ग्याजेट विशेष

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

  नागरिक   2018-09-28

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण थियो । तर पुराना मोबाइल फोनहरुमा गेम निर्माण गर्न पनि गाह्रो कुरा थियो किनकि पुराना मोबाइल फोनमा निकै कम पावर हुन्थ्यो, स्क्रिन पनि सारै सानो । त्यसपछि फुल टच स्क्रिन भएको स्मार्टफोनको युग आयो र स्मार्टफोन गेमिङलाई पूर्णरुपमा परिवर्तन गरिदियो । त्यस्ता टच स्क्रिन स्मार्टफोन गेमिंगको सुरुआत् भएको पनि एक दशक नाघिसकेको छ र प्रविधिमा भइरहेको क्रमागत विकासले स्मार्टफोन गेमिंग अझै राम्रो हुँदै गएको छ ।


आज स्मार्टफोन गेमिंग निकै ठूलो प्लेटफर्म र व्यापार हो, जसका करोडौं प्रयोगकर्ता छन् र अर्बौंको फाइदा छ । उत्कृष्ट ग्राफिक्स र नयाँनयाँ गेमप्लेका साथ स्मार्टफोन गेमिंगले बिस्तारै प्लेस्टेसन र एक्सबक्सजस्ता कन्सोललाई टक्कर दिने युग सुरु भएको छ । कतिपय कन्सोल र कम्प्युटरका लागि भनेर बनाइएका गेम हुबहु स्मार्टफोनका लागि बनाउन थालिएको छ । यसले २०१८ मा आएर स्मार्टफोन गेमिंगले लिएको फड्कोलाई स्पष्ट पार्छ । उदाहरणस्वरूप यस्तै केही उच्च ग्राफिक्स भएका गेमबारे तल चर्चा गरिएको छ ।


१.    PUBG


अहिले निकै चर्चामा रहेको गेम हो PUBG । स्मार्टफोन गेमिंगमा रुचि भएकाले यो गेम पक्कै खेलेको हुनुपर्छ, नभए पनि नाम सुनेको हुनुपर्छ । यो गेम सन् २०१५ मा कम्प्युटरका लागि रिलिज भएको थियो । यो गेमले कम्प्युटरमा तीन करोड प्रयोगकर्ता कमाएपछि यही चर्चालाई पछ्याउँदै चिनियाँ कम्पनी टेनसेन्टले २०१८ मा यसको मोबाइल फोन भर्सन रिलिज गरेको थियो । यसको गेमप्ले ठ्याक्कै कम्प्युटरको सँग मिल्दो छ । यसको ग्राफिक्सको गुणस्तर आजभन्दा ४–५ वर्ष अगाडि कम्प्युटरका लागि बन्ने गेमको जस्तो अब्बल छ । यस गेमको निर्माता ब्लुहोलका अनुसार अहिले संसारभरिमा ४० करोड जनाले PUBG खेल्छन्, जुन निकै ठूलो संख्या हो । कम्प्युटर र एक्सबक्समा ३० डलर पर्ने यो गेम एन्ड्रोइड र iOS मा निःशुल्क उपलब्ध छ । एन्ड्रोइड र iOS को संस्करणमा भने थुप्रै माइक्रोट्रानजेक्सन राखिएको छ ।


२.    फर्टनाइट (Fortnite)


PUBG कै गेमप्लेमा आधारित भएर बनाइएको यो गेम अहिले कम्प्युटर र कन्सोल गेमिंगको सबैभन्दा ठूलो चर्चाको विषय बनेको छ । सबै प्लेटफर्ममा निःशुल्क उपलब्ध यो गेम अहिले विश्वकै सबैभन्दा प्रचलित गेममध्ये एक रहेको छ । iOS मा केही महिना अगाडि नै उपलब्ध भएको यो गेम हालै एन्ड्रोइडका लागि पनि रिलिज गरिएको छ । यो गेमको ग्राफिक्स पनि कम्प्युटरको संस्करणसँग मिल्दो छ र गेमप्ले पनि उस्तै छ । एन्ड्रोइड, iOS लगायत यो गेम एक्सबक्स वन, प्लेस्टेसन फोर, स्विच र कम्प्युटरमा उपलब्ध छ ।


