ग्याजेट विशेष

१०८ मेगापिक्सल क्यामरा र 5G सहित लन्च भयो सामसंग ग्यालेक्सी एस २० सिरिज

  नागरिक   2020-02-12

सामसंगले आफ्नो नयाँ फ्ल्याग्शिप स्मार्टफोन सिरिजहरू लन्च गरेको छ । यी स्मार्टफोनहरूले एप्पलको नयाँ आइफोन ११ सिरिज र अन्य ब्राण्डका फ्ल्याग्शिपसँग प्रतिस्पर्धा गर्ने छ ।

हालै भएको लन्च इभेन्टमा सामसँगले तीनवटा ग्यालेक्सी एस २० स्मार्टफोनहरू सार्वजनिक गरेको छ - सामसंग ग्याकेलसी एस २०, एस २० प्लस र एस २० अल्ट्रा । सामसंग ग्यालेक्सी एस २० यी मोडलहरू मध्ये सबैभन्दा सस्तो मोडल हो भने एस २० अल्ट्रा सबैभन्दा अब्बल र महँगो मोडल हो ।

सबै मोडलहरूमा फाइभ जी समावेश गरिएको छ र उक्त फाइभ जी सपोर्ट गराउनका लागि स्नापड्रागन ८६५ प्लस वा एक्सीनस ९९० राखिएको छ । अमेरिकामा उपलब्ध हुने मोडलमा स्नापड्रागन ८६५ प्लस हुनेछ भने अन्य देशहरूमा एक्सीनस मोडल राखिने छ ।

सबै मोडलहरूमा १२० हर्जको डिस्प्ले राखिएको छ । अहिले बजारमा उपलब्ध अधिकाँस  स्मार्टफोनहरूमा ६० हर्जको डिस्प्ले राखिएको हुने गर्दछ । १२० हर्जको डिस्प्ले ६० हर्जको तुलनामा निकै रेस्पोंसिभ हुन्छ र फास्ट चल्छ । एकपटक १२० हर्जको डिस्प्ले प्रयोग गरिसकेपछि ६० हर्जको डिस्प्ले खल्लो लाग्न सुरु गर्छ ।

ग्यालेक्सी एस २०

सामसंग ग्यालेक्सी एस २० मा ६.२ इन्चको QHD डिस्प्ले रहेको छ र उपलब्ध तीनवटा मोडल मध्ये सबैभन्दा सस्तो मोडल हो । उक्त डिस्प्ले सामसंगको सुपर एमोलेड प्रविधिको १२० र हर्जको रहेको छ ।

यस मोडलमा १२८ जीबी आन्तरिक स्टोरेज र १२ जीबी र्याम रहेको छ । स्टोरेजलाई बढाउनका लागि मेमोरी कार्डको प्रयोग गर्न सकिन्छ ।

पछाडी तीनवटा नयाँ र  उच्चस्तरीय क्यामराहरू राखिएको छ । मुख्य क्यामरा १२ मेगापिक्सलको रहेको छ । जुम गर्नका लागि टेलीफोटो लेन्स ६४ मेगापिक्सलको रहेको छ जसबाट ३ गुणासम्म अप्टिकल जुम गर्न मिल्छ भने ३० गुणासम्म डिजिटल जुम गर्न मिल्छ । यस लगायत १२ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ ।

सेल्फी क्यामरामा १० मेगापिक्सलको क्यामरा राखिएको छ । उक्त सेल्फी क्यामरालाई डिस्प्लेको बीचमा दुलो बनाएर राखिएको छ ।

सबै चलाउनका लागि ४००० mAh को ब्याट्री रहेको छ र उक्त ब्याट्रीलाई चार्ज गर्नका लागि २५ वाटको चार्जर उपलब्ध गराइने छ । वायरलेस चार्जिंगको सुविधा पनि उपलब्ध गराइएको छ ।

खैरो, निलो र गुलाबी रंगहरूमा उपलब्ध हुने यस मोडलको सुरुवाती मुल्य ९०० अमेरिकी डलर तोकिएको छ । सबैभन्दा सस्तो मोडलमा फाइब जी हुने छैन र ८ जीबी र्याम मात्र हुनेछ ।

ग्यालेक्सी एस २० प्लस

सामसंग ग्यालेक्सी एस २० प्लस मा ६.७ इन्चको QHD+  डिस्प्ले रहेको छ र उपलब्ध तीनवटा मोडल मध्ये बीचमा पर्ने मोडल हो । उक्त डिस्प्ले सामसंगको सुपर एमोलेड प्रविधिको र १२० हर्जको रहेको छ ।
यस मोडलमा १२८, २५६ वा ५१२ जीबी आन्तरिक स्टोरेज र १२ जीबी र्याम रहेको छ । स्टोरेजलाई बढाउनका लागि मेमोरी कार्डको प्रयोग गर्न सकिन्छ । सबैभन्दा सस्तो मोडलमा १२८ जीबी स्टोरेज उपलब्ध हुनेछ ।

