ग्याजेट विशेष

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

  नागरिक   2020-03-17

मार्च, २०१८मा लगभग ८.७ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी र दुरुपयोग भएको खबर बाहिरीएको थियो । त्यसपछि फेसबुक माथि गोपनीयताको ठूलो प्रश्न उठेको छ । कतिपय प्रयोगकर्ता र कम्पनीहरुले “डिलिट फेसबुक” अभियान चलाएर फेसबुक डिलिट गर्न तर्फ लागे । तर साथीभाई, आफन्त, दिदीबहिनी आदिसंग जडित हुनका लागि फेसबुक आजको युगको नित्य माध्यम बनेको हुनाले र फेसबुक डिलिट गरेपछी प्रयोगकर्ताको डाटा पुनः प्राप्त गर्न नमिल्ने भएकाले फेसबुक डिलिट गरिहाल्नु उचित हुदैन । त्यसैले तपाई फेसबुक वा अन्य कुनै पनि सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ जसबाट तपाईले आफ्नो गोपनीयता कायम गर्न सक्नुहुन्छ :

जथाभावी एप प्रयोग नगर्नुहोस्

हालसम्म ९० लाख भन्दा बढी एप र वेबसाइटहरु फेसबुकसंग “इन्टेग्रेटेड” रहेको अनुमान छ जसमध्ये लाखौ मात्रामा फेसबुक कै गेम र एपहरु रहेका छन् । फेसबुकमा तपाईले पनि कुनै न कुनै एप प्रयोग गर्नु भएको त पक्कै होला र स्मरण रहोस् ती एपहरुले तपाईको जानकारी सजिलै चोरी गर्न सक्छन । हालै भएको डाटा चोरी पनि एउटा “दिस इज योर डिजिटल लाइफ” नामक एपबाट भएको थियो ।

धेरै जसो फेसबुक एपहरु अनावश्यक र मुख्यतः डाटा संकलन कै लागि भनेर बनाईका हुन्छन। नेपालमा खुबै प्रचलनमा आउने “तपाईको मृत्यु कहिले हुन्छ”, “तपाईको मन मिल्ने साथी को”, “तपाईको अनुहार कुन कलाकारसंग मिल्छ” आदि जस्ता एपहरुको ठोस महत्व छैन र यस्ता एपहरुले तपाईको डाटा चोरी गर्न सक्छन । त्यसैले यस्ता कुनै महत्व नभएको फेसबुकको एपहरु चलाउनु अगाडी धेरै चनाखो हुनुहोस् ।

आफ्नो फेसबुकको Privacy Shortcuts मा गएर Privacy Checkup मा क्लिक गरेर तपाईको जानकारी कुन कुन एपसंग छ र अन्य विविध कुराहरुको बारेमा थाह पाउन सक्नु हुन्छ । ब्राउजरबाट प्रयोग गर्नेहरुले आफ्नो प्रोफाइलको सेटिंगमा गएर Apps and Website मा क्लिक गरेर एपको जानकारी पाउन सक्नुहुन्छ। त्यहाँ कुनै शंकास्पद एप भेटमा सिधै डिलिट गर्नु उचित हुन्छ।  यसैका निम्ति भनेर फेसबुकले हालै फेसबुक एपहरुलाई एकै पटक डिलिट गर्न मिल्ने टूल रिलिज पनि गरेको छ ।

ब्राउजर कुकिजको ख्याल गर्नुहोस्

मानौ तपाईलाई मोबाइल फोन खरिद गर्न मन लाग्यो र तपाईले कुनै एउटा ब्राउजरबाट विविध मोबाइल फोनको बारेमा हेर्नु भयो। अनि त्यहि मोबाइल फोनको बारेमा हेर्दा हेर्दै फेसबुक प्रयोग गर्नु भयो भने तपाईले  त्यहाँ विज्ञापन पनि मोबाइल फोन सम्बन्धि नै देख्नु हुनेछ । यस्तो लक्षित विज्ञापनको पछाडी ब्राउजर कुकिजको हात हुन्छ । फेसबुक र अन्य साइटहरुले प्रयोगकर्तालाई मिल्ने विज्ञापन र सिफारिसहरु देखाउनका निम्ति प्रयोकर्ताको ब्राउजरमा कुकिजहरु राख्ने गर्छन ।

यी कुकिजहरु प्रयोगकर्ताले फेसबुकबाट लग आउट गरेपनि ब्राउजर बन्द नगर्दा सम्म ब्राउजर मै रहने गर्छन र “वेब हिस्ट्री ट्रयाक” गर्न सक्छन । यसबाट सुरक्षित हुनका लागि तपाईले प्रयोग गर्ने ब्राउजरमा घोस्टेरी (Ghostery)  नामक ब्राउजर एक्सटेन्सन इन्स्टल गर्न सक्नुहुन्छ । यस एक्सटेन्सनले तपाईलाई फेसबुक जस्ता विविध वेबसाइट बाट ट्रयाक हुन बाट जोगाउछ। उक्त एक्सटेन्सनलाई ब्राउजरको एक्सटेन्सन स्टोरबाट डाउनलोड गर्न मिल्छ र यी ब्राउजरहरु – Opera, Chrome, Firefox, Edge – मा उपलब्ध छ।

