ग्याजेट विशेष

सामसंग ग्यालेक्सी नोट १० को रिलिज मिति सार्वजनिक

  नागरिक   2019-07-02

सामसंगले एक टिजर पोस्टरको सहायताबाट नोट १० कहिले रिलिज हुन्छ भनेर जानकारी दिएको छ । सामसंगले अगस्ट ७ मा आयोजना गर्न लागेको अनप्याक्ड इभेन्टमा आफ्नो नयाँ फ्ल्याग्शिप स्मार्टफोन - नोट १० सार्वजनिक गर्ने भएको छ । कम्पनीले पोस्टरमा खासै केही सान्दर्भिक जानकारी प्रदान गरेको त छैन तर तस्विरमा देखिएको स्टाइलसले उक्त अनप्याक्ड इभेन्टको मुख्य आकर्षण नै नोट १० हुने कुराको अनुमान लगाउन सकिन्छ ।

पोस्टर र रिलिज गरिएको सानो भिडियोमा स्टाइलस र सानो गोलो क्यामरा देख्न सकिन्छ जसले अब आउने ग्यालेक्सी नोट १० मा पन्चहोल क्यामरा हुने फिचरलाई संकेत गरेको बुझ्न सकिन्छ । विभिन्न लिकहरूका अनुसार ग्यालेक्सी नोट १० को सेल्फी क्यामरा डिस्प्लेको माथिल्लो भागको  बीचमा हुनेछ जसलाई सामसंगले इन्फिनिटी ओ ( Infinity O ) नाम दिएको छ ।

अन्य लिकका अनुसार सामसंगले यस पटक तीन वटा नोट १० को संस्करणहरू रिलिज गर्ने छ ।  जस मध्ये एउटा हुनेछ नोट १० को अब्बल संस्करण - नोट १० प्लस र अन्य दुई हुनेछन् साधारण नोट १० र नोट १० फाइभ जी । लिक कै अनुसार दुवै नोट १० र नोट १० प्लसको डिजाइन एकै किसिमको हुनेछ तर नोट १० प्लसमा भने ठूलो डिस्प्ले हुनेछ र पछाडी एउटा थप क्यामरा हुनेछ ।

सामसंग ग्यालेक्सी नोट १० मा ६.३ इन्चको सुपर एमोलेड डिस्प्ले हुने विश्वास गरिएको छ भने नोट १० प्लसमा ६.७५ इन्चको डिस्प्ले हुने विश्वास गरिएको छ । दुवै मोडलमा डिस्प्लेको रेजोलुसन एकै हुने तर ब्याट्रीको क्षमत भने फरक हुने कुरा पनि विभिन्न लिकहरूको सहायताबाट जानकारी पाइएको छ ।

यस वर्षको नोट १० मा डिस्प्ले भित्र नै फिंगरप्रिन्ट स्क्यानर हुने, युएसबी सी पोर्ट हुने र सामसंगको सबैभन्दा शक्तिशाली प्रोसेसर हुने विश्वास गरिएको छ । लिकका अनुसार सामसंग ग्यालेक्सी नोट १० नै हेडफोन ज्याक नहुने सामसंगको पहिलो स्मार्टफोन हुने मानिएको छ । ग्यालेक्सी नोट १० का तीनै  मोडलमा स्न्यापड्रागन ८५५ कि त एक्सीनोस ९८२० प्रोसेसर हुने विश्वास गरिएको छ भने  ८ वा १२ जीबी र्याम हुने पनि विश्वास गरिएको छ । हरेक ग्यालेक्सी  नोटमा जस्तै यस वर्षको नोट १० मा पनि सुधारिएको स्टाइलस हुनेछ ।

 

 

यसमा तपाईको मत