ग्याजेट विशेष

सुधारिएको ग्यालेक्सी फोल्ड रिलिज हुँदै

  नागरिक   2019-07-06

सामसंगले दुई महिना अगाडी रिलिज गर्ने भनेको तर डिस्प्लेको समस्याका कारण रिलिज गर्न नसकेको सामसंग ग्यालेक्सी फोल्ड अब सुधार पछि रिलिज हुने अवस्थामा पुगेको छ । सामसंग ग्यालेक्सी फोल्ड सामसंगको पहिलो फोल्डिंग डिस्प्ले भएको स्मार्टफोन हो ।

ब्लुम्बर्गका अनुसार संसार कै सबैभन्दा ठूलो स्मार्टफोन निर्माताले आफ्नो अभिनव र नौलो प्रकारको स्मार्टफोनको रिडिजाइन गर्न र पहिले देखिएका समस्याहरूलाई समाधान गर्न सफल भएको छ । ग्यालेक्सी फोल्डमा पहिले देखिएका सम्पूर्ण समस्याहरू समाधान भएको जानकारी सामसंगले प्रदान गरेपनि सामसंगले नयाँ सुधारिएको सामसंग ग्यालेक्सी फोल्डको रिलिज मिति भने सार्वजनिक गरेको छैन ।

सामसंगले ग्यालेक्सी फोल्डमा पहिले समस्या देखाएको डिस्प्लेको प्रोटेक्सनलाई डिस्प्लेको सबै स्थानमा समेटेको छ जसले गर्दा उक्त डिस्प्ले प्रोटेक्सनलाई हातले उप्काउन सकिने छैन । सामसंगले प्रोटेक्सन कवच सँगसँगै हिंजलाई पनि पुन: डिजाइन गरेको छ । नयाँ डिजाइन गरिएको हिंज अहिले डिस्प्लेसँग समतल भएर बस्ने छ जसले गर्दा अन्फोल्ड गरेको बेला सामसंग ग्यालेक्सी फोल्ड अझै आकर्षक देखिने छ ।

सामसंगले यही एप्रिल २६ मा हुने भनिएको लन्चलाई विभिन्न रिभ्युरहरूले समस्या देखिएको भनेपछि रद्द गरेको थियो । यस स्मार्टफोनको चर्को लन्च मूल्य, १९८० अमेरिकी डलर यथावत नै रहनेछ । सामसंगले अब चाडै नै ग्यालेक्सी फोल्डको निर्माणलाई गति दिदै बजारमा सुधारिएको ग्यालेक्सी फोल्ड रिलिज गर्ने छ ।

 

स्रोत: ब्लुम्बर्ग

 

यसमा तपाईको मत