कभर स्टोरी

पुँजीबजार निरन्तर ओरालो नेप्से डेढ महिना यताको न्यून विन्दुमा

    2019-08-07

करुण ढकाल
काठमाडौं-पुँजीबजार लगातार चौथो दिन पनि ओरालो लागेको छ । उत्पादनमूलक समूह र लघुवित्त समूह एक प्रतिशतभन्दा बढीले ओरालो लाग्दा त्यसले समग्र बजारलाई घटाएको छ । मंगलबार बैंकिङ समूहको सूचक पनि ओरालो लागेको छ । समग्रमा पुँजीबजारसूचक नेप्से सोमबारको तुलनामा यस दिन ०.७५ प्रतिशतले घटेको छ । 
यस दिन नेप्से ९.३६ बिन्दुले घटेर १२४५.७३ बिन्दुमा आइपुगेको छ । यो गत असार १६ यताको सबैभन्दा न्यून विन्दु हो । असार १६ गते नेप्सेले १२३७.४३ बिन्दुमा तल्लो बिन्दु बनाएको थियो । त्यसपछि उकालो लागेको नेप्से साउन ८ गते १२८४.९९ मा पुगेको थियो । त्यसयता नेप्से गिर्दो प्रवृत्तिमा छ । मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९१ बिन्दुले ओरालो लागेर २६९.१ बिन्दुमा आइपुगेको छ ।
सबै समूहको सूचक रातो
यस दिन कारोबार भएका १२ वटा समूहमध्ये सबैको सूचक रातो रह्यो । तिनमा पनि सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचकमा गिरावट आएको छ । यो समूह १.५१ प्रतिशतले घटेको छ भने लघुवित्त समूह १.३७ प्रतिशतले ओरालो लागेको छ । बिन्दुगत हिसाबले हेर्दा निर्जीवन बिमा समूह ४०.९७ बिन्दुले ओरालो लागेको छ । यसैगरी उत्पादनमूलक समूह ३९.६४, लघुवित्त २१.०९, होटल्स २५.८८ र बैंकिङ समह ९.३६ बिन्दुले ओरालो लागेका छन् । जलविद्युत् ६.८३, जीवन बिमा ६.११, विकास बैंक ५.२१, वित्त समूह ४.७७, व्यापार समूह १.६९, अन्य १.६ र म्युचुअल फन्ड ०.०९ बिन्दुले ओरालो लागेका छन् ।
कारोबार रकम भने सोमबारको तुलनामा केही सुधार भएको छ । मंगलबार ४५ करोड सात लाख ५५ हजार एक सय ८२ रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार ४४ करोड ३२ लाख पाँच हजार चार सय ८१ रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकममा कृषि अगाडि
मंगलबार सबैभन्दा बढी कारोबार कृषि विकास बैंकको भएको छ । यस बैंकको आठ करोड ५४ लाख ४१ हजार तीन सय ६८ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रोदेखि पाँचौंसम्मको स्थानमा नेपाल बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक र लुम्बिनी विकास बैंक परेका छन् । उच्च कारोबार हुने १० कम्पनीमा आठवटा बैंक छन् भने दुईवटा विकास बैंक पनि यो सूचीमा अटाएका छन् । उच्च कारोबार हुने दुई विकास बैंकमा लुम्बिनीका साथै मुक्तिनाथ विकास बैंक पनि परेको छ ।
यस दिन बैंकिङ समूहको मात्रै २७ करोड ८० लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । यो कुल कारोबारको ६१.७ प्रतिशत हो । यसपछि विकास बैंक समूहको १६ करोड ५३ लाख ७० हजार र लघुवित्त समूहको पाँच करोड ४१ लाख ७९ हजार ४ सय रुपैयाँको कारोबार भएको छ । 
दुई लघुवित्तको नेगेटिभ सर्किट
विगत केही दिन यता लघुवित्त समूहको सेयर भाउ तीव्र रुपमा घट्दै आएको छ । मंगलबार पनि यसले निरन्तरता पाएको छ । यस दिन दुईवटा लघुवित्तको सेयर मूल्य १० प्रतिशत हाराहारीमा घटेको छ । यसरी नेगेटिभ सर्किट लागेको कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स र स्पर्श लघुवित्त छन् । यसैगरी स्वाभिमान माइक्रोफाइनान्सको पनि ९.२ प्रतिशतले मूल्य घटेको छ । उच्च मूल्य घट्ने १० कम्पनीमा नौवटा लघुवित्त छन् । यो सूचीमा युनाइटेड फाइनान्स पनि परेको छ । 
घट्दो बजारमा सबैभन्दा बढी भाउ बढ्नेमा जोशी हाइड्रोपावर परेको छ । यो कम्पनीको मूल्य २.७४ प्रतिशतले बढेको छ । यसैगरी गुराँस लाइफ इन्सुरेन्स, लक्ष्मी लघुवित्त र कालिका पावर कम्पनीको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । 
बियरिस प्रवृत्तिको निरन्तरता
बजारमा चार दिनयता बियरिस प्रवृत्तिले निरन्तरता पाएको छ । मंगलबार कारोबार भएका एक सय ६९ कम्पनीमध्ये २७ वटाको मूल्य बढेको छ भने एक सय १६ कम्पनीको ओरालो लागेको छ । २६ कम्पनको मूल्यमा भने कुनै परिवर्तन आएन । यस दिनको एडी रेसियो ०.२३ छ । यसले बजारको बियरिस अवस्था संकेत गर्छ । यस दिन लामो शरीर भएको रातो महिनबत्ती बनेको छ । यसले पनि बजारको बियरिस अवस्थाबारे संकेत गर्छ । बजार क्रमशः बोलिङ्गर ब्यान्डको तल्लो रेखातिर अग्रसर भएको छ । आरएसआई ३९.८ बिन्दुमा झरेको छ । यसले बजारमा बिस्तारै बिक्री चाप बढेको संकेत गर्छ । एमएसिडीका दुईवटै रेखा शून्य विन्दुभन्दा तल छन् । फास्ट लाइन र स्लो लाइनबीचको अन्तर बढ्दैछ । यसले बजार अझै तल झर्न सक्ने संकेत गछ । तर यो पूर्ण निश्चित भने हुँदैन । 
 

यसमा तपाईको मत