ग्याजेट विशेष

स्लो एन्ड्रोइड स्मार्टफोनको समाधान !

  नागरिक   2019-07-29

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? यस्तो छ समाधान :

१. अनावश्यक  एपहरू डिलिट गर्नुहोस्

तपाईंले इन्स्टल गरेका अधिकांश एप ब्याकग्राउण्डमा चलिरहेका हुन्छन । दुई-चारवटा एप ब्याकग्राउण्डमा चल्दा त खासै फरक पर्दैन तर जब ब्याकग्राउण्डमा चल्ने एपको संख्या बढ्दै जान्छ तब तपाईंको स्मार्टफोन स्लो हुँदै जान्छ । नयाँमा राम्रो चल्ने एन्ड्रोइड स्मार्टफोन पछि गएर स्लो चल्नुको मुख्य कारण नै यही हो । त्यसैले आफ्नो स्मार्टफोनमा अनावश्य धेरै एप इन्स्टल नगर्नुहोस् । इन्स्टल भइसकेका तर खासै प्रयोगमा नआएका एप डिलिट गरिदिनुहोस् । यदि कुनै एपको Lite भर्सन उपलब्ध छ भने Lite भर्सन नै प्रयोग गर्नुहोस्, उदाहरणका लागि Facebook Lite, Twitter Lite आदि । अन्य एप चलाउँदा पनि Ad दिने, लकस्क्रिन मै Ad दिने, नोटिफिकेसनमै बसिरहने एपहरुलाई सिधा डिलिट गरिदिनु होस् । यस्तो एपको विकल्प खोज्नु नै राम्रो हुन्छ । Settings को Battery मा गएर एप प्रयोगको निगरानी गर्नुहोस् । तपाईंले प्रयोग नगरेको कुनै एपको ब्याट्री खपत धेरै छ भने उक्त एपले नै तपाईंको स्मार्टफोन स्लो बनाइरहेको हुन सक्छ ।

२. कम र्याममा चल्ने लन्चरको प्रयोग गर्नुहोस् :

एन्ड्रोइड स्मार्टफोनमा लन्चर, किबोर्ड, लकस्क्रिन आदि सबै परिवर्तन गर्न मिल्छ । नयाँ किन्दा भएको लन्चर, किबोर्ड, लकस्क्रिन मन परेन भने त्यसको सट्टामा तपाईंले हजारौं विकल्प प्लेस्टोरमा भेट्न सक्नुहुनेछ । तर यी लन्चर, किबोर्ड आदि परिवर्तन गर्दाको एउटा कम्जोर पक्ष छ- परफरमेन्स स्लो हुने ।

धेरै Ad आउने, धेरै तडकभडक भएको र अनावश्यक फिचर बढी भएको लन्चरले ब्याट्री र RAM दुवै धेरै प्रयोग गर्छ जसले गर्दा तपाईंको स्मार्टफोन स्लो हुन जान्छ । सकेसम्म लन्चर, किबोर्ड र लकस्क्रिन डिफल्ट नै प्रयोग गर्न कोसिस गर्नुहोस् । कुनैकुनै लन्चरहरु डिफल्टभन्दा पनि फास्ट हुन्छन्, उदाहरणका लागि Nova Launcher. त्यस्ता लन्चरको प्रयोग गर्नुहोस् ।किबोर्डमा GBoard, Swiftkey जस्ता किबोर्डको प्रयोग गर्नुहोस् । होमस्क्रिनमा धेरै Widget हरु नराख्नुहोस् ।

३. नियमित रूपमा स्मार्टफोनलाई रिस्टार्ट गर्नुहोस्

तपाईंले यसअगाडी कहिले आफ्नो स्मार्टफोन रिस्टार्ट गर्नुभएको थियो ? १-२ दिन भित्रमा गर्नुभएको छैन भने यो पनि स्मार्टफोन स्लो हुनुको एक कारण हुन सक्छ । स्मार्टफोन रिस्टार्ट गर्नाले RAM र टेम्पोररी (अस्थायी) मेमोरी क्लियर हुन्छ जसले गर्दा स्मार्टफोन छिटो चल्छ । २-३ दिन मा एकपटक स्मार्टफोन रिस्टार्ट गर्ने बानी बसाल्नुहोस् । कुनैकुनै स्मार्टफोनले Schedule Restart भन्ने फिचरबाट तपाईंलाई अटोमेटिक र नियमित स्मार्टफोन रिस्टार्ट गर्ने अप्सन दिन्छन् ।

4. स्मार्टफोन पुरानो भयो कि ?

माथि उल्लिखित सबै कुराको समाधानमा भनिएका सबै उपाय अपनाइसक्दा पनि तपाईंको स्मार्टफोन उस्तै स्लो छ भने स्मार्टफोन नै पुरानो भएको हुनुपर्छ । स्मार्टफोन पुरानो हुँदैमा उक्त फोन स्लो हुने चाहिँ होइन तर नयाँ निस्केका एप र गेमलाई अलिक बढी RAM र अलि शक्तिशाली प्रोसेसर आवश्यक परिरहेको हुन्छ जुन तपाईंको पुरानो स्मार्टफोनसँग हुँदैन । नयाँ गेम र एप राम्रोसँग चलाउन नयाँ र शक्तिशाली स्मार्टफोन नै आवश्यक पर्छ । आफ्नो बजेट भित्र पर्ने कस्तो स्मार्टफोन किन्ने भन्ने कुराको जानकारीका लागि हाम्रो वेबसाइटमा प्रकाशित विभिन्न खरिद गाइडहरूको बारेमा पढ्न सक्नु हुनेछ ।

 

यसमा तपाईको मत