अटो विशेष

अटो सोमा साना गाडीमा आकर्षण

    2019-09-01

काठमाडौं– रामेछापका भरतकुमार श्रेष्ठ काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो सो २०१९ मा गाडी अवलोकन गर्दै थिए । स्कुटी चढ्दै आएका श्रेष्ठ पछिल्लो समय चारपांग्रे किन्ने सोचमा छन् । 
एउटा छोरासहित तीनजनाको परिवार काठमाडौंमा बस्दै आएका उनले भने, ‘अब छोरा हुर्कियो । तीनैजना कतै स्कुटीमा जान सम्भव नहुने । सस्तै भए पनि चारपांग्रे भए सहज हुन्थ्यो कि भन्ने लागेको छ ।’ 
उनी मात्र होइन, उनको जस्तै विचार भएका धेरै साना गाडीको स्टल वरिपरि भीड लागेको देखिन्थ्यो । विशेषगरी, काठमाडौंमा सार्वजनिक गाडीमा असहज यात्रा गर्नुपर्ने र समय अनुसार उपभोक्ताका आवश्यकता समेत बदलिँदै जाँदा उनीहरु साना गाडीतर्फ आकर्षित देखिन्छन् । 
अर्कोतिर धेरै मध्यम आय भएका उपभोक्ता केही सस्तो मूल्यका गाडी खोजी गरिरहेका देखिन्छन् । त्यसमाथि यस्ता प्रदर्शनीमा विशेष छुटको समेत व्यवस्था हुने हुँदा अलि बढी आकर्षण भएको निसान मोटर्सको अधिकृत बिक्रेता पायोनियर मोटर्सका सेल्स म्यानेजरका सन्ध्या श्रेष्ठले जानकारी दिइन् । 
उनका अनुसार निसानका गाडीमा नाडा र फेस्टिवल अफर भनेर तीनदेखि १० लाखसम्म छुट र विदेश भ्रमणसम्मको अवसर छ । सोमा २५ देखि ३० लाखसम्मका गाडीबारे बुझ्ने बढी रहेको सुजुकीको अधिकृत बिक्रेता नारायणी अटो बिजनेसकी सेल्स अधिकृत विवेचना महतले बताइन् । उनका अनुसार नयाँ लन्च भएका गाडी अवलोकन गर्नेको संख्या बढी भए पनि नयाँ गाडी अर्डर कम पाइएको छ । सोमा बिजुलीबाट चल्ने गाडी अवलोकन गर्नेको संख्या पनि उल्लेख्य रहेको प्रदर्शकहरु बताउँछन् । 
 

यसमा तपाईको मत