ग्याजेट विशेष

गूगल एन्ड्रोइडको नयाँ संस्करण – एन्ड्रोइड पी

  नागरिक   2018-05-25

गूगलले हालै आफ्नो बहुचर्चित स्मार्टफोन अपरेटिंग सिस्टम एन्ड्रोइडको नयाँ संस्करण बेटा अवस्थामा रिलिज गरेको छ ।एन्ड्रोइड पी कोडनेम भएको यस बेटा रिलिजबाट एन्ड्रोइडको ९.० संस्करणमा के कस्ता नयाँ विशेषता छन् भन्ने कुराको प्रारम्भिक झलक देख्न सकिन्छ । उक्त बेटा भने केहि विशेष स्मार्टफोनहरुका लागि मात्र उपलब्ध छ जसमा गूगलको आफ्नै पिक्सल स्मार्टफोन लगायतका अन्य केहि स्मार्टफोनहरु रहेको छ।  गत वर्ष गूगलले एन्ड्रोइड ८.० अर्थात् ओरियो रिलिज गरेको थियो।

के के छन् नयाँ फिचरहरु ?

 

१. स्मार्टफोन चलाउने नयाँ तरिका  - नयाँ न्याभिगेसन सिस्टम

गूगलले एन्ड्रोइड ९ मा स्मार्टफोन चलाउनका लागि नयाँ जेस्चरहरु ल्याउने भएको छ र सबैले प्रयोग गर्दै आएको तीनवटा न्याभिगेसन बटनहरु - होम, ब्याक र रिसेन्ट - लाई  प्रतिस्थापन गर्ने भएको छ। सो बटनहरुको सट्टा अब एक पछाडी जाने ब्याक बटन र स्वाइप गर्नका लागि बेग्लै स्लाइडर आएको छ।

अब देखि यहि स्लाइडरबाट नै फोनका सबै न्याभिगेसन कामहरु गर्न सकिन्छ। एक पटक उक्त स्लाइडरमा छुदा होम स्क्रिनमा पुगिन्छ र केहि बेरसम्म छुदा चाहिँ गूगल एसिस्टेन्ट खुल्छ । हालै प्रयोग गरको एपहरुको सूची हेर्नका लागि उक्त स्लाइडरलाई माथिपट्टि स्वाइप गर्नुपर्छ। केहि स्थान माथिसम्म स्वाइप गर्दा फोनमा स्थापना भएको सबै एपको सूची खुल्छ। यस फिचर प्रयोग गर्न नरुचाउनेहरुले भने यस फिचरलाई बन्द गरेर पुरानै तीनवटा बटनको प्रयोग गर्न सक्नेछन् ।

 

२. एन्ड्रोइड ड्यासबोर्ड

एन्ड्रोइड पी को अर्को अभिनव फिचर हो एन्ड्रोइड ड्यासबोर्ड । यस फिचर हालको बेटा रिलिजमा भने उपलब्ध छैन - यो फिचर भविष्यमा उपलब्ध हुने कुराको जानकारी गूगलले गराएको छ । एन्ड्रोइड ड्यासबोर्ड प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकहरु केन्द्रित हुने स्थान हो । यहाँ कुन एप कति समयसम्म प्रयोग गरियो, कतिवटा सूचनाहरु आए, प्रयोगकर्ताले कति पटक फोन अनलक गरे आदि जस्ता स्मार्टफोन प्रयोग सम्बधि विभिन्न तथ्यांकहरु देखाइने छ। गूगलले यी सबै तथ्यांक कसरी प्रयोग गर्छ भन्ने कुराको चाहिँ जानकारी उपलब्ध गराएको छैन ।

यस लगायत प्रयोगकर्ताले आफूलाई मन लागेको एपमा टाइमर लगाउन सक्नेछन्। टाइमर लगाएको एपको समय अवधि पुरा भएपछि सो एपले प्रयोगकर्तालाई उक्त एपको समय अवधि पुरा भएको जानकारी दिनेछ र आइकन खैरो रंगमा परिवर्तन हुनेछ। प्रयोगकर्ताले प्रयोग अवधि पूरा भएको एप खोल्न खोजेमा सिस्टमले जानकारी दिनेछ तर सो जानकारीलाई वेवास्ता गरेर कुनै अवरोध बिना एप चलाउन मिल्नेछ।