३.    Asphalt 9


विगत लगभग १५ वर्षदेखि नै Asphalt सिरिज मोबाइल फोन गेमिंगको चर्चामा रहेको रेसिंग गेम हो । यस सिरिजको सबैभन्दा नयाँ गेम Asphalt9 एक यही वर्ष iOS, एन्ड्रोइड र विन्डोज १० भएका कम्प्युटरका लागि रिलिज गरिएको छ । यस रेसिंग गेममा उच्च गुणस्तरको ग्राफिक्स, निकै रमाइलो गेमप्ले र अनलाइन खेल्न मिल्ने विकल्प पनि राखिएको छ । अरुभन्दा पनि यस गेमको ग्राफिक्सको चर्चा निकै भएको छ । हालै स्मार्टफोनमा उपलब्ध गेमहरुमा सबैभन्दा राम्रो ग्राफिक्स भएको गेम भनेर पनि चिनिन थालेको छ ।


४.    थुप्रै अन्य


उच्चस्तरीय मोबाइल गेमिंगको उदाहरणका लागि मात्र माथिका तीनवटा गेम लिइएको हो । यस्तै थुप्रै अन्य गेमहरु मोबाइल फोनका लागि आइसकेका छन् र आइरहेका छन् । केही उच्चस्तरीय मोबाइल गेमको सूचीमा ARK, ग्रिड अटोस्पर्ट, इन्साइड, फाइनल फ्यान्टासी आदि पर्छन् ।


गेम खेल्नकै लागि भनेर बनाइएका स्मार्टफोन


मोबाइल गेमिंगले झन्झन् चर्चा पाउँदै गर्दा स्मार्टफोन निर्माताले गेम खेल्नकै लागि भनेर स्मार्टफोनहरु रिलिज गर्न थालेका छन् । यी स्मार्टफोनमा धेरै ब्याट्री, शक्तिशाली प्रोसेसर र हाइ रिफ्रेसरेटको डिस्प्ले राखिएको हुन्छ । यस्ता केही स्मार्टफोन हुन्ः
१.    सायोमी ब्ल्याक शार्क
२.    रेजर फोन
३.    एसुस ROG फोन


अझै के कुरामा चुकेको छ मोबाइल गेमिंग ?


स्मार्टफोन गेमिंगमा निकै प्रगति भइरहेको छ भन्दैमा सबै समस्याको समाधान भइसकेको छैन । मोबाइल गेमिंगका केही समस्या यी हुन्ः


१.    खेल्न अप्ठ्यारो


टच स्क्रिनमा कम्प्युटर र कन्सोलका लागि भनेर बनाइएका गेम खेल्न निकै अप्ठ्यारो हुन्छ । उदाहरणका लागि PUBG र फर्टनाइट । सानो स्क्रिनमा सबै चित्रहरु सानै देखिन्छन् र गेमलाई कन्ट्रोल गर्न पनि गाह्रो हुन्छ । सबै गेमले कन्ट्रोलर पनि सपोर्ट गर्दैनन् ।


२.    माइक्रोट्रानजेक्सन र विज्ञापन


मोबाइल गेमिंगको सबैभन्दा नराम्रो पाटो हो माइक्रोट्रानजेक्सन र विज्ञापन । मुख्यतः स्मार्टफोन गेम निःशुल्क उपलब्ध हुन्छन् । प्रयोगकर्ताले डाउनलोड गरेर खेल्नका लागि पैसा तिर्नुपर्दैन तर निःशुल्क गेममा थुप्रै माइक्रोट्रानजेक्सन र विज्ञापन राखिएको हुन्छ जसले गर्दा गेम खेल्नुको मज्जा नै फिक्का भएर जान्छ ।


३.    ब्याट्री लाइफ


स्मार्टफोन गेमिंगको अर्को सबैभन्दा ठूलो चुनौती हो स्मार्टफोनको ब्याट्री लाइफ । कुनै गेम कन्सोल र कम्प्युटरमा खेल्दा गेमले कति ऊर्जा खपत गरिरहेको छ भन्नेबारे सोच्नुपर्दैन । यसै कारण निर्माताले उच्च गुणस्तरको गेम बनाउने गर्छन् । तर स्मार्टफोनमा भने निर्माताले गेम प्रयोगकर्ताले खेल्दा कति ब्याट्री खपत गर्छ भन्ने कुराको विचार गर्नुपर्ने हुन्छ । यही ब्याट्री लाइफ बचाउनका लागि स्मार्टफोनमा गेम बनाउने निर्माताले ग्राफिक्सको गुणस्तरमा सम्झौता गरेको हुन्छ ।

 

यसमा तपाईको मत