ग्याजेट विशेष

डिलिट भएका फाइलहरू कसरी फिर्ता ल्याउने?

  नागरिक   2020-04-30

झुक्किएर महत्वपूर्ण फाइल वा तस्विरहरू आफ्नो कम्प्युटरबाट डिलिट गर्दाको अनुभूति खल्लो हुन्छ । तर त्यसरी डिलिट भएको फाइल र तस्विरहरूलाई फेरी फिर्ता ल्याउन असम्भव भने छैन । सहि सफ्टवेयरको प्रयोगबाट तपाईंले आफ्नो कम्प्युटरबाट डिलिट भएको फाइल र तस्विरहरूलाई फिर्ता ल्याउन सक्नुहुनेछ । डिलिट भएको फाइललाई फिर्ता ल्याउनका लागि यस्तो गर्नुहोस्:

सबैभन्दा पहिले त RecycleBin मा हेर्नुहोस्

पर्मानेन्ट अर्थात् स्थायी तरिकाले डिलिट नगरिएका फाइलहरू कम्प्युटरको Recycle Bin मा गएर बस्ने गर्छन । डिलिट भएको फाइल यदि Recycle Bin मा छ भने उक्त फाइललाई Right Click गरेर Restore मा क्लिक गर्नुहोस् ।

तपाईंले डिलिट गरेको फाइल Recycle Bin मै छैन भने ?

तपाईंले डिलिट गरेको फाइल Recycle Bin मै छैन भने पनि डराउनु पर्ने अवस्था छैन । Recycle Bin मा नभएको फाइलहरू पर्मानेन्ट अर्थात् स्थायी रूपमा डिलिट भएका फाइलहरू हुन् । यिनीहरूलाई फिर्ता ल्याउनका लागि विशेष प्रकारको सफ्टवेयरको प्रयोग गर्नु पर्ने हुन्छ ।

डिलिट भइसकेका फाइलहरू रिकभर गर्ने विभिन्न सफ्टवेयरहरू इन्स्टल र प्रयोगका लागि उपलब्ध छन् । तपाईंले इन्टरनेटमा यसका लागि थुप्रै सफ्टवेयरहरू भेट्न सक्नुहुनेछ । कुनै सफ्टवेयरहरू नि:शुल्क छन्, कुनैले सिमित फाइलहरू मात्र फिर्ता ल्याउन दिन्छन् भने कुनै सफ्टवेयरका लागि पैसा तिर्नु पर्ने हुन्छ ।

नि:शुल्क मै डाउनलोड गर्न सकिने केही प्रचलित रिकभर सफ्टवेयरहरू यस प्रकारका रहेका छन् :

१. Recuva
२. Puran File Recovery
३. Disk Drill
४. EaseUS Data Recovery Wizard
५. Wise Data Recovery

डिलिट भएका फाइलहरू रिकभर गर्नका लागि यी मध्ये जुनकुनै सफ्टवेयर प्रयोग गरे पनि हुन्छ । यस लगायत अन्य थुप्रै यस्ता सफ्टवेयरहरू नि:शुल्कमा डाउनलोड गर्न मिल्छ ।

Recuva एक नि:शुल्क र अनलिमिटेड फाइलहरू रिकभर गर्न मिल्ने सफ्टवेयर हो । यस लेखमा यही सफ्टवेयर प्रयोग कसरी गर्ने भनेर लेखिएको छ ।

१. अधिकारिक वेबसाइटमा गएर Recuva सफ्टवेयरलाई डाउनलोड गर्नुहोस् । गुगलको सर्च बक्समा “Recuva Download” हान्नुहोस् र पहिलो रिजल्टलाई क्लिक गर्नुहोस् । Recuva बाहेक अन्य कुनै सफ्टवेयर प्रयोग गरे पनि फरक पर्दैन ।

२. सफ्टवेयरलाई इन्स्टल गर्दा सबैमा Next थिच्दै जानुहोस् । एक विन्डोमा “Enable Deep Scan” मा टिक लगाउनुहोस् ।

३. माथिको दाहिनेतिर रहेको “Switch to Advanced Mode” मा क्लिक गर्नुहोस् ।

४. देब्रेतिर रहेको अप्सनहरू चयन गर्ने स्थानमा क्लिक गरेर आफूलाई स्क्यान गर्नु परेको डिस्कलाई सेलेक्ट गर्नुहोस् । उदाहरणका लागि Local Disk (D:) । डिलिट हुनु अगाडी तपाईंको फाइल जुन ड्राइभमा थियो सोही ड्राइभ यहाँ चयन गर्नुहोस् । मेमोरी कार्ड र पेन ड्राइभहरू स्क्यान गर्नु परेमा पनि यहीबाट चयन गर्न मिल्ने छ ।

५. ड्राइभ चयन गरेपछि Scan का क्लिक गर्नुहोस ।

५. स्क्यान हुन दिनुहोस् । ड्राइभलाई स्क्यान हुन केही समय लाग्न सक्छ ।

६. स्क्यान भएर सकिएपछि डिलिट भएका फाइलहरूको सूची देखा पर्छ । उक्त सूचीबाट आफूलाई आवश्यक परेको फाइल चयन गर्नुहोस् र Recover मा क्लिक गर्नुहोस् ।
    क. छेउमा हरियो रंग छ भने त्यो फाइल जस्ताको त्यस्तै रिकभर हुन्छ
    ख. छेउमा रातो रंग छ भने त्यो फाइल रिकभर हुन पनि सक्छ नहुन पनि सक्छ

७. उक्त डिलिट भएको फाइल पुन रिकभर भयर बस्नेछ |


जान्नुपर्ने अन्य केही कुराहरू:

१. हालै डिलिट गरिएको फाइलहरू चाडैं रिकभर हुन्छ

२. महत्वपूर्ण फाइलहरू डिलिट भएको थाह पाएपछि कम्प्युटरमा अन्य कुराहरू प्रयोग गर्न बन्द गर्नुहोस् र सिधै रिकभर सफ्टवेयर प्रयोग गर्नुहोस्

३. निकै पुरानो फाइलहरू रिकभर नहुन पनि सक्छ

४. आफ्नो कम्प्युटर बेच्ने बेलामा हार्ड डिस्कलाई Quick Format नगर्नुहोस् । Quick Format गरिएको हार्ड डिस्कबाट यी सफ्टवेयरको प्रयोगबाट फाइलहरू फेरी निकाल्न मिल्छ जसले गर्दा महत्त्वपूर्ण डेटाहरू चोरी हुनसक्छ । फर्म्याट गर्ने बेला Quick Format विकल्पमा भएको टिकलाई हटाएपछि हार्ड डिस्क पूर्ण रुपमा फर्म्याट हुन्छ ।

 

यसमा तपाईको मत