब्रुअरीमा भएको स्मार्टफोन बिक्री र यस वर्षको फेब्रुअरीमा भएको स्मार्टफोन बिक्रीमा ३८ प्रतिशत गिरावट आएको हो । रिसर्च तथा अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्सले निकालेको रिपोर्टमा यी कुराहरू उल्लेख गरिएको छ ।

यो फेब्रुअरीमा संसारभर ६ करोड १८ लाखवटा स्मार्टफोनहरू बजारमा उपलब्ध गराइए । गत वर्षको फेब्रुअरी महिनामा लगभग १० करोड वटा स्मार्टफोनहरू बजारमा बिक्री वितरणका लागि उपलब्ध गराइएका थिए ।

कोरोनाभाइरसका कारणले चिनका फ्याक्ट्रीहरू बन्द हुन थालेपछि स्मार्टफोनको निर्माणमा रोक लागेको थियो । जनवरीमा चिनका अधिकांस फ्याक्ट्रीहरू बन्द भएपछि स्मार्टफोन र इलेक्ट्रोनिक्स लगायत अन्य उत्पादनहरू निर्माणमा पनि रोक लागेको थियो ।

फ्याक्ट्री बन्द हुनुका साथ-साथै संसार भरका विभिन्न स्मार्टफोन पसलहरू पनि बन्द भएको छ । एप्पलले पनि आफ्नो अनलाइन स्टोरबाट एक पटकमा अधिकतम्  दुईवटा मात्र आइफोन खरिद गर्न मिल्ने बनाएको छ । सामसंग ग्यालेक्सी एस २० को बिक्री पनि सामसंगले सोचेभन्दा निकै कम भएको छ ।

भाइरसका कारणले अधिकतम् उपभोक्ताहरूले स्मार्टफोन जस्ता वस्तुहरू खरिद गर्नमा पैसा खर्च गर्न खोजेका छैनन् जसले गर्दा पनि स्मार्टफोन लगायत अन्य इलेक्ट्रोनिक उपकरणहरूको बिक्रीमा ठूलो गिरावट आएको छ ।

“फेब्रुअरी २०२० मा स्मार्टफोन बजारले संसार कै सबैभन्दा ठूलो गिरावट देख्नु परेको छ । चिन लगायत अन्य देशमा स्मार्टफोनको माग घटेसँगै आपूर्ति पनि निकै कम भएको छ ।” - स्ट्राटेजी एनालिटिक्सका प्रबन्धकले बताए । “कोरोनाभाइरसको महामारी सकिएपछि स्मार्टफोन बजारलाई माथि लैजानका लागि स्मार्टफोन निर्माताहरूले भारी डिस्काउन्ट दिनु पर्ने हुन सक्छ” - उनले थपे ।

कोरोनाभाइरस झन् झन् फैलिदै गएका कारणले स्मार्टफोन लगायतका इलेक्ट्रोनिक्स वस्तुको मागमा अझै धेरै गिरावट आउने सम्भावना रहेको छ ।

स्रोत : स्ट्राटेजी एनालिटिक्स

यसमा तपाईको मत