ग्याजेट विशेष

स्लो कम्प्युटरको समाधान

  नागरिक   2020-03-15

कम्प्युटर स्लो हुनुमा कारण भने थुप्रै हुनसक्छन् । कसैको हार्डवेयर पुरानो भएको कारणले कम्प्युटर स्लो भएको हुनसक्छ भने कसैको सफ्टवेयर अर्थात् अपरेटिंग सिस्टममा आएको समस्याबाट पनि कम्प्युटर स्लो भएको हुनसक्छ । कम्प्युटर स्लो भएको खण्डमा यी कामहरू गर्नुहोस् 

१. र्याम थप्नुहोस् 

जति धेरै र्याम , त्यती नै धेरै प्रोग्रामहरु एकै पटकमा कम्प्युटरलाई स्लो नबनाइ चल्न सक्छ । पर्याप्त र्याम भएको कम्प्युटरमा क्रोम र एज जस्ता इन्टरनेट ब्राउजरमा धेरै ट्याबहरू खोल्दा पनि ब्राउजर स्लो हुँदैन । यदि तपाईंको कम्प्युटर स्लो छ भने सबैभन्दा पहिले र्याम थप्नु उचित हुन्छ । कम्प्युटरमा कति जीबी र्याम पर्याप्त हुन्छ भन्ने कुराको जानकारीको लागि यो लेख पढ्नुहोस्: https://nagarikbazaar.nagariknetwork.com/news/how-much-do-i-need-nepali

२. विन्डोजलाई पुन: इन्स्टल गर्नुहोस् 

निकै लामो समयदेखि प्रयोगमा आइरहँदा कम्प्युटरमा विन्डोजका थुप्रै अनावश्यक फाइलहरू जम्मा भएर कम्प्युटरलाई स्लो गर्दिन सक्छ । त्यसैले कम्प्युटर स्लो भएको खण्डमा विन्डोजलाई पुन: इन्स्टल गर्नु उचित हुन्छ । विन्डोजलाई पुन: इन्स्टल गर्दा C ड्राइभमा भएको फाइलहरू डिलिट हुन्छ - त्यसैले विन्डोज पुन: इन्स्टल गर्दा विचार पुर्याउनु पर्ने हुन्छ र आफ्नो महत्वपूर्ण फाइलहरूलाइ ब्याकअप गर्नु उचित हुन्छ । 

३. एसएसडी राख्नुहोस् 

पुराना कम्प्युटर वा ल्यापटपलाई फास्ट चल्ने बनाउनका लागि एसएसडीको प्रयोग गर्न सकिन्छ । एसएसडीहरु साधारण हार्ड डिस्कको तुलनामा १० गुणाभन्दा बढी फास्ट हुन्छन । महँगा एसएसडीहरु हार्ड डिस्कभन्दा ३० गुणासम्म पनि फास्ट हुनेगर्दछन् । एसएसडी किन प्रयोग गर्ने भन्ने कुराको जानकारीका लागि यहाँ जानुहोस्: https://nagarikbazaar.nagariknetwork.com/news/ssd-makes-laptop-faster-nepali


४. कम्प्युटरमा लागेको धुलोलाई हटाउनुहोस् 

कम्प्युटरको सीपीयुमा धुलोले गर्दा धेरै ताप पैदा हुने गर्दछ । जति धेरै ताप पैदा हुन्छ, त्यति नै प्रोसेसरले स्लो काम गर्न सुरु गर्छ  । पुरानो र राम्रोसँग सफाई नगरेको कम्प्युटर प्रयोगको बेलामा स्लो हुनेगर्दछन् । त्यसैले कम्प्युटरको सिपियुमा हुने फ्यान ( पंखा ) र पावर सप्लाईमा हुने पंखालाई समय समयमा सफा गरिरहनु पर्दछ । धुलो हटाउनका लागि कम्प्रेस गरेको क्यानमा हुने हावा प्रयोग गर्न सकिन्छ वा ब्लोअर पनि प्रयोग गर्न सकिन्छ । सफा गर्ने बेलामा पानीको प्रयोग प्रयोग गर्नु हुँदैन ।  

५. थर्मल कम्पाउण्ड परिवर्तन गर्नुहोस् 

सीपीयुको भित्र हुने मुख्य प्रोसेसर र प्रोसेसरको पंखाको बीचमा हाल्ने लेपलाई थर्मल कम्पाउण्ड वा थर्मल पेस्ट भनिन्छ । उक्त कम्पाउण्डको काम प्रोसेसरले पैदा गरेको तापलाई प्रोसेसरको बोर्डमा राम्रोसँग फैलाउनु हो । धेरै वर्षको प्रयोग पछि उक्त कम्पाउण्डले राम्रोसँग काम गर्न छोड्ने गर्दछ र यस कै कारणले कम्प्युटरमा धेरै ताप पैदा हुन सुरु गर्छ । जति धेरै ताप पैदा हुन्छ, त्यति नै प्रोसेसरले स्लो काम गर्छ । 

बजारमा सस्तोमा नेरु ५० देखि महँगोमा ७००-१००० सम्मक थर्मल पेस्टहरू खरिद गर्न पाइन्छ । सस्ता थर्मल पेस्टहरू टिकाउ हुँदैनन् र बारम्बार फेरिरहनु  पर्ने हुन्छ । उक्त थर्मल पेस्ट फेर्नका लागि प्राविधिक ज्ञान भएकै विज्ञलाई नै जिम्मा लगाउनु उचित हुन्छ । 

६. प्रोसेसर अपग्रेड गर्नुहोस् 

यदि प्रोसेसर नै निकै पुरनो छ भने र्याम र एसएसडी जति थपे पनि कम्प्युटर फास्ट चल्न सक्दैन । यदि तपाईंको कम्प्युटरमा इन्टेलको पेन्टिय, सेलेरन जस्ता  डुयल कोर प्रोसेसर, एएमडीको फिनम वा पुरानो प्रोसेसर छ भने तपाईंले प्रोसेसर नै नयाँ खरिद गर्नु उचित हुन्छ । 
 

यसमा तपाईको मत