ग्याजेट विशेष

पब्जी बन्यो संसार कै सबैभन्दा धेरै पैसा कमाउने मोबाइल गेम

  नागरिक   2019-06-11

निकै नै प्रचलित र रुचाइएको मोबाइल गेम पब्जी अहिलेको सबैभन्दा धेरै पैसा कमाउने गेम बनेको छ । यो गेम नै अहिलेको विश्व कै सबैभन्दा प्रचलित गेम हो । पब्जीका निर्माता ब्लुहोल र टेनसेन्ट अनुसार यस गेममा अहिले मासिक १० करोडभन्दा बढी खेलाडीहरू छन् र यो संख्या घट्ने कुनै सुर छैन ।

द फाइनान्सिअल टाइम्सक अनुसार यो गेमले गत एक महिना मै १४ करोड ६० लाख अमेरिकी डलर ( नेरुमा रुपान्तरण गर्दा लगभग १६अर्ब ) बराबरको पैसा जम्मा गर्न सक्यो जसले गर्दा यो गेम अहिलेको सर्वाधिक पैसा कमाउने मोबाइल गेम बनेको छ ।

पब्जी प्ले स्टोर र एप स्टोरमा निशुल्क डाउनलोड गर्नका लागि उपलब्ध भएपनि उक्त गेमले माइक्रो ट्रानज्याकसन् मार्फत निकै धेरै पैसा जम्मा गर्न सफल भएको हो । यस गेममा प्रयोगकर्ताले आफ्नो गेम भित्रको प्लेअरको लागि स्कीन र अन्य वस्तुहरू खरिद गर्न सक्नेछन् । उक्त वस्तु र स्कीनहरू खरिद गर्नलाई प्रयोगकर्ताले सक्कल पैसा नै खर्च गर्नु पर्ने हुन्छ ।

यस लगायत पब्जी मोबाइलले “ पब्जी ब्याटल पास” पनि उपलब्ध गराउदै आएको छ जसलाई खरिद गर्नका लागि पैसा नै खर्च गर्नु पर्ने हुन्छ ।

माथि उल्लेख गरिएको रकममा चिन बाहेक सम्पूर्ण अन्य देशमा उपलब्ध हुने पब्जी मोबाइल र चिनमा मात्र उपलब्ध हुने “गेम फर पिस” दुवैले कमाउन सफल पैसालाई जोडिएको छ । चिनमा अहिले पब्जी मोबाइललाई नै रुपान्तरण गरेर “गेम फर पिस” बनाइएको छ जुन पब्जी जस्तै नै छ तर यस गेममा पब्जीमा जस्तो हिंसक दृश्यहरू छैनन् ।

चिनको ग्रेट वाल ब्रोकरका अनुसार पब्जी मोबाइलले गत महिना ७ करोड ६० लाख अमेरिकी डलर कमाउन सफल भयो भने “गेम अफ पिस” ले ७ करोड अमेरिकी डलर कमाउन सफल भयो । नेरुमा रुपान्तरण गर्दा दुवै गेमले एक महिना मै लगभग ८ - ८ अर्ब रुपैयाँ कमाउन सफल भएका हुन् ।

यहाँ उल्लेख गरिएको रकममा पब्जीको कन्सोल, पिसी र अन्य भर्सनले कमाएको रकम जोडिएको छैन । उक्त संख्या केवल पब्जी मोबाइल र चिनको लागि बनेको पब्जी अर्थात् “गेम अफ पिस” को मात्र रहेको छ ।

 

यसमा तपाईको मत