 

३. नयाँ इन्टरफेस र डिजाइन

 

सेटिंग मेनु

एन्ड्रोइड ५.० – ललिपपदेखि मेटेरिअल डिजाइन प्रयोग गर्दै आएको गूगलले अहिले डिजाइन र इन्टरफेसलाई  थुप्रै तरिकाबाट अद्यावधिक गरको छ। सिस्टम सेटिंगमा अहिले नयाँ आइकन र रंगहरु आएका छन् – तर नयाँ आइकन र रंगहरु भने सेटिंगको पहिलो पृष्ठमा मात्र सिमित छ, भित्रि पृष्ठहरु पुरानै शैलीको छ।

 

रिसेन्ट एप इन्टरफेस

स्लाइडरलाई माथि स्वाइप गरेर आउने हाल खुलिरहेको एपको सूचीमा पनि नयाँ डिजाइन आएको छ। यहि एपको सूचीबाट एपनै नखोली त्यहाँ भएका शब्दहरुलाई कपि गर्न मिल्ने भएको छ।

 

सूचना केन्द्र र  सटकर्ट

आकार परिवर्तन भएर गोलो भएको उक्त सटकर्टहरुमा सेतो लाइटको एक्सेन्ट मिसाइएको छ। अन भएको वा प्रयोगमा आएको सटकर्टलाई निलो रंगले पहिचान गराउछ। सूचना केन्द्रमा आएका सूचनाहरु पनि अन्तर्क्रियात्मक हुने भएका छन्। उदाहरणका लागि : कसैले पठाएको मेसेजलाई एप नै नखोली सिधै सूचना केन्द्रबाट नै मेसेजको सबै जानकारी हेर्न र रिप्लाई गर्न मिल्ने भएको छ।

 

पावर मेनु र स्लाइडर

​​यसको साथै आवाज नियन्त्रण गर्ने इन्टरफेसमा पनि परिवर्तन आएको छ। आवाजको स्लाइडरलाई माथिबाट पावर बटन हुने स्थान तर्फ सारिएको छ। पावर बटनलाई केहि बेरसम्म दबाउदा नयाँ इन्टरफेसमा स्विच अफ गर्ने, रिस्टार्ट गर्ने र स्क्रिनसट लिने मेनुहरु आउछ।  

  

आवाज स्लाइडर र  पावर मेनु

 

४ . नयाँ स्मार्ट फिचरहरु

गूगलले यस पटक पनि थुप्रै AI समावेश भएका स्मार्ट फिचरहरु ल्याएको छ। यी फिचरहरुले स्मार्टफोन प्रयोगकर्ताहरुलाई फोन सम्बन्धि कामहरु छिटो र "स्मार्ट" ढंगबाट गर्न सक्षम गराउने छ ।

  • एड्याप्टिप अटो चहक नियन्त्रण

अटो ब्राइटनेस फिचर फोनमा भएको एम्बीएन्ट लाइट सेन्सरको सहायताबाट चल्छ – नयाँ एन्ड्रोइडमा यहि कुरामा AI मिलाइएको छ। हालको वातावरण र लाइटलाई पहिचान गरेर फोनले अटोमेटिक स्क्रिनको चहक बढाउने घटाउने गर्छ।यसले निरन्तर प्रयोगकर्ताले स्क्रिनको चहकलाई कसरी परिवर्तन गरिरहेको छ भन्ने कुराको पनि स्व-अध्ययन गरेर पछिका समयमा आवश्यकता अनुसार चहकलाई अटोमेटिक परिवर्तन गर्न सक्ने छ।

 