पुराना र नयाँ पोस्टहरुलाई सुरक्षित गर्नुहोस्

फेसबुक लगायतका अन्य सामाजिक संजालमा तपाईले आफ्नो पोस्टहरुको गोपनीयता चयन गर्न सक्नुहुन्छ। पोस्टको गोपनीयता मुख्यतः आफूलाई मात्र (प्राइभेट), साथीहरुका लागि (फ्रेन्ड्स) र सार्वजनिक (पब्लिक) गरि विविध तहमा छुट्टाएर राखिएको छ । यी मध्ये कहिले पनि आफ्नो पोस्ट, फोटो, भिडियो र प्रोफाइल पब्लिक राख्नु हुदैन । आफ्नो जानकारीहरु पब्लिक राख्नाले अन्य व्यक्ति वा संस्थाले नै तपाईको बारेमा जानकारीहरु लिएर सो जानकारीको दुरुपयोग गर्न सक्छन । त्यसैले पुराना र नयाँ फोटो र पोस्टहरुलाई साथीहरुमा मात्र सिमित गर्नु उचित हुन्छ।

आफ्नो फेसबुकको Privacy Shortcuts मा गएर Privacy Checkup मा क्लिक गरेर तपाईको आगामी पोस्टहरु कसकसलाई देखाउन चाहनुहुन्छ भन्ने कुरा चयन गर्न मिल्छ । ब्राउजरबाट फेसबुक प्रयोग गर्नेहरुले भने यहि कुरा सिधै आफ्नो फेसबुकको सेटिंगमा गएर Privacy मा क्लिक गरेर हेर्न सक्छन । तपाईको नम्बर, इमेल, ठेगाना आदि सबैको गोपनीयता यहिबाट मिलाउन सकिन्छ । आफूले चिनेको र विश्वास गर्ने व्यक्तिलाई मात्र फ्रेन्डमा एड गर्ने र आफ्नो सबै प्रोफाइल जानकारीलाई साथी मै सिमित गरेर तपाईले गोपनीयता कायम गर्न सक्नुहुन्छ ।

शंकास्पद वेबसाइटमा लगइन नगर्नुहोस्

७० लाख भन्दा बढी वेबसाइटहरुमा फेसबुकको सहज लग इन सुविधा जडित छ । यसले प्रयोगकर्तालाई बारम्बार हरेक वेबसाइट र सेवाको लागि अकाउन्ट बनाउने झन्झटबाट मुक्ति दिलाउछ तर सबै वेबसाइटले यसको सहि सदुपयोग गर्छन भन्ने हुदैन । कतिपय वेबसाइटहरु डाटा चोरी गर्ने उद्देश्यका साथ बनाइएको हुन्छ जसमा फेसबुक जस्तै देखिने गरि साइट डिजाइन गरिएको हुन्छ । यस्ता वेबसाइटले तपाईको गोप्य शब्द चोरी गर्न सक्छन र तपाईको डाटाको दुरुपयोग गर्न सक्छन ।

यदि कुनै वेबसाइटले तपाईलाई फेसबुकको गोप्य शब्द फेरी प्रविष्ट गर्न पठाउछ तर तपाई त्यो ब्राउजरमा फेसबुकमा पहिल्यैबाट लग इन हुनुहुन्छ भने त्यो वेबसाइट डाटा चोरी गर्ने वेबसाइट हुने धेरै सम्भावना छ । यस्ता वेबसाइटको पिसिंगबाट बच्नका लागि विभिन्न इन्टरनेट सुरक्षा सफ्टवेयरहरु प्रयोग गर्न सकिन्छ । गूगल Chrome ब्राउजरमा विन्डोज डिफेन्डर ब्राउजर प्रोटेक्सन Windows Defender Browser Protection नामक एक्सटेन्सन स्थापना गरेर पनि यस्ता नक्कली वेबसाइटबाट बच्न सक्नु हुन्छ । माइक्रोसफ्टको Edge ब्राउजरमा उक्त फिचर पहिल्यै देखि हुने भएकाले यस एक्सटेन्सनको कुनै आवश्यकता पर्दैन ।

फेसबुकमा सबै कुराहरु पोस्ट नगर्नुहोस्

आफ्नो गोपनीयता कायम गर्ने सबैभन्दा राम्रो उपाय भनेकै फेसबुकमा सबैकुरा पोस्ट नगर्नु नै हो । यदि तपाईले आफ्नो सारा जानकारी फेसबुकमा पोस्ट गर्नुभएको छैन भने फेसबुक आफै देखि यसमा भर पर्ने एप केहिलाई पनि तपाईको सबै कुराको जानकारी हुदैन । फेसबुकमा पोस्ट गर्नु अगाडी उक्त कुराले तपाईको गोपनीयता सुरक्षित राख्छ राख्दैन सोच्नु एकदमै आवश्यक छ।

फेसबुकले गर्दा आज अर्बौ मानिसहरु एकआपसमा कुरा, भाव, तस्बिर, समाचार आदि आदानप्रदान गर्न पाएका छन्। यस सामाजिक संजालको आजको दिनमा एकदमै ठूलो भूमिका रहेको छ, यसलाई पूर्ण रुपमा चलाउन बन्द गर्नुको फाइदाभन्दा पनि बेफाइदा बढी छन्, त्यसैले फेसबुक चनाखोपूर्व प्रयोग गर्नुहोस।

 

यसमा तपाईको मत