एस २० को तुलनामा यस मोडलमा ४ वटा क्यामराहरू राखिएको छ । मुख्य क्यामरा १२ मेगापिक्सलको रहेको छ । जुम गर्नका लागि टेलीफोटो लेन्स ६४ मेगापिक्सलको रहेको छ जसबाट ३ गुणासम्म अप्टिकल जुम गर्न मिल्छ भने ३० गुणासम्म डिजिटल जुम गर्न मिल्छ । यस लगायत १२ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ । एस २० मा समावेश नगरिएको डेप्थ सेन्सर यस मोडलमा उपलब्ध गराइएको छ ।

सेल्फी क्यामरामा १० मेगापिक्सलको क्यामरा राखिएको छ । उक्त सेल्फी क्यामरालाई डिस्प्लेको बीचमा दुलो बनाएर राखिएको छ ।

सबै चलाउनका लागि ४५०० mAh को ब्याट्री रहेको छ र उक्त ब्याट्रीलाई चार्ज गर्नका लागि २५ वाटको चार्जर उपलब्ध गराइने छ । वायरलेस चार्जिंगको सुविधा पनि उपलब्ध गराइएको छ ।


यो मोडल खैरो, निलो र कालो रंगहरूमा उपलब्ध हुनेछ । सबैभन्दा सस्तो एस २० प्लसको मोडललाई नै १ हजार अमेरिकी डलर पर्ने छ तर उक्त मोडलमा फाइभ जी हुनेछैन । फाइभजी समावेश गरिएको मोडललाई ११०० डलर पर्ने छ ।


ग्यालेक्सी एस २० अल्ट्रा

ग्यालेक्सी एस २० अल्ट्रा अन्य मोडलभन्दा ठूलो, फिचरयुक्त र महँगो रहेको छ । यस मोडलको मुख्य आकर्षण नै १०८ मेगापिक्सल क्यामरा र ४० मेगापिक्सल सेल्फी क्यामरा रहेको छ  ।

सामसंग ग्यालेक्सी एस २० अल्ट्रा मा ६.९ इन्चको QHD+  डिस्प्ले रहेको छ र उपलब्ध तीनवटा मोडल सबैभन्दा महँगो र फिचरयुक्त मोडल हो । उक्त डिस्प्ले सामसंगको सुपर एमोलेड प्रविधिको र १२० हर्जको रहेको छ ।

५१२ जीबी सम्म अन्तरिक स्टोरेज रहेको छ । स्मार्टफोनको जगत मै सबैभन्दा धेरै र्याम पनि यहि मोडलमा समावेश गरिएको छ - १६ जीबी । स्टोरेज बढाउनका लागि मेमोरी कार्ड स्लट उपलब्ध छ ।

पछाडी ४ वटा क्यामरा छ । मुख्य क्यामरा १०८ मेगापिक्सलको रहेको छ । जुम गर्नका लागि टेलीफोटो लेन्स ४८ मेगापिक्सलको रहेको छ जसबाट १० गुणासम्म अप्टिकल जुम गर्न मिल्छ भने १००  गुणासम्म डिजिटल जुम गर्न मिल्छ । यस लगायत १२ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ । एस २० मा समावेश नगरिएको डेप्थ सेन्सर यस मोडलमा उपलब्ध गराइएको छ ।

सेल्फी क्यामरामा ४० मेगापिक्सलको क्यामरा राखिएको छ । उक्त सेल्फी क्यामरालाई डिस्प्लेको बीचमा दुलो बनाएर राखिएको छ ।

सबै चलाउनका लागि ठूलो ५००० mAh को ब्याट्री रहेको छ र उक्त ब्याट्रीलाई चार्ज गर्नका लागि ४५ वाटको चार्जर उपलब्ध गराइने छ । वायरलेस चार्जिंगको सुविधा पनि उपलब्ध गराइएको छ ।

सबै ग्यालेक्सी एस २० अल्ट्राका मोडलहरूमा फाइभ जी हुनेछन् । यो मोडल खैरो र कालो रंगमा उपलब्ध हुनेछ । सुरुवाती मूल्य १३५० अमेरिकी डलर रहेको छ ।


तस्विर स्रोत : GSMArena

 

यसमा तपाईको मत