एड्याप्टिप ब्याट्री

स्मार्टफोनको ब्याट्री बचत गर्न गूगलले ब्याट्री व्यवस्थापनका लागि पनि AI र मेसिन अध्ययन प्रयोग गरेको छ।  प्रयोगकर्ताद्वारा कुन एप बढी प्रयोग गरिएको छ र कुन एप खासै प्रयोगमा आएको छैन भन्ने कुराको अध्ययन गरेर यस फिचरले स्मार्टफोनको प्रोसेसर र र्यामलाई सोहि एप प्रयोग र उपयोगिता अनुसार निर्धारण गर्छ – जसबाट ब्याट्रीको बचत हुने छ।

यस लयायत अबको नयाँ संस्करणमा ब्याट्री सेभर फिचरलाई मन परेको बेलामा अटोमेटिक अन र अफ हुने बनाउन मिल्ने भएको छ। नयाँ ब्याट्री सेभर फिचरलाई ५% ब्याट्री देखि ७५% ब्याट्रीको बीचमा जतिबेला पनि अटोमेटिक अन हुने बनाउन मिल्छ।

 

एप एक्सन्स र स्लाइस

हाल उपलब्ध नभए पनि भविष्यमा उपलब्ध हुने अर्को नयाँ स्मार्ट फिचर रहेको छ – एप एक्सन्स र स्लाइस । AIको प्रयोगबाट स्मार्टफोनले प्रयोगकर्ताको नित्य रुपमा धेरै प्रयोग हुने कार्यको बारेमा अध्ययन गरेपछि एप सूचीको दोस्रो पंक्तिमा सो कार्यको सटकर्टलाई राख्छ जसबाट सो कार्य गर्न सम्बन्धित एप नै खोलिरहनु पर्दैन। स्लाइस भने एपहरुमा आउने नयाँ डिजाइन र UIको परिवर्तन हो जसले एन्ड्रोइड पी को सर्चलाई अझ स्मार्ट बनाउने छ र प्रयोगकर्ताले थुप्रै कार्यहरु सर्च नतिजाबाट नै सिधै गर्न सक्ने छन्।

५. अन्य विविध फिचर र परिवर्तनहरु

  • गूगलको एसिस्टेन्ट: 
    • प्रयोगकर्ता अनुसार भिन्न भिन्न समाचारहरु गूगलको एसिस्टेन्टले देखाउने 
    • ६ वटा भिन्न स्वरमा प्रयोग गर्न मिल्ने 
    • गूगल एसिस्टेन्ट आफैले प्रयोगकर्ताको लागि कल गरेर सेवा बुक गर्ने फिचर 
  • नयाँ Wi-Fi को संस्करण – IEEE 802.11mc को सपोर्ट 
  • गूगल लेन्समा OCR
    • क्यामराको सहायताबाट लेखेका शब्दहरु पहिचान गर्ने फिचर
    • लिखित शब्दहरुलाई वास्तविक समयमा पहिचान गरेर कुनै अन्य भाषामा अनुवाद गर्ने
  • गुगल म्याप्समा AR न्याभिगेसन
    • क्यामरा र GPS प्रणालीको सहयोगबाट वास्तविक समयमा नै विभिन्न सडक चिन्ह र स्थानको जानकारी यसले स्क्रिनमा देखाउने 

यहाँ उल्लेखित फिचरहरु एन्ड्रोइड पी ९.० बेटा संस्करणमा आधारित हुन्। कतिपय फिचरहरु अहिले नै उपलब्ध छन् भने कतिपय निकट भविष्यमा आउने छन्।

मिठाई र गुलियो खानेकुराको आधारमा अंग्रेजी वर्णमाला अनुसार एन्ड्रोइड संस्करण नामकरण गर्द आएको गूगलले "पी" बाट कुन चाहिँ मिठाईको नाम चयन गर्छ भन्ने कुरा निश्चित छैन । तपाईको बिचारमा एन्ड्रोइड पी (Android P ) मा P को अर्थ के हुन जान्छ होला?

फोटो स्रोत: गूगल

 

यसमा तपाईको मत